एयर एम्बुलेन्स बाेलाएरै भएपनि गर्भवती महिलाको ज्यान जोगाइयो

‘बाँच्छिन भन्ने आशा मरिसकेको थियो, डाक्टर भगवान भएरै बचाइदिनुभयो’– गर्भवतीका पति
निर्माण सञ्चार, कर्णाली प्रदेश । प्रसूति ब्यथाले चरम छटपटीमा परेका दुर्इजना बिरामीलार्इ शल्यक्रियापछि ज्यान जानबाट जाेगाइएकाे छ । 

चारदिन यता प्रसुती ब्यथाले च्यापेपछि मृत्युको मुखमा पुग्नलागेकी हुम्ला चंखेली गाउँपालिका ६ कि १९ वर्षीया गर्भवती किशोरी वसन्ती शाही र ताजाकोट गाँउपालिका ३ कि ३५ वर्षीया जुनकला रोकायाको सफल शल्यक्रियापछि ज्यान जोगिएको हो ।

उनीहरू दुवै जनालाई जिल्ला अस्पताल हुम्लाबाट हेलिकप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शल्यक्रियाका लागि ल्याइएको थियो ।

किशोरी वसन्ती शाहीलाई आईताबार दिउँसो ४ बजे र महिला जुनकला रोकायालाई सोमबार बिहान ९ बजे छुट्टाछुट्टै हेलिकप्टर मार्फत जुम्ला ल्याएपछि डाक्टरहरुले उनीहरु दुवै जनाको सफल शल्यक्रिया गरेका हुन् ।

प्रतिष्ठानका अनुसार शल्यक्रियापछि अहिले उनीहरु दुवै सुत्केरीलाई थप उपचारका लागि सामान्य कक्षमा राखिएको छ ।

चिकित्सकहरुले वसन्ती शाहीको ज्यान जोगाउन सफल भएपनि बच्चालाई भने बचाउन सकेनन् । त्यसैगरी, महिला जुनकला रोकाया र उनको बच्चा दुवै बाँच्न सफल भएका छन् । उनको बच्चाले आमाको दुध खान नसकेपछि आइसियुमा राखिएको छ ।

महिला जुनकला रोकाया

प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डाक्टर विनोद अर्यालसहितको स्वास्थ्यकर्मीको टोलीले दुवै सुत्केरीको सफल शल्यक्रिया गरेर ज्यान जोगाएका हुन् ।

डाक्टर अर्यालले भने, ‘पहिलो सन्तानका लागि आमा बन्न तयार किशोरी वसन्ती शाहीको प्रतिष्ठानमा पुग्दा अवस्था गम्भीर थियो । बच्चाको हात बाहिर निस्केको थियो । बच्चाको धड्कन थिएन । रगत बगिरहेको थियो । त्यसपछि आमा र बच्चाको अवस्था बुझेर उपचारमा लाग्यौ ।’

उनले थपे, ‘बच्चाको धड्कन नभएपछि कसरी आमाको ज्यान जोगाउन सकिन्छ भन्ने विषयमा हामी चिन्तित थियौँ । बच्चाको भने अस्पताल नपुग्दै ज्यान गइसकेकोले आमालाई मात्र बचाउन सफल भयौँ ।’

श्रीमतीको सफल शल्यक्रियापछि वसन्तीका श्रीमान् भैरव शाहीले खुशी व्यक्त गर्दै भने, ‘मेरो श्रीमतीको यो पुनर्जन्म हो । श्रीमतीलाई बचाउने डाक्टरहरु भगवान हुन् । बेहोस् अवस्थाकी उनी बाँच्छिन भन्ने आशा थिएन । उनी बाँचिन यही नै ठूलो कुरा हो । सन्तान त फेरि पनि जन्माउन सकिन्छ ।’ 

यसरी भयो उद्धार

चार दिनदेखि लगातार सुत्केरी व्यथा लागेर घरमै सुत्केरी हुन नसकेपछि वसन्तीको अवस्था जटिल बन्दै गएको थियो । वसन्तीको अवस्था देखेर परिवार सबै आत्तिएका थिए । त्यसपछि विकल्प खोज्दै वसन्तीलाई सदरमुकाम सिमिकोट लैजान गाउँका सबैले सल्लाह दिए ।

