सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य होला त पूरा ? यस्तो छ संकेत

‘विकास खर्चको अवस्था नाजुक, वर्षको अन्त्यमा बजेट खर्च गर्ने प्रचलन’
निर्माण सञ्चार, काठमाडौँ | आगामी आर्थिक वर्षका लागि सरकारले बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेकोे छ ।

सरकारले लिएको यो लक्ष्य पूरा होला त भन्ने आममानिसको चासोको विषय बनेको छ । तर, आगामी आर्थिक वर्षका लागि सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भने हासिल हुने संकेत देखिएको छ ।

राष्ट्र बैंकअनुसार चालू आर्थिक वर्षमा लगानीको वातावरणमा आएको सुधार, लोडसेडिङको अन्त्य, औद्योगिक उत्पादनमा देखिएको बढोत्तरी लगायतका कारणले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहज बनाउँछ ।

चालू आर्थिक वर्षका लागि भने सरकारले ७.२ प्रतिशतको लक्ष्य लिइएकोमा सो संख्यालाई संशोधान गरेर ६ प्रतिशत लक्ष्य हासिल गरिने बताएको थियो ।

राष्ट्र बैंक भन्छ, यस्ता छन् संकेत

राष्ट्र बैंकले भने अहिले देखिएका सूचकहरूबाट आर्थिक वृद्धि हासिल हुन सहज हुने र मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिलेकोे बताएको छ ।

चालू आर्थिक वर्षको १० महिनामा लोडसेडिङको अन्त्य भएपछि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेर ५८ प्रतिशत पुगेको राष्ट्र बैंकको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकले देखाउँछ ।

अघिल्लो आवमा औद्योगिक क्षेत्रको क्षमता ५४.२ प्रतिशत थियो ।

एक वर्षको अवधिमा ४ प्रतिशतले औद्योगिक क्षमता विस्तार हुनुले पनि सरकारको लक्ष्य पूरा गर्न सहज हुने नेपाल राष्ट्र बैंकको दाबी छ ।

यसैगरी, राष्ट्र बैंकले निर्माण, खानी तथा उत्खननका साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत योगदान दिएको जानकारी गराएको छ ।

राष्ट्र बैंकको भनाईअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको सुरुवातसँगै आएको अविरल वर्षा तथा डुबानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आए पनि जीडीपीमा करिब ६ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान लिएको छ ।

 के भन्छन्, अर्थविद् ?

अउँदो आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य हासिल गर्न के गनुपर्छ भन्ने विषयमा विभिन्न तर्क गर्छन्, अर्थविद्हरु ।

बजेट कार्यान्वयनमा देखिएको समस्याका कारण अहिले विकास खर्च न्यून छ ।

सोही असर आर्थिक वृद्धिमा पर्ने भएकाले पनि बजेट कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन्, अर्थविद्हरु ।

बजेटलाई पूर्णरूपले कार्यान्वयन गर्न सकिए सरकारको लक्ष्य सहज पूरा हुने अर्थविद् डा. चन्द्रमणि अधिकारीको भनाई छ ।

उनी भन्छन्, ‘बजेटले लिएको लक्ष्य पूरा गर्न निजी लगानी आवश्यक छ र त्यसतर्फ सरकारले ध्यान दिन सकेमा आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकारलाई समस्या हुँदैन ।’

यता अर्थविद् डा. शंकर शर्मा पनि बजेट कार्यान्वयन भएमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने दाबी गर्छन् ।

उनी भन्छन्, ‘सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई निरुत्साहित गर्न खोजेजस्तो देखिएका छ, यसो गरिए समस्या आउन सक्छ ।’

अर्थविद् डा. शर्माले सरकारीतन्त्रमा बजेट कार्यान्वयनमा समस्या देखिएको र सोहीकारणले विकास खर्च न्यून हुँदा त्यसको असर आर्थिक वृद्धिमा पर्न सक्ने बताए ।

‘उनले विकास खर्चको अवस्था नाजुक छ, उनले भने ‘ वर्षको अन्त्यमा आएर बजेट खर्च गर्ने प्रचलनले आर्थिक समृद्धिमा ह्रास आइरहेको छ, यसको अनत्य हुन सकेमा सरकारलाई आर्थिक वृद्धिको लक्ष्य भेटाउन सहज हुन्छ ।’

निजी लगानीलाई आकर्षित गर्न सकेमा सरकारलाई बजेट कार्यान्यवनमा धेरै सहज हुने बताउँछन्, अर्थविद् डा. शर्मा ।

...

बिहीबार, १४ असार, २०७५

प्रतिक्रिया

Related