राष्ट्र बैंकले दियो प्रदेश प्रोफाइल, कुन प्रदेशको कस्तो छ आर्थिक हैसियत ?

प्रदेश ३ धेरै क्षेत्रमा बलियो, कर्णाली सबैभन्दा कमजोर
निर्माण सञ्चार, काठमाडौँ । राष्ट्र संघीय संरचनामा गएपछि आव २०७५/०७६ को बजेट सरकारले ल्याएको पहिलो बजेट हो ।

राष्ट्र बैंकले प्रदेशगत रूपमा दिगो एवं समावेशी विकासको रणनीति तय गर्न ७ वटै प्रदेशको प्रोफाइल तयार गरेको छ । उक्त प्रोफाइलमा प्रदेश ३ आर्थिक तथा सामाजिक क्षेत्रमा बलियाे देखिएकाे छ ।

यसैगरी, जनसांख्यिक, आर्थिक, सामाजिक तथा वित्तीय स्थिति आदि रुपमा बलियो देखिएको छ भने कर्णाली र प्रदेश २ लाई कमजोर देखाएको छ ।

सहरी विकास, जनसंख्या, कुल गार्हस्थ उत्पादनको अंश, उद्योग र रोजगारी, जलविद्युत् उत्पादन तथा सम्भावना, सडक पूर्वाधार, वित्तीय संस्थाको उपस्थिति, साक्षरता दर, न्यून मानव गरिबी, मानव विकास सूचकांक, आधारभूत सुविधाको स्थितिलगायतमा प्रदेश ३ अगाडि देखिएको छ ।

त्यस्तै, अधिकांश आर्थिक तथा सामाजिक सूचकांकमा प्रदेश ३ पछि प्रदेश १, प्रदेश ४ र प्रदेश ५ देखिएका छन्  भने प्रदेश ७, प्रदेश २ र कर्णाली प्रदेशका सूचकांक कमजोर देखिएका छन् ।

कुन क्षेत्रमा कुन प्रदेश बलियो

कुल गार्हस्थ उत्पादनका क्षेत्रमा प्रदेशिक स्थिति

कुल गार्हस्थ उत्पादनमा प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशको भन्दा राम्रो देखिएको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी)मा प्रदेश ३ ले ३१.९ प्रतिशत हिस्सा ओगटेको छ ।

जिडिपीमा सबैभन्दा कम ४.१ प्रतिशत हिस्सा कर्णाली प्रदेशले ओगटेको छ । जिडिपीमा प्रदेश १ को १७.५ प्रतिशत, २ को १६.२ प्रतिशत, ४ को १०.५ प्रतिशत, ५ को १३.४ प्रतिशत र ७ को ६.३ प्रतिशत हिस्सा रहेको छ ।

कृषि उत्पादनका क्षेत्रमा प्रादेशिक स्थिति

कृषि उत्पादनमा सबैभन्दा बलियो प्रदेश १ देखिएको छ । समग्र कृषि क्षेत्रमा प्रदेश १ को अंश २१.५ प्रतशित रहेको छ । कृषि उत्पादनमा सबैभन्दा कम अंश कर्णालीको ६.० प्रतिशत छ ।

कृषिमा प्रदेश २ को १८ प्रतिशत, प्रदेश ३ को १६ प्रतिशत, प्रदेश ४ को ११.८ प्रतिशत, प्रदेश ५ को १६.९ प्रतिशत र प्रदेश ७ को ८.९ प्रतिशत हिस्सा ओगटेको छ ।

उद्योग सञ्चालनका क्षेत्रमा प्रादेशिक स्थिति

उद्योगका क्षेत्रमा सबैभन्दा बलियो उपस्थिति प्रदेश ३ को छ । प्रदेश ३ मा सबैभन्दा बढी ९ सय ६५ वटा उद्योग सञ्चालितमा छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४४ वटा उद्योग सञ्चालित छन् ।

त्यस्तै, प्रदेश १ मा ७ सय ३७, प्रदेश २ मा ८ सय १२, प्रदेश ४ मा ४ सय ६०, प्रदेश ५ मा ८ सय २७ र प्रदेश ७ मा २ सय ३१ वटा उद्योग सञ्चालित छन् ।

जलविद्युत् उत्पादनको क्षेत्रमा प्रदेशिक स्थिति

जलविद्युतमा पनि सबैभन्दा बलियो प्रदेश ४ देखिएको छ भने प्रदेश २ सबैभन्दा कमजोर शून्य रहेको छ । सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये ४ सय ७९.१ मेगावाट सबैभन्दा बढी प्रदेश ४ मा छन् ।

प्रदेश ३ मा ३ सय ४०.३ मेगावाट छ । निर्माणाधीन आयोजनाको क्षमतामा सबैभन्दा बढी प्रदेश ३ को २ हजार ३ सय २६.६ मेगावाट रहेको छ ।

प्रदेश २ मा विद्युत् उत्पादन शून्य रहेको छ । निर्माणाधीन आयोजना पनि शून्य नै छ । त्यस्तै, कर्णालीमा ३.८ मेगावाट उत्पादन भइरहेको र निर्माणाधीन आयोजनाको क्षमता ३९.७ मेगावाट छ ।

बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा प्रादेशिक स्थिति

बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा प्रदेश ३ बलियो रुपमा देखिएको छ । सबैभन्दा बढी शाखा १ हजार २ सय ६३ (३४.५ प्रतिशत) वित्तिय संस्था प्रदेश ३ मा छन् ।

