छाँउगोठ महिलाको कालः अछाममा १० वर्षयता १३ जनाको गइसक्यो ज्यान !

सुदूर/मध्यपश्चिमका महिला एनजिओ/आइएनजिओको दुहुनो गाई
निर्माण सञ्चार, अछाम | पितृसतात्मक नेपाली समाजमा महिला र पुरुषबीचको विभेद अझै पनि कामयमै छ । नेपालका सुदुर र मध्यपश्चिममा झनै यसले नराम्रासँग जरा गाडिरहेको छ ।

त्यहाँका महिलालाई महिनावारी भएको अवस्थमा छाउ गोठमा बस्न बाध्य गराइन्छ ।

महिनावारी भएका महिलाले घरमा बस्दा घरका देउता रिसाएर पाप लाग्छ भन्ने अन्धविश्वासका करण आज पनि सुदुर र मध्यपश्चिमका महिला पीडित भएर बाँचिरहेका छन् ।

छाउगोठमा महिला एक्लै बस्नुपर्ने हुँदा सो अवस्थामा हिंस्रक जनवारले आक्रमण गर्दा कतिपय महिलाले अकालमै ज्यान गुमाइरहेका पनि छन् ।

वैज्ञानिक युगमा विश्व चमत्कारको दुनियाँमा पुगिसकेको समयमा नेपालका अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, एवम् सुदुरपश्चिका पहाडी जिल्ला तथा मध्यपश्चिका अधिकांश पहाडी जिल्लामा भने छाउपडी प्रथाले गाजिरहेको छ ।

परिवारले नै गर्दैनन् माया !

अछाम चौरपाटी गाउँपालिका २ सोकटकी जानकी साउदले छाउगोठमा बस्न बाध्य भएको बताइन् । उनी मात्र नभएर उनको परिवारका सबै छोरी तथा बुहारी महिनावारी भएको अवस्थामा घरमा बस्न पाउँदैनन् ।

जानकी साउदका परिवारसहित सिंगो टोलकै छोरी तथा बुहारी हरेक महिनामा हुने महिनावारीको समयमा घरबाट टाढा बस्नुपर्ने बाध्यता छ ।

सो अवधिमा उनीहरुलाई घरपरिवारले समेत राम्रो व्यवहार गर्दैनन् ।

छाँउगोठमा पानी चुहिएमा वा छाँउ गोठ चिसो भएको अवस्थामा पनि उनीहरु घरमा आउँन पाउँदैनन् । बाध्य भएर छाँउगोठमै बस्नुपर्ने सुदुर र मध्यपश्चिमका महिलाहरुको गुनासो छ ।

जानकी भन्छिन्, ‘महिला भएर जन्मिएकोमा आफैँलाई बोझ महसुस भइरहेको छ ।’ उनले पानी परेर छाउगोठ चुहिँदा पनि घरमा बस्न नपाउने भएपछि ओत लाग्न रुखमुनी बस्नुपर्ने बाध्यता सुनाईन् ।

जानकी त सुदुरपश्चिको प्रतिनिधी पात्र मात्र हुन् ।

उनी जस्तै हजारौँ महिला एउटै पीडाले थलिएका छन् । महिनावारि हुँदा महिलालाई घरबाट टाढा बस्नुपर्ने बाध्यता मात्रै नभएर कतिपय महिलाले छाँउगोठमै मृत्युवरण गर्नेपर्ने पीडा पनि रहेको बताउँछिन्, जानकी ।

महिनावारी हुँदा महिलालाई आफ्नै घरपरिवारले पशुभन्दा पनि तल्लो व्यवहार गरेको भन्दै उनले मन दुखाएकी छन् ।

उनी भन्छिन् ‘सबै कुरा सम्झदा मन कटक्क दुख्छ, छोरी भएर जन्मनु सबैभन्दा ठूलो गल्ती रहेछ ।’

सुत्केरी पनि छाँउगोठमै

सुदुर र मध्यपश्चिममा महिनावारी भएको बेलामा मात्र नभएर सुत्केरी भएको बेलामा पनि छाँउगोठमा बस्नुपर्ने बाध्यता छ ।

सुत्केरी महिला घरमा राख्दा बाघ, सर्प, देवताले साताउने भन्ने अन्धविश्वासले हाल पनि यी क्षेत्रका महिलाहरुले छाँउगोेठमै सुत्केरी हुनुपर्ने बाध्यताले सताईरहेको छ ।

अछामका सबै ठाउँमा सुरक्षित बर्थीङ्ग सेन्टर छैनन् । बर्थीङ्ग सेन्टर भएपनि महिलाहरु सुत्केरी गराउँन जाँदैनन् । सुरक्षित प्रसूतिबारे चेतना नहुँदा गर्भवती महिला छाउँगोठमै सुत्केरी हुने गरेका छन् ।

छाउ गोठमै मृत्युवरण

अछाममा १० वर्षयता १३ जना महिला÷किशोरीले छाउपडी गोठमा ज्यान गुमाइसकेका छन् ।

चौरपाटी गाउँपालिका २ पायलकी रनतदेवी विक, पार्वती आउजी, झुप्री ढोली, साफेबगर नगरपालिकाकी शर्मिला भूल, जयगढ बान्नीगढी गाउँपालिकाकी रोशनी तिरुवा, डम्मरा उपाध्याय, ढकारी गाउँपालिकाकी लक्ष्मी बुढा, तुर्माखाँद गाउँपालिकाकी गौरी बुढा, पार्वती बुढा, रानिवनकी हंसदेवी जोशी, हंसा जौसी, डिक्रादेवी बिक, झुमादेवी शाही, लगायतले छाँउगोठमा ज्यान गुमाई सकेका छन् ।

