वरिष्ठ न्युरो सर्जन डा देवकोटाको अन्तिम विदाइमा उच्च व्यक्तिहरु न्युरो अस्पतालमा

अनुकरणीय व्यक्तित्व डा देवकोटा, जसको पूर्ति सम्भव छैन
निर्माण सञ्चार, काठमाडौं । प्रख्यात न्युरो सर्जन प्राध्यापक डा उपेन्द्रप्रसाद देवकोटाको सोमबार साँझ निधनपछि उनको अन्तिम विदाइका लागि यतिबेला न्युरो अस्पताल परिसरमा प्रधानमन्त्री सहितका व्यक्तित्वहरु सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित अस्पताल पुगेरदिवंगत डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि दिएका छन् ।

पित्त थैलीको क्यान्सरबाट पीडित उनको आफैले स्थापना गरेको बाँसवारीस्थित न्युरो अस्पताल (नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एप्लाइड साइन्स) को सघन उपचार कक्षमा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको थियो ।

श्रद्धाञ्जली क्रममा प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेट गरेर समवेदना प्रकट गरेका छन् भने विशिष्ट व्यक्तित्वहरुको यतिबेला घुइँचो लागिरहेको छ ।

मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली र वरिष्ठ मन्त्रीहरु डा देवकोटाप्रति श्रद्धाञ्जलिका अस्पताल पुगेको स्रोतले बतायो ।

साथमा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले अस्पताल पुगेर डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका हुन् ।

अनुकरणीय व्यक्तित्व, सदाका लागि अस्ताए !

डा देवकोटाको चरित्र लगभग सन्त जस्तै त्यागी र समर्पित देखिन्छ । न्युरो सर्जरीमा नेपालकै पहिलो र दक्षिण एसियामै गनिने उनको क्षति सायद पूर्ति हुन समय लाग्ने छ ।

गत वैशाख १५ गते बेलायतमा उपचार गर्दागर्दै रोग निको नहुने थाहा पाएपछि उनी स्वदेशमै देह त्याग गर्ने इच्छाअनुसार नेपाल फर्केका थिए ।

आफ्नो मृत्युलाई सहज वरण गरेका उनी मृत्युलाई चिनेका मध्ये एक थिए, जुन असाधारण क्षमता उच्च व्यक्तित्वमा मात्र हुने गर्छ ।

आफ्नो जन्मथलो, नेपाललाई माया गर्ने उनी अन्तिम समय घर गोरखा पुगेर फर्किएका थिए । जसको नौ दिनपछि देवकोटाको निधन भएको थियो ।

२०१० साल पुस ४ मा गोरखाको पण्डित गाउँमा जन्मिएका डा देवकोटा ६५ वर्षका थिए । उनको अन्तिम दाहासंस्कार पशुपति आर्यघाटमा आज दिउसो गरिने अस्पताल स्रोतले बतायो ।

उनको काजक्रिया पनि ७ दिनभित्रै सम्पन्न गरिने अस्पताल स्रोतको भनाइ छ ।

अन्त्येष्टि तथा काजक्रियामा पत्नी मधु दीक्षित देवकोटा, तीन छोरीहरू मेघा, वसुधा र मञ्जरी रहने छन् । डा देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेबाट अस्पतालको प्रांगणमा राखिएको छ ।

दिउँसो एघार बजे उनलाई अन्त्येष्टिका लागि आर्यघाट लगिने छ ।

श्रद्धाञ्जलिपछि नारायणगोपाल चोक चक्रपथ हुँदै पशुपति आर्यघाटमा लगी विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने परिवार स्रोतदे बतायो ।

को हुन् देवकोटा ?

जन्मः २०१० पुस ४

निधनः २०७५ असार ४

एमबीबीएस उत्तीर्णः २०३०, भारत

सेवा सुरुः २०३१ साल, वीर अस्पतालबाट

वीर अस्पतालमा न्युरो सर्जरी वार्ड स्थापनाः २०३८

न्युरो सर्जरीमा एफआरसीएस गर्न बेलायत प्रस्थानः २०४०

न्युरो सर्जरीमा दक्षता हासिल गरी स्वदेश फर्किएर वीरमै सेवा सुरुः २०४७

स्वास्थ्य मन्त्रीः २०५९ असोज २५

चार दशकदेखि बिरामीको सेवामा संलग्न डा देवकोटाले भारतबाट एमबीबीएस गरेका थिए । २०३१ सालमा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा सेवा सुरु गरेका थिए ।

वीर अस्पतालका सर्जरी विभागका तत्कालीन प्रमुख डा दिनेश गंगोलको मातहतमा रहेर उनले कार्य गरेका थिए । त्यसअघि उनले केही समय शिक्षण अस्पताल महराजगन्जमा लेक्चररका रूपमा काम गरे ।

न्युरो सर्जरीमा नयाँपन दिने काममा अगुवाइ गरेका डा। देवकोटाले नेपाली चिकित्सामा न्युरो सर्जरीलाई उचाइमा पु¥याउने काम गरे ।

उनी व्यक्तिगत रूपमा सरल, स्वाभिमानी र देशभक्त मानिन्थे । उनले स्वास्थ्य मन्त्री हुँदा चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरे, स्वास्थ्य बिमाको अवधारणा ल्याए ।

डा देवकोटाले आधुनिक न्युरो सर्जरीको सुरुवात भने १९८९ फेब्रुअरीमा गरेका थिए ।

२०५९ असोज २५ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठित नौ सदस्यीय मन्त्रीमण्डलमा उनी सात महिना स्वास्थ्य र विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

उनले २०६२ सालमा बाँसबारीस्थित न्युरो अस्पतालको स्थापना गरेका थिए । ०७४ कात्तिक ३० गते राधिका बस्नेतको ब्रेन ट्युमरको शल्यक्रिया गरेका थिए, जुन उनको अन्तिम शल्यक्रिया थियो ।

मंसिर पहिलो साता स्वास्थ्य समस्या देखिएपछि मंसिर ५ गते उनी बेलायतको किंग्स अस्पतालमा भर्ना भएका थिए ।

 

 

...

मंगलबार, ५ असार, ०७५

 

प्रतिक्रिया

Related