जुम्लामा बढ्दै महिला उद्यमी !

महिलाका नाममा उद्योग दर्ता गर्दा ३५ प्रतिशत राजस्वमा छुट पाएपछि महिला उद्यमी लाभांवित
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्लाकी कुन्जाङ पुटिङ तामाङको दैनिकी सिलाई बुनाइमै बित्छ । बिहान उठेदेखि साँझसम्म आफ्नो काममा व्यस्त रहन्छिन् । उनको आफ्नै झोला उद्योग छ ।

धागोबाट विभिन्न खाले झोला उत्पादन गर्छिन् तामाङ । घरेलु तथा साना उद्योगबाट तालिम लिएपछि आफ्नै उद्यम सुरु गरेकी उनी अहिले अन्य ठाँउमा तालिम दिन जान्छिन भने आफ्नै उद्योगमा ४ जना महिला उद्यमीलाई रोजगारीसमेत दिइसकेकी छिन् ।

धागोका झोला, पटुकी, टोपी, स्थानीय राडी, लिउलगायतका सामग्रीहरु उत्पादन भइरहेको उनको भनाइ छ । अर्डरअनुसार नै उत्पादन गरिन्छ ।

उनले भनिन, ‘महिलाका नाममा दर्ता भएको उद्योगमा कुल राजश्वको ३५ प्रतिशत छुट दिएपछि आफूलाई सहज भएको छ ।’

गाउँगाउँमा गएर उद्यमशिलताका बारेका जनाकारी दिएपछि अहिले गाउँमा पनि महिला उद्यमी बढ्दै गएका छन् ।

स्थानीय सरकार आएपछि विभिन्न उद्यमशिलताका कार्यक्रममार्फत प्रथामिकतामा राखेर महिलाहरुलाई सिप सिकाइरहेका छन् ।

सरकारले महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गराउने व्यवस्था लागु गरेको छ । जसअनुसार उद्यमी बन्न चाहने महिलाहरुलाई कुल राजश्वमा ३५ प्रतिशत छुट दिने व्यवस्था भएकै कारण पछिल्लो समय जुम्लामा महिला उद्यमीहरु बृद्धि हुँदै गएका छन् ।

विभिन्न उत्पादनमूलक काममा यहाँका महिलाहरु अहिले व्यस्त हुन थालेका छन् । गाउँमा विभिन्न खाले उद्यमशिलताका काम गरिरहेका छन् ।

अहिले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा एक हजार ९ सय ३३ व्यवसाय उद्योग, एक हजार ३ सय ४० ठूला तथा साना उद्योग र १ सय ६० लघु उद्यम उद्योग गरी जम्मा ३ हजार ४ सय ३३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठले बताए ।

एक सय ६० उद्योग गाउँपालिकाअन्र्तगतका उद्योगीहरुको घरदैलो पुगेर निशुल्क रुपमा उद्योग दर्ता गरिएको उद्योग अधिकृत श्रेष्ठले बताए । उनकाअनुसार दर्ता भएका उद्योगहरु मध्ये ७५ प्रतिशत महिलाको नाममा रहेका छन् । ।

दुईवटा ठूला उद्योगमध्ये पातारसी गाउँपालिमा यार्सा मिलिरल वाटर र चन्दननाथ नगरपालिमा एपी ब्राण्ड आर के डिष्टिलरी उद्योग दर्ता भएका छन् भने स्याउ, जटिबुटी र फर्निचर साना उद्योगमा दर्ता भएको अधिकृत श्रेष्ठको भनाइ् रहेको छ ।

उद्योग दर्ता गराँउदा घरेलु तथा साना उद्योग विकासबाट प्रदान गरिने सेवा सुविधा सजिलैरुपमा उपलव्ध गराएको छ ।

नेपाल सरकारले यो वर्षबाट लागु गरेको लघु उद्यम उद्योग ७७ वटा जिल्ला मध्ये पहिलोमा जुम्ला र दोस्रो रसुवा परेकोले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा अगाडि देखिएको घरेलु तथा साना उद्योग विकास समिति जुम्लाले जनाएको छ ।

उद्योग जुम्लाको कनकासुन्दरी, सिंजा, हिमा र तिला गाउँपालिकाका उद्योगीहरुले बजारमा आएर उद्योग दर्ता गर्न आउँदा यतायताको असुविधाले आवतजावतमा हुने समस्याको मध्ये नजर गरी उद्योग दर्ताका आवश्यक सम्पूर्ण कागजात बोकेर उद्योगीहरुको घरदैलो पुगेर निशुल्क रुपमा सेवा दिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाले जनाएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठका अनुसार केही दिन भित्रमा बजारको पहुँचभन्दा टाढा रहेका पातारासी, गुठीचौर र तातोपानी गाउँपालिमा पुगेर लघुउद्यम उद्योग दर्ता गराउन चाहने उद्योगीहरुलाई लघुउद्यम उद्योग दर्ता गराउने प्रमूख लक्ष्य राखिएको छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

मंगलबार २८, जेठ ०७५

प्रतिक्रिया

Related