किन पुगेनन् अझै २ सय २२ स्थानीय तहमा बैंक शाखा ?

सबै कारोबार बैंकिङ प्रक्रियाबाट नै गराउने सरकारको योजना, अब होला त पूरा ?
निर्माण सञ्चार, काठमाडौँ | सबै नेपालीको बैंक खाता खोल्ने सरकारको योजनाअनुरुप राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा खोल्नको लागि निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति मार्फत असार मसान्तसम्म ७ सय ५३ वटा स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको थियो ।

साथै सो समयसम्म ७ सय ५३ वटा स्थानीय तहमा शाखा नखोलेमा कारबाही गर्ने समेत बताएको थियो ।

हरेक स्थानीय निकायमा बैंक र सबै नेपालीको बैंक खाता खोल्ने सरकारको योजनालाई कार्यान्वयनमा लान राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 

तर, चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा पनि अझै २ सय २२ स्थानीय तहमा बैंकहरुको शाखा खुल्न बाँकी देखिन्छ ।

बैंकहरुले भने सुरक्षाको अभाव देखाउँदै खाता खोल्न नसकेको बताएको छन् । 

साथै कतिपय स्थानमा भाडामा घर नै नपाएको समेत गुनासो गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

उनले भने ‘ बैंकहरुले भाडामा घर नपाएका स्थानमा पुग्न घरको लागि टेन्डर गरेको जानकारी राष्ट्र बैंकलाई सुझाएका छन् ।’

प्रवक्त पौडेलनकाअनुसार असार मसान्तसम्ममा सबै स्थानीय तहमा शाखा खोल्न नसकेमा बैंकहरुले के कारणले कुनकुन स्थानमा खाता खोल्न सकिएन भनेर राष्ट्र बैंकलाई जानकारी गराउनेछन् ।

राष्ट्र बैंकले सबै कारोबार बैंकिङ प्रक्रियाबाट नै गराउने योजना लिएको छ । सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत नै उपलब्ध गराउने राष्ट्र बैंकको योजना छ ।

राष्ट्र बैंकको सो योजनाअनुरुप बैंकहरुले भने सबै स्थानीय तहमा शाखा बिस्तार गर्न सकेका छैनन् ।

शाखा विस्तारका लागि हालसम्म शाखा खोल्ने प्रतिवद्धता समेत नआएका स्थानीय तहमध्ये कुनै दुई तहमा वाणिज्य बैंकबाट शाखा खोलिएमा मात्र ती बैंकहरुलाई काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिकाभित्र एउटा शाखा खोल्न दिने निर्देशन समेत राष्ट्र बैंकले जारी गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई त्यस्ता क्षेत्रमा शाखा खोल्नको लागि प्रोत्साहन गर्न स्थानीय तहमा खोलिने शाखालाई प्रतिशाखा १ करोड एक वर्षको लागि निब्र्याजी सापटी प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था नभएका गाउँपालिकाहरुमा शाखा खोली २ हजार पाँच सय खाता बराबर एक वर्षको लागि १ करोड निब्र्याजी सापटी दिने व्यवस्था पनि गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म देशभरी वाणिज्य बैंकहरुको शाखा संख्या २ हजार ५ सय ८४ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

०७४ को जेठ मसान्तसम्म भने वाणिज्य बैंकहरुको शाखा संख्या २ हजार १ सय १६ मात्रै थियो । सोही आधारमा एक वर्षमा वाणिज्य बैंकहरुको शाखा ४ सय ६८ वटा थपिएको राष्ट्र बैंकको भनाई छ ।

....

मंगलबार, २९ जेठ २०७५ 

प्रतिक्रिया

Related