सबैभन्दा कम शाखा भने कर्णाली प्रदेशमा १ सय १३ (३.१ प्रतिशत) मात्र ओगटेको छ । कुल निक्षेप संकलनमा प्रदेश ३ को हिस्सा ७२ प्रतिशत र कर्णाली प्रदेशको १ प्रतिशत रहेको छ ।

त्यस्तै, कुल कर्जा प्रवाहमा प्रदेश ३ को हिस्सा ५७ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा १ प्रतिशत रहेको छ ।

सहकारी क्षेत्रमा प्रादेशिक स्थिति

प्रदेश ३ मा सबैभन्दा बढी ११ हजार ५ सय ७७ वटा सहकारी छन् । सबैभन्दा कम भने कर्णाली प्रदेशमा २ हजार १ सय २२ वटा छन् ।

सहकारीमा सबैभन्दा बढी बचत प्रदेश ३ बाट १९ अर्ब ९५ करोड रुपियाँ र सबैभन्दा कम कर्णाली प्रदेशबाट २७ करोड रुपियाँ छ ।

त्यस्तै, सहकारीको सबैभन्दा बढी लगानी प्रदेश ३ मा १५ अर्ब ३२ करोड र कर्णाली प्रदेशमा सबैभन्दा कम ३७ करोड रुपियाँ भएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रादेशिक स्थिति

स्वास्थ्यको क्षेत्रमा प्रदेश २ सबैभन्दा बलियो देखिएको छ । प्रदेश २ को औसत आयु सबैभन्दा बढी ७०.४ वर्ष र कर्णाली प्रदेशको औसत आयु सबैभन्दा कम ६६.८ वर्ष छ ।

प्रदेश १, २, ३ र ४ मा औसत आयु राष्ट्रिय औसत ६८.८ भन्दा उच्च छ । यसर्थ यी प्रदेशहरुमा स्वास्थ्यको अवस्था राम्रो देखिएको छ ।

शिक्षाको क्षेत्रमा प्रादेशिक स्थिति

सबैभन्दा बढी साक्षरता प्रदेश ३ मा ६९.३ प्रतिशत र सबैभन्दा कम साक्षरतादर प्रदेश २ मा ४०.९ प्रतिशत छ । मानव विकास सूचकांकमा सबैभन्दा राम्रो प्रदेश ३ को ०.५४३ छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ०.४२७ छ ।

आधारभूत सुविधाको क्षेत्रमा प्रादेशिक स्थिति

प्रदेश १, २, ४ र ५ मा खानेपानीको सुविधा राष्ट्रिय औसत ८५.९ प्रतिशतभन्दा उच्च छ भने अन्य प्रदेशमा राष्ट्रिय औसतभन्दा कम छ ।

प्रदेश २ मा सबैभन्दा बढी ९३.८ घरधुरी र कर्णाली प्रदेशमा सबैभन्दा कम ६४.५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको छ ।

त्यस्तै, विद्युत् सुविधाको उपलब्धतालाई हेर्दा कर्णाली प्रदेशमा राष्ट्रिय औसत ६७.७ प्रतिशतको तुलनामा अत्यन्त न्यून अर्थात् २१.७ प्रतशित मात्रै छ ।

प्रदेश ७ मा केवल ४८.४ प्रतिशत घरधुरीमा मात्रै बिजुली सुविधा छ । प्रदेश ३ र ४ मा मात्रै राष्ट्रिय औसतभन्दा बढी प्रतिशत घरधुरीमा विद्युत् सुविधा छ ।

गरिबी, आय र मानव विकासको क्षेत्रमा प्रादेशिक स्थिति

प्रदेश ७ मा गरिबीको दर सबैभन्दा उच्च ४२ प्रतिशत छ । समग्रमा प्रदेश २, ५, ७ र कर्णाली प्रदेशमा गरिबी राष्ट्रिय औसत २५.२ प्रतिशतभन्दा उच्च छ भने अन्य प्रदेशमा कम छ ।

संख्यागत रूपमा सबैभन्दा बढी प्रदेश २ मा बढी गरिबी छ । प्रदेश ४ मा गरिबीको दर सबैभन्दा न्यून १५.२ प्रतिशत छ ।

बहुआयामिक गरिबीको दरलाई हेर्दा कर्णाली प्रदेश र प्रदेश २ मा सबैभन्दा बढी गरिबी रहेको देखिन्छ ।

बहुआयामिक गरिबीको दरमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ५१.२ प्रतिशत र सबैभन्दा कम प्रदेश ३ मा १२.२ प्रतिशत छ ।

राजस्व तथा खर्चको क्षेत्रमा प्रादेशिक स्थिति

आर्थिक वर्ष ०६८÷६९ सम्मको कुल राजस्व संकलन र सरकारी खर्चलाई हेर्दा सबैभन्दा बढी राजस्व अर्थात् कुल राजस्वमा ५० प्रतिशत हिस्सा प्रदेश ३ ले ओगटेको छ ।

कुल खर्चमा पनि प्रदेश ३ को अंश ५०.९ प्रतिशत छ । कुल राजस्वमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको ०.२ प्रतिशत र कुल खर्चमा पनि सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशकै ५.८ प्रतिशत छ  ।

...

बुधबार ३०, जेठ ०७५

प्रतिक्रिया

Related