जुम्लामा बजेट प्रस्तुतः सडक, सञ्चार र विद्युत् पहिलो प्राथमिकतामा

८ वटै स्थानीय तहको साझा कार्यक्रम ‘साक्षर घोषणा’
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्लाका आठ स्थानीय तहले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । आइतबार स्थानीय तह, गाउँ तथा नगरपालिकाले दोस्रो गाउँसभाबाट नीति तथा बजेट प्रस्तुत गरेका हुन् ।

अधिंकाश पुराना योजनालाई दोहोर्याउँदै यहाँका स्थानिय तहले नीति तथा कार्यक्रम सार्वजानिक गरेका हुन । छाउमुक्त घोषणा, कृषि, पर्यटन तथा सडक विस्तार र सञ्चारलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेका छन् ।

पहिलाका अधिंकाश योजनाहरु अधुरै छन् अहिलेको गाउँसभाले पनि पुरानै योजनामाथि बजेट खन्याउने प्रयास गरेको देखिन्छ ।

चन्दननाथ नगरपालिका

कर्णालीकै पहिलो तथा जुम्लाको चन्दननाथ नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चार क्षेत्रको विकास, विद्युतका साथै सडकलाई प्रथामिकता दिँदै नीति, कार्यक्रम तथा बजेटमा त्यसैगरी सार्वजनिक गरेको छ ।

चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले रोजगार कार्यक्रम सञ्चालनदेखि उद्यमशिलताका कार्यक्रमलाई बढी प्रथामिकता दिइने बताइन ।

नगरपालिकाले जम्मा ३७ करोड ४९ लाख ३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ को बजेट, नीति तथा कार्यक्रमले नगरपालिकाभित्रका विपन्न, दलित, जनजाति तथा पिछडिएका र बेरोजगार युवा समुदायहरुको सघन बसोबासमा निकै जोड दिइने लक्ष्य लिएको छ ।

नगरपालिकाभित्र टेलिफोन, विद्युतलगायत अन्य लथालिंग अवस्थामा रहेका टेलिफोन लाइनका तारलाई व्यवस्थित गर्न जमिनभित्र तार बिछ्याउने कार्यक्रम ल्याइएको छ । अहिले एक हप्तासम्म विभिन्न विधेयकमा छलफल भइरहेको छ ।

तातोपानी गाउँपालिका

नगरपालिकापछि जनघनत्व तथा विकास निमार्ण हरेक काम बढी हुने गरेको जुम्लाको पर्यटकीय तातोपानी गाउँपालिकाले योजना कार्यन्वयनका लागि जम्मा ३३ करोड ९१ लाख ३ हजार बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

जसमध्ये पूँजीगततर्फ १२ करोड ९५ लाख ४५ हजार र चालुतर्फ ५ करोड ६३ लाख ३० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख नवराज न्यौपानेले बताए ।

न्यौपानेले भने, ‘पाँच ‘स’ लाई विशेष प्राथमिकता दिँदै बजेट ल्याइएको छ ।’

उनले थपे, ‘तातोपानी गाउँपालिकालाई डिजिटल बनाउनेदेखि पर्यटकीय क्षेत्र घोषणा गर्ने कार्यक्रमसम्म रहेका छन् ।’

रोजगार सृजना गरी युवा उद्यमी बढाउनुका साथै निन्न आयस्तर भएका समुदायलाई आत्मनिर्भर बनाउने खाले कार्यक्रमहरु सञ्चालन हुने गाउँपालिकाल उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन ।

उनले महिला शसक्तिकरणका कार्यक्रमलाई पनि विशेष प्रथामिकता दिने नीति अघि सारेको उनको भनाई छ । पाँच ‘स’ को लक्ष्य गाउँपालिकाले आगामी आवमा पुरा गर्ने प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए ।

गाउँपालिका अध्यक्ष तेस्रो गाउँ सभा असार १८ गतेसम्मका लागि स्थगित भएको घोषणा चौलागाईले गरे । 

सिजा गाउँपालिका

सिंजा गाउँपालिकाले साक्षर गाउँपालिका घोषणादेखि सडक सञ्चार विद्युतलाई प्रथामिकतामा राखी नीति तथा बजेट सार्वजनिक गरेको छ ।

सिंजा गाउँपालिकाको विकास गरिबीको निकास भन्ने सकारात्मक सन्देशका साथ दीर्घकालिन लक्ष्य लिएको गाउँपालिका अध्यक्ष देवलसिहं रावलले बताए ।