३ दिनको पैदल यात्रा गरेर बल्ल पुगिने सदरमुकामको जिल्ला स्वास्थ्य कार्यालयमा उनलाई पुर्याउन त्यति सजिलो थिएन ।

बाटोमै उनको ज्यान तलमाथि हुने जोखिम बढेपछि जिल्ला स्वास्थ्य कार्यालयकै समन्वयमा हेलिकोप्टर बोलाइयो र वसन्तीलाई जिल्ला अस्पताल पुर्याइयो ।

किशोरी वसन्ती शाही

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुम्ला जिल्ला अस्पतालमै खटाइएका डाक्टर दिल शाहीले बच्चाको हात बाहिर आएको र बच्चा मरिसकेको पत्ता लगाएपछि त्यहाँ आफूसँग प्रविधि कम भएका कारण चाँडै रिफर गरेको बताए ।

उनले रिफरका लागि सुर्खेतभन्दा पनि जुम्लामा प्रविधि र विशेषज्ञ जनशक्ति भएकाले जुम्ला प्रतिष्ठान पठाइएको जानकारी दिए । उनीहरुको उद्धार खर्च कर्णाली प्रदेश सरकारले बेहोर्ने भएको छ ।

एयर एम्बुलेन्समै सुरक्षित छैनन् गर्भवती

कर्णालीबाट रिफर हुने बिरामी नेपालगञ्ज–काठामाडौंबाट एयर एम्बुलेन्स बोलाएर नेपालगञ्ज–काठामाडौं पठाउने गरिन्छ । तर हेलिकप्टर आँउदा जाँदा घन्टौ समय लाग्ने भएकाले आपतकालीन गर्भवतीको ज्यान जाने गरेको डाक्टरहरु बताउँछन ।

उपचारमा सहभागी डाक्टरले भने, ‘वसन्तीलाई पनि नेपालगञ्ज पठाइएको भए भन्न सकिँदैनथ्यो । हुम्लाबाट कुरा गर्दागर्दै १५ मिनेटमा हेलिकोप्टर जुम्ला आइपुग्यो । समयमै उपचार गर्न पाएकोमा ज्यान जोगाउन सकिएको हो, नत्र भने पाठेघर फुट्ने डर हुन्थ्यो । नेपालगञ्ज पुग्न करिब एक घन्टा लाग्थ्यो ।’

उनले थपे, ‘कर्णालीका गर्भवती महिलाको उद्धारमा ढिलो भए एयर एम्बुलेन्समै ज्यान जाने खतरा छ ।’

प्रतिष्ठानका अनुसार यहाँ मात्रै वार्षिक ८ सयको हाराहारीमा महिलाहरु सुरक्षित प्रसूति हुने गरेका छन् । भने स्वास्थ्यको पहुँजमा नहुने कर्णालीका ग्रामिण महिलाहरुले समयमै उपचार नपाएरै अकालमा ज्यान गुमाउनु परेको छ ।

एयर एम्बुलेन्सको माग

गर्भवतीले समयमै उपचार नपाएर अकालमा ज्यान नजाओस भन्ने ध्ययले प्रतिष्ठानमा एयर एम्बुलेन्स माग गरिएको छ ।

कर्णालीका लागि जुम्लामै रहने गरी सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए । त्यसका लागि पहल गरेपनि सुनुवाई नभएको उनको भनाई छ ।

शाहीले भने, ‘हामीले अत्याधुनिक सुुविधासहितको स्वास्थ्य उपचार सेवा दिइरहेका छौ । कर्णालीको जुम्ला भौगोलिक रुपमा पनि केन्द्र हो । यँहाबाट कर्णालीका सबै जिल्लामा १५÷२० मिनेटमै हेलिकोप्टरबाट पुगिन्छ ।’

उनले थपे, ‘अब हामीसँग दक्ष जनशक्ति र प्रविधि छ । अस्पताल समयमा पुर्याए सजिलै उपचार हुन्छ ।’

प्रतिष्ठानमा ३ दर्जनभन्दा बढी विशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेका छन् । जसमा स्त्री रोग विशेषज्ञ ३ जना र स्त्री रोग सम्बन्धीको विशेषज्ञ तालिम लिएर काम गरिरहेका ३ जना नर्सहरु तथा अन्य दक्ष जनशक्ति कार्यरत छन् ।

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

बुधबार ७, असार ०७५

प्रतिक्रिया

Related