परिसंघले गर्यो पिएचडी चेम्बरसँग छलफल, ‘कसरी बढ्छ व्यापार ?’

नेपालसँग सबैभन्दा ठूलो व्यापारिक हिस्सा ओगटेकोले भारतीय पक्ष यसमा लचिलो हुनुपर्छः परिसंघ
निर्माण सञ्चार, काठमाडौँ । परिसंघ तथा भारतको पिएचडी चेम्बर प्रतिनिधि व्यापारिक विषयमा आज भेटघाट तथा छलफल सम्पन्न भएको छ ।

उक्त छलफलमा नेपालको भारतसँगको व्यापार घाटालाई कम कसरी गर्ने भन्ने बारेमा छलफल भएको हो । भेटघाट तथा छलफलका अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालले स्थिर सरकार पाएकोले अब निजी क्षेत्र तथा लगानीकर्ताको प्रसस्त अवसर प्राप्त भएको बताए ।

शर्माले भने, ‘नेपाल–भारत छिमेकी तथा ठूलो व्यापारिक साझेदार भएकोले नेपाली निजी क्षेत्रले त्यहाँका लगानीकर्तासंग ठूलै अपेक्षा गरेका छन् ।’

नेपालको भारतसँगको बढ्दो व्यापार घाटालाई कम गर्न भारतीय लगानी भित्र्याइ परियोजनाबाट उत्पादित वस्तु तेस्रो मुलुकतर्फ निर्यात गरी आयवृद्धि गर्ने सकिने निष्कर्ष निकालिएको थियो ।

यसका लागि परिसंघ, पिएचडी चेम्बरजस्ता संस्थाहरु सहकार्य गरी अगाडि बढ्नु पर्ने धारण शर्माको रहेको छ ।

नेपाल–भारत बिचको वर्तमान व्यापारिक सन्धिको मर्म विपरित भारतीय पक्षबाट बेला बखत गैह्र भन्सार अवरोधहरु सिर्जना गरी नेपालको भारततर्फको निर्यातलाई अवरोध हुने गरेकोतर्फ परिसंघ तथा पिएचडीजस्ता संस्थाहरुले सहकार्य गरी दुवै सरकारको ध्यानाकर्षण गर्न जरुरी रहेको छ ।

सो छलफलका क्रममा पिएचडी चेम्बरका अध्यक्ष अनिल खेतानले नेपालका लगानीका सम्भावना रहेका प्रमुख क्षेत्रको पहिचान गरी त्यसमा विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिँदै यसमा पिएचडि चेम्बर तथा इन्डिया–नेपाल सेन्टरले पहल गर्न सक्ने बताए ।

नेपालको औद्योगिक क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति व्यवस्थापनमा समेत पिएचडि चेम्बरले आफ्नो अनुभवको आधारमा परिसंघसँग सहकार्य गर्न सक्ने उनको विचार थियो ।

पिएचडी चेम्बरले नेपालका लागि भारतीय पूर्व राजदूत के भि राजन लगायतको सहकार्यमा इन्डिया–नेपाल सेन्टरको स्थापनाको पहल गरिरहेको छ ।

यसले नेपालमा भारतीय लगानीको अवसर सिर्जना गर्न सक्ने प्रसस्त सम्भावनाहरु रहेका छन् ।

छलफलमा पिएचडी चेम्बरका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, गभर्निङ काउन्सिलका सदस्य तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

...

बिहीबार ३१, जेठ ०७५

प्रतिक्रिया

Related