हाइड्रोमा भित्रियो चिनियाँ लगानी, कतिवटा परियोजनामा भयो हस्ताक्षर ?

दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापना गरिने
निर्माण सञ्चार, काठमाडौँ | चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् ।

६ दिने चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् ।

मंगलबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा दुई देशका सरकारी र निजी कम्पनीबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा मुख्य एजेन्डा नै रेल/ऊर्जा रहेको थियो । जसमा १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि सम्झौता भएको छ ।

सो आयोजनाको हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

त्यस्तै, ४०.२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच उक्त आयोजनाको इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कूल ६०० मेगावाट क्षमताको मर्स्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि पनि फ्रेमवर्क एग्रिमेन्ट भएको छ ।

मर्स्याङ्दी परियोजनाको बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भएको छ ।

त्यसैगरी, ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीबीच सम्झौता भएको छ ।

द्विपक्षीय समझदारीपत्रमा पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी सहयोगसम्बन्धी हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच हस्ताक्षर भएको हो ।

यसैगरी, दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि समेत सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् ।

उक्त परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्ने भएको छ भने एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच ‘फलफूल उद्योग स्थापनाका लागि नेपाल’ समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनामा ४६ मिलियन डलर लगानी गरिनेछ ।

त्यस्तै, नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको बताइएको छ ।

सो समझदारीपत्रमा संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याबीच हस्ताक्षर भएको हो ।

...

बुधबार, ६ असार २०७५ 

प्रतिक्रिया

Related