बौद्ध–जोरपाटी सडकको दुरावस्थाविरुद्ध नेतासहित पेशाकर्मी सडकमा !

‘बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकखण्ड राजमार्ग नभई काल मार्गमा परिणत’
निर्माण सञ्चार, काठमाडौँ | बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडकको दुरावस्थाको विरुद्ध राजनीतिक दलका नेता सहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध प्रतिनिधिहरु सडकमा ओर्लिएका छन् ।

नागरिक दबाब अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरुले वर्षौदेखि सडक जीर्ण भई लाखौं स्थानीयले चरम दुःख कष्ट पाउँदा समेत सरोकारवाला निकाय मूकदर्शक मात्र भएको बताएका छन् ।

जोरपाटी चोकमा भएको विरोध सभालाई सम्बोधन गर्दै नागरिक दबाब अभियानका संयोजक तथा समाजसेवी दीपकसिंह भण्डारीले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडकखण्ड राजमार्ग नभई काल मार्गमा परिणत भएको बताए ।

सडक बनाउन अहिलेसम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको भण्डारीले पारे ।

अभियानबाट कोही आत्तिनु नपर्ने भन्दै भण्डारीले कही कतैबाट सुनुवाई नभएपछि नागरिक हक प्राप्त गर्न आफूहरु सडकमा ओर्लन बाध्य भएको दाबी गरे ।

अभियानका सहसंयोजक तथा सामाजिक अभियन्ता कुमारराज सुवेदीले एक्काइसौं शताब्दीमा पनि महानगरबासी नरकीय जीवन बिताउन बाध्य हुनु ठूलो बिडम्बना भएको दुखेसो पोखे ।

आम नागरिकको सहनशीलतालाई कमजोरीको रुपमा नलिन सुवेदीले सरोकारवाला सबैलाई चेतावनी दिए ।

सडक निर्माण नभएसम्म अब अभियानले दबाबमूलक कार्यक्रम संचालन गरिरहने उनको भनाई छ ।

नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य विमल ठुकरीले भने सडककोे अवस्था सुर्धानका लागि निर्वाचित जनप्रतिनिधहिरुले ठोस काम गर्न नसकेको टिप्पणी गरे ।

सडक सुधारका लागि आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता ठकुरीले गरे ।

वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरेले अत्यन्त जीर्ण सडकका कारण स्थानीयको दिनचर्या नै नराम्रोसँग प्रभावित भएको पिडा व्यक्त गरेका छन् ।

सडकको दुर्गतीका कारण आम मानिसको मौलिक अधिकार नै हनन भइरहेको मानवअधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता होमकान्त चौलागाईंको भनाई छ ।

त्यस्तै, चिकित्सक डाक्टर सुवास प्याकुरेलले असारे भाका मार्फत् व्यङग्य गर्दै राजधानीको केन्द्रका जनता वर्षौ देखि प्रताडित हुनु राष्ट्रिय लज्जाको विषय भएको बताए ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले भने बौद्ध–जोरपाटीमा जस्तो सडकको विकराल अवस्था अन्यत्र कमै मात्र हुने भन्दै राष्ट्रिय अर्थतन्त्रमा समेत यसले ठूलो हानी गरेको जानकारी गराए ।

सामाजिक अभियन्ता देवेन्द्रमानसिंह बस्नेतले सडकको दुरावस्थाले स्थानीय सभ्यतालाई नै नराम्रोसँग गिज्याएको टिप्पणी गरे । सो सडकखण्डकाबारे अधिकांशले आफ्ना–आफ्नै तर्क प्रस्तुत गरेका छन् ।

जसअनुसार छाहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठले पनि सडक सुधारका लागि राज्य उदासिन रहेको भन्दै जनताको समस्या तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

सामाजिक अभियन्ता नै रहेका उद्धव रायमाझीले मूल सडकको स्तर उन्नति नभएसम्म अन्यत्र गरिने विकास अर्थहीन हुने जिकिर गरे ।

यता पत्रकार निर्मल अर्यालले नरकतुल्य सडकका कारण गर्भमा रहेका शिशुदेखि अस्पताल लैजानु पर्ने वृद्ध–वृद्धा सबै पीडित हुँदा समेत ठोस रुपमा समस्या समाधान गर्न कोही अग्रसर नहुनले लोककल्याणकारी राज्यकै उपहास भएको दाबी गरे ।

जीर्ण सडकका कारण आफूहरुको रोजीरोटी खोसिने खतरा बढेको खुद्र व्यापार संघका अध्यक्ष रमेश ढकालको गुनासो रहेको छ ।

यसैबीच बौद्ध–जोरपाटि सडक सुर्धान थालिएको नागरिक दबाब अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज, नवदुर्गा महिला समुह लगायतका संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

...

आइतबार, १७ असार, २०७५ 

प्रतिक्रिया

Related