असार–१५ः जोरपाटीमा हिलाम्मे सडकमा रोपाईं र कविता, सरकार र ‘ठेकेदार’को खुलोस् भित्री चेत !

कविहरु, ‘ठेकेदार’को घरमा पनि गएर गीत गाउने कि !
निर्माण सञ्चार, काठमाडौं । असार १५ लाई नेपालमा धान दिवसका रुपमा मनाइन्छ । सरकारका कतिपय मन्त्रीहरु ‘कृषि क्रान्ति’ गर्न दलबल सहित एक दिने रोपाई पर्व मनाउन खेतमा छिरेकै बेला जोरपाटीबासीले भने ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायी र ठेक्का दिएर वास्तै नगर्ने सरकार विरुद्ध हिलो सडकमा रोपाईं गरेर व्यङ्ग्य गरेका छन् ।

सडकमानै धानको बिऊ रोपाई गरौंला नेताज्यू !

रोपाई गरौंला

पाकेको धान नेताजीलाई अर्पण गरौंला ।

यी काव्यपंक्ति हुन् कवि पूर्णप्रसाद पन्तका । व्यङ्ग्य कविता लिएर सडकमा ओर्लिएका कविहरुले हिले सडकमा असार १५ मनाउने क्रममा जोरपाटी चोकमा भत्केको हिलो सडकमा उनले सुनाएको कविता हो यो ।

बौद्ध–जोरपाटी–दक्षिणढोका–थली–साँखु सडक खण्डको कान्तबिजोगबाट आहत बनेका स्थानीयबासीले सरकारलाई व्यङ्ग्य गर्दै असार १५ गते सडकको हिलोमा रोपाईं गरेर कवि गोष्ठी गरेका छन् ।

सडक स्तरोन्नति तथा मर्मत गर्न भन्दै ठेक्का दिएको सडक वर्षाैंदेखि हिलाम्मे र धुलाम्मे बन्दै आएको छ । हरेक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ बौद्ध जोरापटी साँखु सडक खण्ड ।

यसले धुलो र हिलोकै कारण बिरामीको संख्या बढिरहेको छ भने सडक दुर्घटना बढाइरहेको छ । सरकार भने आफूले दिएको ठेक्का बने नबनेबारे संवेदनशील नदेखिएको स्थानीयको गुनासो छ ।

यो सडक खण्ड लगभग दशकौंदेखि वर्षामा हिलो र हिउँदमा धुलो हुने सडक खण्डका नाउँमा चिनिन्छ ।

यस खण्डको ठेक्का लिएका निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका सकुन्तलाल हिराचनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणताका महिना दिनभित्र कालोपत्रे गर्छु भनेका थिए ।

विवाद नभएको सडक खण्डमा पनि काम नगरेर ‘ठेकेदार भनेका ठकदार नै हुनेरहेछन्’ भन्ने उखान चरितार्थ गरेको स्थानीय कविहरुको आरोप छ ।

स्थानीय कविहरुले ‘आफ्नो वर्षहरु हिलोमै बितेको’ भन्दै विरोध स्वरुप हिलोमा रोपाईं गरेरका हुन् ।

कविहरु, ‘ठेकेदार’को घरमा पनि गएर गाउने कि गीत !

चावहिल–जोरपाटी–साँखु सडक खण्डको कुरा गर्ने बित्तिकै कहिलै नबन्ने भत्केकुच्चेको सडकका रुपमा लिइने गरिन्छ ।

र, यहाँको बासिन्दाहरुलाई पनि ‘फोहोर, हिलो र धुलोमै बस्न बानी परेका’ रुपमा मानिसका रुपमा धेरैले आलोचना गर्ने गरेको सुन्निछ ।

किनकि, सचेत मानिसहरु बसकेका ठाउँमा विकास नगर्ने नेताहरुले चुनाव जित्दैनन्, जितेकाले विकास गर्छन्, कसैले नगरे स्थानीयहरु आफै जागेर काम नगर्नेहरुको कठालो समात्न पनि पछि पर्देनन् ।

बौद्धस्थित एक स्थानीय सम्झन्छन्, ‘बाबु, मलाई थाहा भएसम्म यो सडक यस्तै नै छ । ३० वर्ष अघि पनि यस्तै र अहिले पनि यस्तै । के गर्नु यहाँ मानिस बसेको भे पो !’

हिले रोपाईमा जम्मा भएका कविहरुको कविता सुनेर फर्कदै गरेका ती स्थानीयले नाम नबताउने सर्तमा यस्तो प्रतिक्रिया दिए ।

उनले कविहरुलाई पनि छाडेनन् । भने, ‘यी कविहरु भनाउँदा कुन ड्याङका मुला हुन् र ! यी कविहरु पनि पार्टी पार्टीका छन् जस्तो लाग्यो । आफू निकटको सरकार हुँदा यिनीहरु पनि त यही थिए नि ! त्यो बेला किन हिलोमा कविता रोप्न आएनन् ? जो आए नि कानै ... !’

