बीपी राजमार्गमा १० टनसम्मका गाडी सञ्चालन नरोक्न सर्वोच्चको आदेश !

निर्माण सामग्री बोकेका गाडी समेत सञ्चालन हुने
निर्माण सञ्चार, काठमाडौँ | बीपी राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी चल्न पाउने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको सो आदेशपछि विपी राजमार्गमा निर्माण सामग्री बोकेका गाडीहरु समेत सञ्चालन हुने भएका छन् ।

असार १२ गते यातायात व्यवसायी कान्छामान बलले दायर गरेको रिटको सुनुवाइ गर्दै बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले सो राजमार्गमा १० टन र ३५ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन नरोक्न अन्तरिम आदेश दिएको हो ।

बिपी राजमार्गमा ढुवानी र ठूला यात्रुबाहक गाडी चल्न पाउनुपर्ने माग गर्दै गत मंगलबार कान्छामान बल समेतले जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रशासन कार्यालय सिन्धुली, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरवार काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

व्यसायी बलले दायर गरेको उक्त रिटको पक्षमा कानुन व्यवसायीहरु शम्भु थापा, टीकाराम भट्टराई र टेकेन्द्र बस्नेतले बहस गरेका थिए ।

अगामी असार २६ गते भने सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने विषयमा छलफलका दुबै पक्षलाई बोलाएको छ ।

...

बिहीबार, १४ असार, २०७५ 

प्रतिक्रिया

Related