अगामी पुससम्म आउला त जनकपुर– जयनगर रेल ?

प्राविधिक जनशक्तिको उपलब्धता र व्यवस्थापनबारे ध्यान दिन आवश्यक
निर्माण सञ्चार, काठमाडौँ | आउँदो पुसको अन्त्यसम्म सरकारले जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ ।

मंगलबार र बुधबार रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच छलफल भएको थियो ।

सो छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारलगायतका अधिकारी सहभागी रहेको विभागले जानकारी दियो ।

रेलमार्ग सञ्चालनका लागि आवश्यक पूर्वतयारीबारे छलफल भएको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

तर, नेपाल र भारत जोड्ने रेलमार्ग सञ्चालनको लागि तयार हुने क्रममा रहे पनि सरकारले अहिलेसम्म रेल ऐन तयार गर्न सकेको छैन ।

साथै रेल सञ्चालनसम्बन्धी विभिन्न नियमावली, प्राविधिक, सुरक्षा, प्रशासनिक मर्मत संभारका लागि आवश्यक जनशक्ति कसरी उपलब्ध गराउने भन्ने विषयमा समेत तयारी भएको छैन ।

रेल विधेयक तयार पारेर संघीय संसद्मा पेश गर्नुपर्ने हुन्छ । सरकार हाल विधेयक तयारीको क्रममा रहेको छ ।

यसैगरी, प्राविधिक जनशक्तिको उपलब्धता र व्यवस्थापनबारेमा पनि संबद्ध निकायले ध्यान दिनुपर्ने र तत्काल त्यसको ढाँचा तयार पार्नुपर्ने आवश्यकता देखिएको छ ।

दुई देशबीच आगामी जुलाई ९ देखि १९ सम्म हुने को संयुक्त बैठकमा प्राविधिक तथा अन्य प्रशासनिक विषयमा सहमति जुटाइने बताइएको छ ।

भारतीय रेल विभागसँग सरकारले ‘वेट लिज’मा रेल सम्झौता गर्ने भएको छ ।

त्यसै सम्झौताअनुसार भारतीय रेल्बे विभागले रेलको डब्बा र अन्य प्राविधिक जनशक्ति उपलब्ध गराउने भएको छ ।

जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको विभागको भनाई छ ।

सो रेलमार्र्ग निर्माणका लागि भारत सरकारले १० अर्ब रुपियाँ सहयोग गरेको छ ।

कति भयो काम ?

विभागकाअनुसार जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट करीब ६ किलोमिटर पर कुर्था भन्ने स्थानसम्म रेलमार्गको लिकसमेत निर्माण भइसकेको छ ।

अहिले निर्माण सम्पन्न भएको र निर्माणका क्रममा रहेको रेलमार्ग ‘ब्रोडगेज’को हो । यही रेलमार्गमा ६ वटासम्म डब्बा तान्न सक्ने चार इन्जिन राख्ने तयारी गरिएको छ ।

त्यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययनको काम पनि जारी रहेको विभाग बताउँछ ।

...

बिहीबार, ७ असार २०७५

प्रतिक्रिया

Related