चीन नेपालबीच ‘मूर्त’ सहमति– १० बुँदे सम्झौता भन्छ, ‘विद्युतीय कार्गो रेल काठमाडौं पुग्ने छ’

खुल्ने भयो तातोपानी नाका
निर्माण सञ्चार, एजेन्सी । अघिल्लो ९ महिने प्रधानमन्त्री छँदा गरेको पारवहन सन्धि र चिनियाँ रेल नेपालसम्म ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको धोको अब पुरा हुने भएको छ ।

बिहीबार दुई देश बीच भएको सम्झौताले (एमओयू) विद्युतीय कार्गो रेल काठमाडौं ल्याइने स्पष्ट पारेको हो । चीन भ्रमणको उपलब्धिका रुपमा विद्युतीय कार्गाे रेल सहित १० वटा सहमति भएको छ ।

साथै, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपुल्समा भएको वार्तामा रेलमार्ग निर्माण लगायतका उक्त सम्झौता भएका हुन् ।

रेलमार्गमा हस्ताक्षर गरे मन्त्री महाशेठले

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले रेलमार्ग निर्माणमा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त एमओयूमा उनीसँगै चिनियाँ उपविदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन् । २ सय किलोमिटर प्रतिघण्टा गति रहेको चिनियाँ रेल नेपालमा आउने गरी उक्त सम्झौता भएको हो ।

चीनले रेललाई एक्सप्रेस र कार्गो गरी दुई भागमा वर्गीकरण गरेको छ । कार्गो रेलमा मानिस सहित सामान पनि ढुवानी गर्छन् ।

कुन कुन विषयमा भयो सम्झौता ?

सम्झौतामा नेपाल आउने कार्गो यातायात चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्ने बारे उल्लेख छ । योसँगै, नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

खुल्ने भयो तातोपानी नाका

दुई देशबीचको उक्त १० बुँदे सम्झौताले सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने सहमति भएको छ । गत ०७२ को भूकम्प पछि बन्द भएको नाका यसरी ३ वर्ष पछि खोल्न चीन तयार भएको हो ।

बिहीबार राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा भएको वार्तापछि चीन उक्त नाका खोल्न सहमतिमा पुगेको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए । उक्त भूकम्पपछि चीनले असुरक्षाको कारण जनाउँदै तातोपानी नाका बन्द गरेको थियो ।

चीनले तातोपानी नाकाबाट अवैध रक्तचन्दन तथा सुन तस्करी र दलाई लामा समर्थकको गतिविधिले सुरक्षामा असर पार्ने देखेपछि नाका खोल्न आनाकानी गर्दै आएको थियो ।

अब बन्ने भए यस्ता पुल

दुई पक्षबीचको वार्तापछि चीनले नेपालसँग जोडिएका दुई पुल पुनःनिर्माण गरिदिने समझारी पत्रमा पनि आदानप्रदान भएको छ ।

सिन्धुपाल्चोकको खासा र रसुवागढीमा दुई मैत्री पुल पुनर्निर्माण सम्झौतामा परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ उपविदेशमन्त्री कङबीच हस्ताक्षर भएको छ ।

चीनले यी दुई पुल बनाइदिने गरी पठाएको प्रस्तावलाई नेपालले यसअघि नै स्वीकार गरिसकेको छ। रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गरेका हुन् ।

परराष्ट्र मन्त्रालयबीच बन्ने भो नयाँ संयन्त्र

त्यस्तै, दुई देशले परराष्ट्रमन्त्रालयीय स्तरीय नयाँ संयन्त्र गठन गर्ने सहमति समेत गरेका छन् ।

नेपाल र चीनबीचका सहयोग एवं सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको परराष्ट्र मन्त्रालयले जानकारी दियो ।

ऊर्जा र जलस्रोतमा भयो नयाँ सहमति

त्यस्तै, दुई देशबीच भएको उक्त सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच ऊर्जा सहकार्य गर्नेबारे नयाँ सहमति भएको छ ।

ऊर्जामन्त्री वर्षमान पुन र ऊर्जा प्रशासनका प्रशासक नुर बाइकेलीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आफू निकट जिल्लाको विकासमा चीनको चासो

चीनले आफ्नो देशको सीमा नाका निकट जिल्लाको विकासबारे पनि खुलेर चासो प्रकट गरेको छ ।

सम्झौता अनुसार नुवाकोट दरबार पुनःनिर्माण तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनामा सहयोग आदान प्रदान गर्ने समझदारी भएको छ ।

त्यस्तै दुई देशबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलगअलग सम्झौता भएको छ ।

 

 

...

बिहीबार, ७ असार, ०७५

 

प्रतिक्रिया

Related