उनले कविहरुलाई सुझाव दिएका छन्, ‘ठेकेदारको कान फुट्ने गरी कविता सुनाऊ !’

ती स्थानीय शेर्पाले भनेजस्तै यहाँ बस्ने मानिस साँच्चै नै यस्तै हुन् त ?

यहाँका नेताहरु र यो सडकको ठेक्का लिने ठेकेदार सबै नै उस्तै रहेको स्थानीयको आक्रोश छ । तर, पञ्चायतको अन्त्यदेखि नै लगभग हिलो र धुलोमय बन्दै आएको यो सडक खण्ड बिरलै ५–७ वर्ष मात्रै कालोपत्रे भएको थियो ।

बाँकी सबै समय ‘थर्ड क्लास’को दर्जामा दर्ज भएर बसेको छ ।

स्मरणरहोस्, बौद्धदेखि जोरपाटी सुन्दरीजलसम्म र यता जोरपाटीदेखि साँखुसम्म पनि ठूलै ओहोदाका मानिसहरु बस्ने गर्छन् ।

नेपालका ‘ठेकेदार’ (निर्माण व्यवसायी) हरुको महासंघका अध्यक्षको घर पनि जोरपाटी चोकैमा रहेको छ । होटेल हायातदेखि बौद्धनाथ स्तुपासम्म विश्वचर्चित सम्पदा पनि यही क्षेत्रमा पर्छ ।

तर, यहाँका नेतादेखि सर्वसाधारण आफ्नो क्षेत्रका लागि विकास गर्न कुरा जति गर्छन् काम गर्न त्यति नै इमानदार प्रयत्न गर्छन् भन्नेमा आशंका पुष्टि गर्ने सडक नै काफी छ ।

तर, आज असारको १५ गतेलाई स्थानीयबासीले भने सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले जोरपाटी ओरालोमा व्यङग्य सडक कविता वाचन कार्यक्रम गरेको बताए ।

कार्यक्रम अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठान, घुम्ती कवि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान लगायतको संयुक्त आयोजना भएको थियो ।

कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष बेदमणि घिमिरेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

चेतावनी– जनताको धैर्यको बाँध नफुटोस् !

कार्यक्रममा साहित्यकार पूर्णप्रसाद पन्त, ओमप्रसाद कोइराला, डा.सुबास प्याकुरेल, बाजुराम पौडेल लगायत कविले आ–आफ्ना कविता र गीत मार्फत् हिलाम्मे सडक माथि व्यंग्य गरेका थिए ।

उनीहरुले कविता र गीत मार्फत् जनप्रतिनिधि र प्रशासक विरुद्ध कडा आक्रोश पोखेका थिए ।

सामाजिक अभियन्ता कुमारराज सुवेदीले चाबहिल, बौद्ध, जोरपाटी, साँखु सुन्दरीजल सडकको अति दूररावस्थाको विषयमा नागरिक दबाब दिइरहेको तर सरोकारवला निकायले कानमा तेल हालेर बसेको आरोप लगाए । हिले कविता गोष्ठीमा जुटेका ‘सडक पीडित’हरुले अब जनताको धैर्यको बाँध फुट्नै लागेको भन्दै चाँडो सडक निर्माण गर्न सन्देश दिएका थिए ।

ठेकेदार र सरकार दुवै उस्तै, कस्लाई दिने दोष ! कस्ले गर्छ काम ?

स्मरणरहोस्, लामो समय पछि सरकारले समयमै सडक नबनेबारे निर्माण व्यवसायी विरुद्ध ‘एक्सन’ सुरु गरेको थियो । तर, सरकार आफ्नै तहबाट पनि ठेक्का सिन्डिकेटमा चुकेको हुनाले उसको कारबाही आवधिक मात्र रहन गएको छ ।

उपत्यकाभित्र जिम्मा लिएका सडकहरु निर्माण व्यवसायीले नबनाएपछि यतिबेला सरकारले यी सडकका लागि १ वर्ष म्याद थपेको छ ।

नागढुंगा–कलंकीदेखि बौद्ध, जोरपाटी साँखु सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरुलाई अब एक वर्ष हाई सन्चो भएझै देखिन्छ ।

मुद्दा, ढल, बिजुलीको पोल, खानेपानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीहरुले नै यी ठेक्का बनाउन एक वर्षको म्याद थपका लागि सरकारलाई दबाब दिएका थिए ।

 

पढौं यो पनि 

 

वर्षौं नबनेका ठेक्काहरुको थपियो म्यादः ठेक्का ओगट्तै आएका कन्ट्र्याक्टरलाई यो उन्मुक्ति हो कि मौका ?

 

...

शुक्रबार, १५ असार, ०७५

 

प्रतिक्रिया

Related