पप्पु कन्स्ट्रक्सनको लापरबाही, निर्माण नसकिँदै भत्काउनुपर्ने भयो टेकुको पुल

बचावट गर्न राजनैतिक दलको शरणमा पर्दै रौनियार
निर्माण सञ्चार, काठमाडाैँ । टेकुमा निर्माणाधीन पुलमा पप्पु कन्स्ट्रक्सनले गम्भीर लापरबाही गरेको भेटिएको छ ।

भर्खरै ढलान भएको ६० मिटर लामो पुलमा त्रुटी भेटिएपछि काठमाडौं दिगो शहरी यातायात आयोजनाले भत्काउन निर्देशन दिएको हो ।

आयोजनाको प्राविधिक परामर्शलाई अटेर गरी काम गरेको पाएपछि भत्काउन निर्देशन दिइएको आयोजनाका प्रमुख अनन्त आचार्यले बताए ।

आयोजनाकाअनुसार परामर्शदाता कम्पनीले पुल ढलानका क्रममा तारको ज्याकिङ नमिलेको रिपोर्ट दिएको छ । पप्पु कन्स्ट्रक्सनका संस्थापक सांसद हरिनारायण रौनियार हुन् । उनले धेरैजसो पुल तथा सडक निर्माणमा लापरबाही गर्ने गरेको पाइएको छ । 

रातारात ढलान सम्पन

निर्माण सामाग्रीको ल्याब टेस्ट, प्राविधिकको सल्लाह नमानी रातारात पुलको ढलान कार्य सम्पन्न गरेको हो ।

काठमाडौं दिगो शहरी अायाेजना प्रमुख आचार्यले भने, ‘पहिलो त निर्माण सामाग्रीहरुको ल्याब टेस्ट नै गरिएन । हामीले पटक–पटक निर्देशन दिँदा पनि टेरिएन ।’

उनले थपे, ‘दुवै पुलको ढलान हामीलाई जानकारी नदिई राता–रात गरियो ।’

पुनर्निर्माणका क्रममा लापरबाही भएको ठहर गर्दै आयोगले पत्र लेखेर ढलानको काम रोक्न निर्देशन दिएको थियो । तर, पप्पु कन्सट्रक्सनले त्यसको केही प्रवाह नै नगरी रातारात ढलान सकेको हो । 

पप्पुकाे चित्त नबुझ्ने जवाफ

दवाब आयोजनाले सार्वजनिक सूचनामार्फत जवाफ पनि माग्यो । पुलको पक्की आधार संरचना (प्रि स्ट्रेस कंक्रिट ग्रिडर र केबलको ज्याकिङ) को निर्माण गुणस्तहीन भएको आयोजनाको ठहर छ ।

आयोजनासँग परामर्श तथा सल्लाह नगरी पुलको डेक स्ल्याब निर्माण गरिएको छ । पटक–पटक चेतावनी दिँदा पनि काम नसुधारेको र झुक्याउने नियतका साथ काम गरेको आयोजनाका अधिकारीहरुले बताएका छन् ।

प्राविधिक रुपमा गर्नुपर्ने महत्वपूर्ण काम नै नभएपछि काठमाडौं दिगो शहरी यातायात आयोजना पुल भत्काउनु पर्ने निष्कर्षमा पुगेको हो ।

आचार्यले भने, ‘हामीले टेकु पुल भत्काउन निर्देशन दिएका छौं । डल्लुको पुलमा पनि समस्या छ । त्यसको प्राविधिक चेकजाँच पनि के गर्नुपर्ने भन्ने तय गर्छौं ।’

उनले थपे, ‘पुल बलियो बनेको छैन । यसले चाँडै समस्या आउन सक्छन् ।’

दुवै पुल निर्माणमा पप्पु कन्सट्रक्सनसँगै चिनियाँ कम्पनी पनि जेडआईईसी संलग्न छ । तर, निर्माण काम भने पप्पु आफैंले हेरेको छ ।

गुहारमाग्दै नेताको घरदैलोमा

आयोजनाले निर्माणाधीन पुल भत्काउन पत्र काटिएपछि पप्पुका सञ्चालकहरुले राजनीतिक दौडधुप सुरु गरेका छन् ।

आयोजनका अधिकारी भने पप्पु कन्स्ट्रक्सनले काठमाडौंकै पुल निर्माणमा समेत चरम लापरवाही गरेको भन्दै यसपटक कम्पनीलाई कालोसूचीका राख्ने पक्षमा छन् ।

प्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको पुल पनि निर्माण पुरा हुन नपाउँदै भासिएर काम नलाग्ने भएको थियो भने तराईका विभिन्न पुलहरुमा पनि भासिने समस्या देखिएको थियो ।

आयोजना प्रमुख आचार्यले भने, ‘ठेकेदारले २ वर्षको काम चार वर्षमा पनि सकाएनन् । त्यही पनि यति लापर्वाही भएको छ ।’

उनले थपे, ‘केही दिनपछि छलफलमा बोलाएका छौं र कारवाहीको प्रक्रिया थाल्छौं ।’

यो पुल निर्माण्का लागि जुलाई २०१६ मा सकिने गरी जुन, २०१४ मा सम्झौता भएको थियो । समयमै काम नभएपछि डिसेम्बर, २०१७ सम्म म्याद थपिएको थियो ।

२० करोड २३ लाख ७५ हजार ६९२ रुपियाँ लागतमा काम भइहेको यो आयोजनाअन्तरगत टेकु र डल्लु पुल बनाउनुपर्ने थियो ।

हालसम्म आयोजनामा ६८.८ प्रतिशत प्रगति भएको छ पप्पुले यो कामका लागि १३ करोड ९२ लाख भुक्तानी पाइसकेको छ ।

 

 
___
यो समाचार सडक विभाग, न्युज एजेन्सी, पप्पु कन्स्ट्रकसनको साइट तथा निर्माण व्यवसायीहरुबाट  प्राप्त सूचनामा आधारित भई तयार पारिएको हो 

 

 

...

सोमबार ११, असार ०७५

प्रतिक्रिया

Related