मेलम्ची नगरपालिकाको इटालीसँग सम्बन्ध विस्तारः समृद्धि र विकासमा दुई नगरपालिकाले सहकार्य गर्ने

मेलम्चीका मेयरलाई त्रेन्तिना प्रदेश मन्त्रीको विकास सहकार्यको प्रस्ताव, दुई देशका दुई मेयरः विकासमा हातेमालो
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धितर्फ अघि बढेको बताइरहेकै बेला स्थानीय सरकारका जनप्रतिनिधिहरु पनि ‘समृद्धिका लागि सहकार्य’ गर्ने दिशामा अघि बढेका छन् ।

यही दिशामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नयाँ इँटा थपेको छ ।

इटाली भ्रमणमा रहेका मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल र इटालीस्थित त्रेन्तिनो राज्यको रोभेरेटो नगरपालिका प्रमुख बीच भएको भेटवार्ताले यस्तो अवसर जुटाएको हो ।

विशेष भ्रमणका सिलसिलामा इटाली रहेका नगरपालिका प्रमुख अर्याल र उक्त प्रदेशस्थित रोभेरेटो नपा मेयर फ्रान्सिस्को भाल्दुगा  (Francesco Valduga) बीच भूकम्प पछिको सिन्धुपाल्चोकको पुनःनिर्माण र विकासबारे पनि छलफल भएको थियो ।

भेटकै सिलसिलामा त्रेन्तिनो प्रदेशकी मन्त्री सारा फेरारी (Sara ferari) बीच भेटवार्ता भएको गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रवीन्द्र अर्यालले जानकारी दिए ।

भ्रमणमा नेपालबाट इटाली पुगेको मेयर अर्याल सहितको टोलीले त्रेन्तिनो प्रदेशकी मन्त्री फेरारीललाई उनको कार्यकक्षमा भेट गरेको थियो ।

इटालीका लागि नेपालको अवैतनिक महावाणिज्यदूत रहेकी सबिना श्रेष्ठ, मेलम्ची नगरपालिकाका मेयर अर्याल, काठमाडौ महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य ध्रुब त्रिपाठी र गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रवीन्द्र अर्याल सहित ट्राभल्सका अपरेसन म्यानेजर सुमन पाठक, संचार प्रमुख राजेन्द्र अर्याल सहितको टोलीले मन्त्री फेरारीसँग भेट गरेको हो ।

मेलम्ची नगरपालिका भित्र रहेका विद्यालय तथा माध्यमिक शिक्षालयहरुमा आवश्यक आधुनिक शैक्षिक प्रणाली विकास गर्न त्रेन्तिनो प्रदेशले चासो रोखको भेटमा सहभागी गरिमा ट्राभल्सका रवीन्द्र अर्यालले बताए ।

उनका अनुसार त्रेन्तिनो मन्त्री फरारीले मेलम्ची नगरपालिकासँग जोडिएर प्राविधिक शिक्षा प्रणाली सम्बन्धी प्रणाली विकासमा सहयोग गर्न चासो राखेकी छन् ।

मेयर अर्याल सहितको नेपाली टोलीले त्रेन्तिनो राज्यका पर्यटन प्रमुखसँग पनि भेटघाट गरेको थियो ।

भेटमा ०७२ सालको भूकम्पपछि पनि नेपालमा आफूहरुको सहयोग रहेको स्मरण गर्दै पर्यटन प्रमुखले आउने दिनमा पनि सहयोग गर्ने वचन दिएका छन् ।

भेटका क्रममा मेलम्ची नपा प्रमुखसँग इटाली सरकारका अधिकारीहरुले रैथाने ट्राउट माछा संरक्षणका लागि आफूहरको चासो रहेको समेत बताएको छ ।

लोप हुन लागेको रैथाने ट्राउट माछा संरक्षणको रोभेरेटो नगरपालिकाले गरेको प्रयासबारे चर्चा भएको थियो ।

फोहोर व्यवस्थापनमा नमूना नै रहेको रेभेरेटो नगरपालिकाले नेपालका नयाँ बन्ने नगरपालिकामा हुने फोहोर व्यवस्थापनबारे पनि चासो राखेको थियो ।

उनीहरु फोहोर व्यवस्थापनमा विश्वमै अत्याधुनिक प्रविधिको प्रयोग गर्नेमा पर्छन । जुन प्रविधि अनुसार इटालीले असी प्रतिशत फोहोरको पुनःप्रयोग र बाँकी २० प्रतिशतलाई वातावरणमैत्री तरिकाले विसर्जन गर्नेबारे विश्वमै प्रशिक्षण समेत दिने गरेको छ ।

फोहोर व्यवस्थापनबारे गरिएको अध्ययन भ्रमणमा इटालीको उक्त नपाले केही दशक अघि डम्पिङ साइटका रुपमा प्रयोग गरिएको जमिनलाई यतिबेला सुन्दर गल्फ क्लबका रुपमा विकास गरेको देखेर नेपाली टोली प्रभावित भएको भ्रमण टोलीमा सहभागी एक सदस्यले निर्माण सञ्चारलाई बताए ।

नेपाली टोलीले त्रेन्तिनो नपामा रहेको अन्तर्राष्ट्रिय स्तरको उद्धार केन्द्रको पनि भ्रमण गरेको थियो ।

विभिन्न प्रकोपजन्य विपत र जोखिमबाट बच्न अपनाइने प्राविधिक तथा सीपबारे आवश्यक छलफल भएको भ्रमण टोलीको दाबी छ ।

उक्त अवलोकन पछि विपत् जोखिम र न्यूनीकरणका दिशामा भविष्यमा नेपालले पनि इटालीबाट सहयोग लिन सक्ने नेपालीहरुको बुझाइ छ ।

भेटघाटकै क्रममा त्रेन्तिनोको १७ वटा नगरपालिकाको भुगोल हेर्ने भल्गारिना कम्युनिटी Vallagarina Community प्रतिनिधिसँग पनि भेट भएको थियो ।

भ्रमणमा बेरोजगारी समस्या समाधान, सामाजिक सुरक्षा, सामुदायिक शिक्षा, फोहोरमैला व्यवस्थापन जस्ता विषयमा उनीहरुसँग योजनागत सहयोग हुन सक्ने गरी छलफल भएको थियो ।

भ्रमणपूर्व नेपाली टोलीले आफ्नो नगरपालिका सम्बन्धी प्राथमिता सहितको कार्यक्रम लिएर गएको भए आवश्यक शीर्षकमा मूर्त सहयोगको आदान प्रदान समेत हुने अवस्था सिर्जना भएको भोयजका अर्यालले बताए ।

त्रेन्तिनो नपा प्रतिनिधिले मेलम्ची नगरपालिकाको कृषि कार्यक्रममा विज्ञ तथा प्राविधिक पठाएर पनि सहयोग गर्न सकिने ग्रिन सिग्नल दिएको छ ।

 

 

...

बुधबार, १३ असार, ०७५

 

प्रतिक्रिया

Related