 छाँउगोठ मुक्त घोषणा

अछामका पायल, रामारोशन, कालिकास्थान, तुर्माखाँद, गाज्रा, जनालिकोट, कुइका, विबनायक, जुपू, जाल्पादेवी, चण्डिका, वलिगाँउ, जनालिबण्डाली गाविसलाई महिला तथा बालदबालिका कार्यालयले छाउगोठ मुक्क्त घोषण गरिएको थियो ।

सुतार, भाटाकाटिया, बलाता, ढुंगाचाल्ना, ढकारी, बस्ती, दर्ना, हिच्मा र शान्तडा साविका गाविसलाई ग्रामीण जलस्रोत परियोजनाले घोषणा गरेको थियो ।

चाल्सामा वल्ड भिजनले, भागेश्वरलाई सम बिकास नेपाल, बान्नातोली, रिडिकोट, घोडासैन, मष्टाबण्डाली, चाफामाण्डौ र सेरा गाविसलाई स्वयंम गाविसले नै छाउगोठमुक्त गाविस घोषणा गरेको थियो ।

 कार्यान्वयन अझै भएन

अछामका माथि उल्लेखित साविकका गाविसहरुमा छाँउगोठ मुक्त घोषणा गरे पनि कार्यन्वयनमा भने कमजोर देखिएको छ ।

विभिन्न समयमा छाँउगोठमुक्त घोषणा गरिए पनि ती गाँउका महिलाहरु छाँउगोठबाट मुक्त हुन सकेका छैनन् ।

चुनावको एजेण्डा छाँउपडी प्रथा अन्त

तीन तहकै निर्वाचनमा अछाम लगायत सुदुर र मध्यपश्चिमका जिल्लामा राजनितिक दलहरुले छाँउगोठमुक्त र छाँउपडी प्रथा अन्तको एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

सोही एजेण्डाको सर्मथन गरी स्थानीय जनताले नै साथ दिएर जनप्रतिनिधीको कुर्सीसम्म पुर्याए ।

राजनितिक दलले चुनावी मौसममा जसरी आफ्नो एजेण्डा प्रस्तुत गरेका थिए तर त्यो कार्यान्वयनको सुरुवाती चरणमा भने केही नगरेको जस्तो पाईएको छ ।

चुनाव सकिएको धेरै समय भए पनि उनीहरुले अझै पनि छाँउपडी प्रथा अन्तका लागि कुनै पनि पहल भएका छैनन् । अब जनप्रतिनिधीले जनताको अभिमतलाई कसरी सम्मान गर्ने हो त्यो हेर्ने समय अझै बाँकी नै छ ।

छाँउगोठ एनजिओ र आइएनजिओको दुहुनो गाई

पछिल्लो समय सुदुर/मध्यपश्चिमका पहाडी जिल्लाहरुमा आइएनजिओ र एनजिओले छाँउगोठ तथा छाँउपडी प्रथा अन्त्यका लागि विभिन्न परियोजना संचालन गरिरहेको छन् ।

तर, उनीहरुले संचालन गरेको परियोजना सम्बन्धित वर्ग वा समुदायसम्म पुग्न नसकेका कारण उक्त परियोजना काम नलाग्ने बनेका छन् ।

परियोजनालाई एनजिओ तथा आइएनजिओले निश्चित समय र औपचारिकतामा मात्र सिमित गराउने गरेको पाइएको छ ।

केही स्वास्थ्य स्वयमसेविका तथा सामाजिक कार्यकर्तालाई मात्र परियोजना लक्षित गरेको पाईएको छ ।

स्वास्थ्य स्वयमसेविका तथा सामाजिक परिचालकको भरमा छाँउगोठ मुक्त घोषणा गर्ने गरेको पाइएको छ ।

आइएनजिओ तथा एनजिओहरु सेवामुखी भन्दा पनि बढी नाफमुखी हुने गरेको पाइएको छ ।

उनीहरुले संचालन गरेको परियोजनाबाट कुन समुदाय वा कुन क्षेत्रमा कस्तो प्रभाव पारेको छ भन्ने भन्दा पनि कुन समुदायलाई कति खर्च गर्ने र कसरी खर्च गर्ने लगायतका स्वार्थपनले छाँउगोठमुक्त अभियान सफल नभएको सुदुर तथा मध्यपश्चिमका जनाकारहरुको भनाई छ ।

आइएनजिओ र एनजिओहरु आंशिक फाईदाकै लागि विभिन्न परियोजनाहरु संचालन गरे पनि त्यो परियोजना सम्बन्धित बर्ग वा समुदायमा पुग्न नपाउदै बन्द गरिदिने र समस्यालाई जस्ताको तस्तै राख्ने प्रवृत्ति बढेका कारण छाँउपडीलाई ती संस्थाहरुले छाँउगोठलाई दुहुनो गाईको रुपमा लिने गरेका छन् ।

अछामबाट गोविन्द कुँवर

....

बुधबार, ३० जेठ, २०७५ 

प्रतिक्रिया

Related