उनका अनुसार आर्थिक वर्ष ०७५/०७६ चालुतर्फ ४ करोड ५९ लाख र पूँजीगततर्फ ९ करोड ५ लाख ७१ हजार र सर्सत अनुदानतर्फ ८ करोड ९७ लाख विनियोजन भएको सिंजा गाउँपालिकाले जनाएको छ ।

तिला गाउँपालिका

तिला गाउँपालिकाले प्रत्येक गाउँमा सडक सञ्जाल जोडेर यातायातको पहुँच वृद्धि गर्ने, गाउँपालिका भर एक मेगावट विद्युत् उत्पादन गरी उद्योग कलकारखाना खोल्नमा जोड दिने, आर्थिक, सामाजिक, सास्कृतिक र पर्यटकीय तथा पर्यावरणीय अवस्थालाई दृष्टिगत गर्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

चालुतर्फ ४ करोड १० लाख, पूँजीगततर्फ ससर्त ११ करोड २६ लाख र पूँजीगत खर्च १० करोड ७८ लाख १५ हजार गरी जम्मा २६ करोड १४ लाख १५ हजार रहेको अध्यक्ष रतननाथ योगीले बताए ।

उनले भने, ‘हामी सञ्चार जगतसँग निकै साझेदारी गरेर अघि बढ्छौँ ।’ उनले पाँच वर्षसम्म प्रभाव पार्ने खाले योजनालाई हाम्रो प्रथामिकतामा पारेको दाबी गरे ।

पातारासी गाउँपालिका 

पातारासी गाउँपालिकाले ‘शिक्षा, पर्यटन कृषि जडिबुटीको मूल आधार, सभ्य, सुन्दर समृद्ध मूल आधार’ भन्ने नारासहित पातारासी गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले चालुतर्फ १३ करोड ३४ लाख ९९ हजार र पूँजीगततर्फ ११ करोड ९० लाख ९९ हजार गरी जम्मा २५ करोड ९८ हजार बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले सडक, विद्युत शिक्षा, कृषि लगायतका कार्यक्रमहरुलाई प्रथामिकतमा राखेर नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको प्रशासकीय प्रमुख रामबहादुर बुढाले बताए ।

विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर जिउलोको विशेष संरक्षण कार्यक्रम पनि अघि सारिने छ ।

ग्रामिण बस्तीलाई सदरमुकामसँग जोड्न बाँकी क्षेत्रमा सडक विस्तारलाई जोड दिइने नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।

हिमा गाउँपालिका 

हिमा गाउँपालिका बृहत खानेपानी, सडक, विद्युत, कृषि शिक्षा लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर हिमा गाउँपाकिाले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

गाउँपाकिाले २१ करोड १ लाख २० हजार रुपियाँको बजेट प्रस्ताव गरेको छ । यहाँका ग्रामिण क्षेत्रका अध्यारा बस्तीहरुलाई उज्यालो बनाउन विद्युत उत्पादनमा जोड दिइने छ ।

यसैगरी, समाबेसी सहभागितादेखि आबश्यकतामा आधारित विकास पद्धतीलाई अघि बढाइने छ ।

कनकासुन्दरी गाउँपालिका

कनकासुन्दरी गाउँपालिकाले आर्थिक, सामाजिक र पूर्वाधार विकास, तथा वातावरण संरक्षण गर्न विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनलाई प्रथामिकतामा राख्दै कनकासुन्दरी गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

त्यसैगरी बजेट तथा योजना र वितिय व्यवस्था स्वास्थ्यको नीति तथा कार्यक्रम, राजस्व सम्बन्धी नीति तथा कार्यक्रम, दक्ष जनशक्ति उत्पादन सम्बन्धित नीति तथा कार्यक्रम शिक्षा सम्बन्धी नीति, कृषि तथा पशुपंक्षी सम्बन्धी नीतिमाथि छनफल गरी संशोधनसहित नीति पास गरिएको कनकासुन्दरी गाउँ पालिकाका अध्यक्ष नरवीर रावतले बताए ।

अध्यक्ष रावतका अनुसार विशेष गरी नेपाली भाषाको उद्गम स्थल भएको हुँदा खस भाषाको संरक्षण गरी धार्मिक तथा पर्यटकीय विकास गर्ने युवा युवतीलाई रोजगारमूलक कार्यक्रमसहितको नीतिमा जोड दिएको छ ।

यसैगरी, जुम्लाका आठै स्थानीय तहले प्राविधिक शिक्षामा निकै जोड दिएका छन् । स्थानीय सरकारको पहिलो वर्ष अलमलमै बिते पनि अब काम गरेर देखाउने दाबी गरेका छन् ।

...

सोमबार ११, असार ०७५

प्रतिक्रिया

Related