नेपालमै पहिलो पटक ‘विज्ञान प्रविधि सम्मेलन हुँदै, कस्तो बन्दैछ अबको ‘विज्ञानमय नेपाल’ ?

४०० युवाले १२ विषयमा छलफल गर्ने
निर्माण सञ्चार, काठमाडौँ । भोलि (शुत्रबार) देखि काठमाडौँमा ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि युवा सम्मेलन–२०७५’ हुन लागेको छ ।

विज्ञान र प्रविधिले भइरहेको विकास र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा सम्मेलन गर्न लागिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले सम्मेलनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अबको १० वर्षमा विज्ञान र प्रविधि क्षेत्रमा लगानी र त्यसबाट आउनसक्ने परिमाणका बारेमा छलफल हुने जानकारी गराए ।

ढुंगेलले भने, ‘मुलुक सधैँ राजनीतिज्ञको नियन्त्रणमा थियो । अब त्यस्तो समय गइसक्यो । अबको १० वर्षमा विज्ञान र प्रविधि क्षेत्रमा लगानी र त्यसबाट आउने परिणामको बारेमा सम्मेलनमा छलफल हुनेछ ।’

सम्मेलनमा नेपाली युवाले विज्ञान र प्रविधिको क्षेत्रमा गरिरहेका आविस्कार, अनुसन्धान र सोधका बारेमा छलफल गरिनेछ ।

सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इञ्जिनियरिङ र पदार्थ विज्ञान, जैविक विज्ञान र विज्ञान, परम्परागत प्रविधि र प्रयोग, भूगर्भ, वातावरण र मौसम विज्ञान, कृषि तथा वन विज्ञान, खगोल तथा अन्तरिक्ष विज्ञानलगायत १२ विषयवस्तुमा सामूहिक छलफल गरिने सम्मेलनका संयोेजक खिम पन्थीले जानकारी दिए ।

सम्मेलनमा देशभरिका ४०० युवा, अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माण र विज्ञानसँग सरोकार राख्नेको सहभागिता हुनेछ ।

तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलन ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा हुनेछ ।

प्रेस विज्ञप्ति..

सम्मेलनकाे समय तालिका...

...

बिहीबार ३१, जेठ ०७५

प्रतिक्रिया

Related