प्रधानमन्त्रीको चीन भ्रमणः कसरी हुँदैछ रेल र ऊर्जामा सम्झौता ?

पारवहन किन पारिदै छ ‘ओझेल’ मा ?
निर्माण सञ्चार, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि छिमकी मुलुक चीन प्रस्थान गरेका छन् ।

एक सय १९ सदस्यीय टोली बोकेर प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका हुन् । उनको चीन भ्रमणका मुख्य अजेन्डा रेल र ऊर्जा रहेको छ ।

बुधबार चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने प्रधानमन्त्री ओलीले ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्वपूर्ण सम्झौता गर्ने भएका छन् ।

रेलवे कसरी हुँदैछ सम्झौता ?

चीनसँग प्रधानमन्त्री ओलीले यसअघि पनि केरुङ नाका खोल्न जोड दिएका थिए । चीन पनि केरुङ नाका खोल्न सहमत भएको थियो ।

यसकारण प्रधानमन्त्री ओलीको भ्रमणमा केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेसम्बन्धी सम्झौता हुने भएको हो ।

सो नाका खोलेर चीनले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म व्यापार विस्तार गर्ने योजना लिएको थियो । कोदारीराजमार्गमा पर्ने तातोपानी नाका खोल्न भने चीन तयार नरहेको देखिएको छ ।

तर, प्रधानमन्त्री ओलीको भ्रमणमा सो विषय पनि राखिने भएको छ ।

पारवहन किन पारिदै छ ‘ओझेल’ मा ?

परराष्ट्र स्रोतअनुसार यातायात तथा पारवहन सम्झौैताको प्रोटोकल अर्को महिना मात्रै टुंगिने भएको छ । यसअघि प्रधानमन्त्री हुँदा ओलीले चीनसँग पारवहन सम्झौता गरेका थिए ।

हाल भारतसँग सम्बन्ध सुमधुर भएसँगै चीनसँग गरिएको पारवहन सम्झौता ओझेलमा परेको होकी भनेर विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा प्रोटोकल टुंग्याउन अर्काे महिना बैठक डाक्ने सहमति हुने भएको छ । समयको अभावको कारण देखाउँदै प्रोटोकल टुङ्गो नलाग्ने बताइएको छ ।

तर, नेपाल र चीनले जारी गर्ने संयुक्त वक्तव्यमा यो विषय समावेश भने गरिने भएको छ ।

सिभिल अस्पतालको क्षमता बढाइने

चीनले सिभिल अस्पतालको क्षमता बढाउन नेपाललाई अनुदान उपलब्ध गराउने सम्झौता पनि गर्ने तयारी रहेको छ ।

यससँगै अनुदानमा बनाइदिने पुनर्निर्माणका परियोजनाबारे समेत चीनसँग छलफल हुने भएको छ ।

प्रधानमन्त्री ओली भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्र मन्त्रालयस्तरमा संयन्त्र गठन गर्ने एमओयुमा हस्ताक्षर हुनेछ ।

सोही संयन्त्रले दुई देशबीच विभिन्न विषयमा हुने सम्झौताका विषयमा छलफल गर्ने र टुंगो लगाउनेछ । मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गर्ने भएको छ ।

राष्ट्रपतिसँग यसरी हुँदैछ भेटवार्ता

बुधबार चिनियाँ समयअनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग ४० मिनेट शिष्टाचार वार्ता गर्ने भएका छन् ।

चीनीयाँ राष्ट्रपतिसँग ‘ग्रेट हल अफ द पिपुलको पूर्वी हल’मा प्रधानमन्त्री ओलीको भेटवार्ता तय गरिएको छ ।

कूटनीतिक स्रोतअनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग एकान्त वार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि ओलीको सम्बोधन

राष्ट्रपति सिसँग भेट गर्नुअघि प्रधानमन्त्री ओलीले बुधबार नेपाली दूतावासमा बेइजिङस्थित नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

बिहानै ९ः४० मा उनले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद् (सिसिपिआइटी)द्वारा आयोजित नेपाल–चीन बिजनेस फोरमलाई सम्बोधन गर्ने भएका हुन् ।

सो कार्यक्रममा नेपाल र चीनको निजी क्षेत्रबीच साझेदारी र सहकार्यका तीन परियोजना निर्माणसम्बन्धी हस्ताक्षर हुने स्रोतले बताएको छ ।

