खानेपानी संस्थानमा २५ करोड घोटलाको आशंकाः मन्त्रालयको छानबिन सुरु

बजेट ५० करोड, २५ करोडको मात्रै सामान निर्यात
निर्माण सञ्चार, काठमाडौँ । नेपाल खानेपानी संस्थानमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी परेपछि खानेपानी मन्त्रालयले छानबिन प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धानको जिम्मा दिएको हो ।

छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादिश पाएको छानबिन समिति संयोजक गुणराज श्रेष्ठले बताए ।

अख्तियारको पनि निर्देशन

खानेपानी मन्त्रीका निजी सचिव दिनेश सागर भुसालले भने, ‘अख्तियारले समेत छानबिनका लागि निर्देशन दिएको र मन्त्रालयमा संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबिन गरेर हेरौं भनेर प्रक्रिया सुरु गरिएको हो ।’

अख्तियारमा पनि उजुरी

खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको उजुरी अख्तियार र खानेपानी मन्त्रालयमा परेको छ ।

भुपेन्द्रप्रसाद देउवा सरकारको पालामा संस्थानको शाखा प्रमुखबाट महानिर्देशक बनेका थिए । पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने सीमारेखा (क्राइटेरिया) बनाई २५–२५ करोड रुपियाँको टेन्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । 

नियतवस टेन्डर प्रक्रिया

दुवै टेन्डरलाई नियतवस १०–१० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐनअन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुवै फर्मलाई उक्त टेन्डर दिइएको आरोप उजुरीमा लगाइएको छ ।

२५ करोडको मात्र पाइप खरिद

टेन्डरमा दुवै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिएको थियो । तर, नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएको र अरु कुनै सामान नआएकोले २५ करोड घोटाला भएको आशंका गरिएको छ ।

खानेपानी संस्थानले काठमाडौं उपत्यकाबाहेक सबै जिल्लाहरुमा खानेपानी वितरण र व्यवस्थापनको काम गर्दछ । काठमाडौं उपत्यकाभित्र भने त्यो काम केयूकेएलले गर्दछ ।

...

बुधबार ७, असार ०७५

प्रतिक्रिया

Related