सोही दिन साँझ ५ बजे प्रधानमन्त्रीले चाइना अन्तराष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिने भएका छन् ।

यससँगै एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी)का अध्यक्ष जिन लिकुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

 चिनियाँ समकक्षीसँग पनि हुँदैछ भेट

भ्रमणको तेस्रो दिन (बिहीबार) अपराह्नमा ओली र समकक्षी ली खछियाङ दुई घन्टा सँगै रहनेछन् ।

उनीहरुबीचको औपचारिक वार्ता भने ४५ मिनेट मात्रै हुनेछ । प्रधानमन्त्री ओलीलाई अपराह्न ५ बजे चिनियाँ समकक्षी लीले ग्रेट हल अफ द पिपुलको उत्तरी हलमा स्वागत समेत गर्नेछन् ।

सो भेटमा ६ बजेदेखि ६ः१० सम्म दुई देशबीच आधा दर्जनजति समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।

अपराह्न ६ः१० देखि ७ बजेसम्म चिनियाँ समकक्षी लीले आयोजना गर्ने रात्रिभोजमा ओली सहभागी हुनेछन् । ओलीलाई चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर दिनेछ ।

यससँगै ली नेतृत्वको चिनियाँ टोली र ओली नेतृत्वको नेपाली टोलीबीच पूर्वी हलमा सवा ५ देखि ६ बजेसम्म प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।

प्रधानमन्त्रीलाई लीले स्वागत गर्नुअघि ओलसँग चिनियाँ नेसनल कंग्रेस स्थायी समितिका अध्यक्ष ली झाङसुले ग्रेट हल अफ द पिपुलको स्वागत कक्षमा ४० मिनेट शिष्टाचार भेट गर्दै छन् ।

तिब्बतमा कस्तो रहेको छ कार्यक्रम ?

बेइजिङमा बिहीबारसम्म उच्चस्तरीय भेटवार्ता सम्पन्न भएपछि प्रधानमन्त्री ओली शुक्रबार बिहान ८ः१५ मा बेइजिङबाट तिब्बतको ल्हासा लाग्नेछन् ।

ल्हासा विमानस्थलमा अवतरण भएको एक घन्टापछि प्रधानमन्त्री ओली ल्हासास्थित नेपाली महावाणिज्य दूतावास पुग्ने भएकाछन् ।

प्रधानमन्त्री ओलीको अपराह्न ३ः५५ देखि ५ बजेसम्म महावाणिज्यदूतावासमै ल्हासास्थित नेपालीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

उनी साँझ ८ः३० बजे होटेल सांग्रिलामा नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

यसैगरी, शनिबार बिहान ९ः४० देखि ११ः२० सम्म (करिब पौने २ घन्टा) प्रधानमन्त्री ओलीले ल्हासाको पोताला दरबार भ्रमण गर्ने भएका छन् । साथै ११ः३० देखि १२ बजेसम्म जोखाङ मन्दिर भ्रमण गर्नेछन्  । प्रधानमन्त्री ओलीले दिवाभोजपछि ल्हासाकै क्यु सुई कृषि परियोजनाको अवलोकन गर्नेछन् ।

तिब्बत जनसरकारका अध्यक्ष छी टालासँग साँझ ६ बजेदेखि ९ बजेसम्म रात्रिभोजसहित शिष्टाचार भेटवार्ताको गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली आइतबार बिहान ११ः५० बजे सिचुआन एयरलाइन्सको उडान नम्बर ३ यू ८७१९बाट स्वदेश फर्कनेछन् ।

यस्ता छन् छलफलका एजेन्डा

केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेसम्बन्धी समझदारीपत्र ।

रसुवा र सिन्धुपाल्चोकस्थित नाकामा मितेरी पुल निर्माण ।

जैविक कृषिको उत्पादकत्व वृद्धि गर्नेसम्बन्धी चिनियाँ सहयोग सम्झौता । 

नेपालका आठवटा सीमाबिन्दुमा वर्षाको समयमा सामान ढुवानीका लागि तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी प्रोटोकल ।

चिनियाँ सहयोगमा सात प्रदेशमा नेपाल प्रहरीका लागि आपत्कालीन उद्धार युनिट निर्माणसम्बन्धी सम्झौता । 

नेपाल र चीनबीच परियोजना अनुगमन तथा समस्या समाधानका लागि सहसचिवस्तरको संयन्त्र गठनसम्बन्धी समझदारीपत्र ।

स्वतन्त्र व्यापार सम्झौताका लागि थप छलफल हुने । यसको सम्भाव्यता अध्ययनसम्बन्धी सहमति हुन सक्ने । नेपालले चीनसँग व्यापार गर्ने सहज आधारको खोजीपछि मात्रै अन्तिम रूप दिइने ।

तियान्जिन, सांघाई र ग्वान्जाओका तीन बन्दरगाह तथा तिब्बतमा दुई सुक्खा बन्दरगाह निर्माणसहित पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर (समय अभावका कारण यो नहुन पनि सक्ने) ।

मस्र्याङ्दी नदी प्रणालीमा नेपाली र चिनियाँ निजी क्षेत्रको लगानीमा ९६० मेगावाट विद्युत् उत्पादन गर्ने परियोजना निर्माण । 

तानोपानी सीमानाका खुला गर्ने तथा सीमाबिन्दुका पूर्वाधारको स्तरोन्नति ।

चिनियाँ बैंकको शाखा नेपालमा स्थापना गर्नेसम्बन्धी चाइनिज बैंकिङ रेगुलेटरी कमिसन र नेपाल राष्ट्र बैंकबीच समझदारीपत्र निर्माण ।

सिँचाइ तथा जलस्रोत परियोजनाः पाँचखाल उपत्यका लिफ्ट सिँचाइ परियोजना, सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना, पूर्वी तराई नदी व्यवस्थापन परियोजना, मध्यपहाडी लिफ्ट सिँचाइ परियोजना ।

रसुवामा सुक्खा बन्दरगाह तथा सीमापार आर्थिक सहायता क्षेत्र निर्माण ।

गल्छी–केरुङ ४०० केभी प्रसारण लाइन, बुटबल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी विद्युतीय प्रसारण लाइन, पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइन, कर्णाली तथा कोसी कोरिडोर प्रसारण लाइन, काठमाडौं चक्रपथमा मोनोरेल निर्माण ।

सबै मौसममा सञ्चालन हुन सक्ने गरी उत्तर–दक्षिण कोरिडोरको स्तरोन्नति । जस्तै, दुई लेनको हुने गरी किमाथांका–खाँदबारी–धनकुटा–रानी सडक निर्माण, जमुनाहा–हिल्सासहितको कर्णाली करिडोर, ठोरी–केरुङ करिडोर, कोदारी–वीरगन्ज करिडोर, भिट्टामोड–लामाबगर करिडोर निर्माण ।

टोखा–छहरे सुरुङमार्ग निर्माण ।

काठमाडौं चक्रपथ २७ किलोमिटर विस्तारको दोस्रो र तेस्रो चरण परियोजना ।

चिनियाँ सहयोगमा नुवाकोट, ललितपुर र तनहुँमा तेल भण्डारण केन्द्र निर्माणसम्बन्धी सम्झौता ।
सीमा व्यवस्थापन प्रणाली व्यवस्थापन ।

ऊर्जा सहकार्यका लागि ऊर्जासचिव र सहसचिवस्तरको संवाद संयन्त्र गठन ।

किमाथांका अरुण ४५० मेगावाट, तमोर ७६२ मेगावाट, सुनकोसी दुई १११० मेगावाट, सुनकोसी तीन ५३६ मेगावाट, नलसिंहगाड ४२६ मेगावाट, उत्तरगंगा ३ सय मेगावाट जलविद्युत् परियोजना निर्माण ।
मदन भण्डारी विज्ञान तथा प्रविधि केन्द्र ।

नेपाल–चीन सिमानामा गस्तीका लागि संयुक्त सीमा सुरक्षा प्रणाली निर्माण ।

सुपुर्दगी सन्धि तथा अपराधसँग सम्बन्धित विषयमा आपसी कानुनी सहायता सन्धिबारे छलफल ।

मानवस्रोत विकास तथा चीनमा नेपाली छात्रवृत्ति बढोत्तरीसम्बन्धी विषय ।

सातै प्रदेशमा साना खालका शैक्षिक तथा जनस्वास्थ्य भवन निर्माण ।

नेपाल र चीनबीच परराष्ट्र मन्त्रालयको सहसचिवस्तरमा परियोजनामा संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्र गठन ।

जैविक कृषि उत्पादनका लागि चिनियाँ सहयोग ।

 

 

...

मंगलबार, ५ असार २०७५ 

प्रतिक्रिया

Related