धान दिवसः रक्षा र कृषिमन्त्रीदेखि मुख्य मन्त्रीसम्मले यसरी रोपे धान, कस्तो फल्ला त यो वर्ष ?

काँग्रेस सभापति देउवा पनि धान रोपाईंमा, युवा संघ र वाइसिएलको धान रोपाईंमा ३ दिने श्रमदान अभियान
निर्माण सञ्चार, काठमाडौँ | यस पटकको १५ औं धान दिवस विगत भन्दा फरक रंगको देखियो ।

स्थानीय प्रतिनिधिदेखि नै आ–आफ्नै ठाउँमा धान रोपाईंमा जुटेको समाचार भन्दा पनि राज्यको उच्च ओहोदामा रहेका उपप्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरु पनि हिलोमा ओर्लिएर धान रोपाईं गरेका समाचारले नेपाल कृषि प्रधान मुलुक नै रहेछ कि जस्तो स्मरण गराइदिएको छ ।

कृषि प्रधान देश नेपालमा विगत १५ वर्षदेखि मात्रै सरकारी तहबाट धान दिवस मनाउन सुरु गरिएको हो ।

जबकि, ६५ प्रतिशत भन्दा बढी मानिस कृषि पेसामा संलग्न भएको सरकारी डाटाले बताइरहँदा विगत २५ वर्षको अन्तरालमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान आधा भन्दा कमले घटेको छ ।

कुल गार्हस्थ उत्पानमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेका छ भने त्यसमा पनि धानको मात्रै योगदान २० प्रतिशत रहेको सरकारी तथ्याङ्ले देखाएको छ ।

मुलुकभर यो वर्ष धानको उत्पादन ५२ लाख मेट्रिक टन रहेको छ, जुन गत वर्षको तुलनामा ४।१ प्रतिशतले उत्पादकत्व वृद्धि भएको हो ।

वृद्धि अनुपात हेर्दा ३।५ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । विश्वभर करिब १६ करोड हेक्टरमा ७४ करोड मेट्रिक टन धान उत्पादन हुने कृषि अनुसन्धानले देखाएको छ ।

नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्ला दिनमा कृषिले धान्न नसकेकै कारण मुलुकको ठूलो युवाशक्ति विदेशिने क्रम बढेको हो ।

सरकारले कृषिमा पर्याप्त ‘सब्सिडी’ दिने, कृषकको आर्थिक जीवन र बजारको ग्यारेन्टी गरिदिने र चाहिएको बेला कृषि बीऊ मल र औषधोपचार पनि नदिँदा नेपालको कृषिले ४ जनाको परिवार रहेको कृषकको पनि जीवनस्तर माथि नउठेको अवस्था छ ।

अर्काेतिर पछिल्ला दिनमा खेतीयोग्य जमिनको करिब ५० प्रतिशत जमिन बाँझै रहेको छ ।

यो अवस्था हेर्दा असारको १५ गते मात्र एक दिने रोपाईं गरेर सामाजिक सञ्जालको पाना रंग्याएर मात्रै नेपालको कृषिमा क्रान्ति हुने देखिदैन ।

सरकारले कृषिमा आधुनिकीकरण सहित अघि बढ्ने बताइरहे पनि कार्यान्वयन पक्ष फितलो हुँदा लक्षित वर्ग लाभान्वित बन्न सकेको छैन ।

ओली सरकारले नीति तथा कार्यक्रम मार्फत् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ल्याएको छ ।

विडम्बना के छ भने, कृषिका लागि बैंकहरु मैत्री छैनन्, राष्ट्र बैंकले कृषिका लागि तोकेको न्यून ब्याजदर रकम समेत पहुँचवाला नेताहरुले लिएर फरक शीर्षकमा रकम खर्चिने गरेको पाइएको छ ।

वार्षिक २५ अर्बको चामाल आयात गर्ने मुलुक कसरी कृषिप्रधान ?

तराई क्षेत्र नेपालको अन्नभण्डार हो ।

धान उत्पादनमा ७० प्रतिशत हिस्सा तराई क्षेत्रले ओगट्ने गर्छ ।

विश्वमै सबैभन्दा उच्च स्थानमा पनि धान उत्पादन ९जुम्लाको छम्चौर० हुने मुलुक नेपालले यतिबेला वार्षिक २५ अर्ब बराबरको चामाल आयात गरिरहेको छ भारतबाट ।

नेपालमा समुद्र सतहबाट ६० मिटर ९तराई० देखि ३ हजार ५० मिटर उचाइसम्म धान खेती हुन्छ । कुल ११८ जातका धान खेती हुने गरेकोमा हाइब्रिड जात भने नेपालमा अहिलेसम्म तयार गर्न सकेको छैन ।

कृषि अनुसन्धान परिषद् खुमलटारले बेलाबखत हाइब्रिड जातिको धानको बिऊ तयार गरेको बताए पनि उत्पादकत्व बढाउने गरी प्रभावमा देखिएको छैन ।

 आफ्नै निर्वाचन क्षेत्रमा उपप्रधानमन्त्री पोखरेलको असार १५

यही क्रममा आफ्नो निर्वाचन क्षेत्रमा धान रोपाईं गर्न पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमिन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिएका छन् ।

युवासंघ नेपाल र योङ कम्युनिस्ट लिगको आयोजनामा सुरु भएको तीनदिने श्रमदानमा युवा कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले खेतीयोग्य जमीनमा खेती गरेर मुलुकको कृषि उत्पादनलाई वृद्धि गर्ने र कृषियोग्य जमिनमा प्लटिङ गरेर बस्ती बसाउन नपाइने नीति ल्याउनेबारे बताएका थिए ।

कृषिमन्त्री खनालले पनि रोपे धान १५ औँ राष्ट्रिय धानदिवस

कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव)ले कपिलवस्तुको तिलौराकोटमा मनाएका छन् । शुक्रबार बिहानै रोपाईँमा सहभागी भएका मन्त्री खनालले स्थानीय कृषकसँगै धान रोपेर धान दिवस मानाएका हुन् ।

प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट दरवारको पूर्वी गेटतर्फ रोपाइँ महोत्सव समेत आयोजना गरिएको थियो । मन्त्री खनाल सोही स्थानमा आफ्ना सहयोगीहरुसहित हातमा धानका बेर्ना लिएर खेतमा छिरेका थिए ।

गृहमन्त्रीदेखि मुख्यमन्त्री पोखरेलसम्मको धान रोपाईं

त्यस्तै, प्रदेश नम्बर ५ स्थित कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयले आयोजना गरेको धान रोपाईं कार्यक्रममा बोल्दै मुख्य मन्त्री शंकर पोखरेलले नेपाललाई कृषिमा आत्मनिर्भर गराउने दिशामा अब सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापा बादलले पनि ‘तीन दिन जनश्रममा युवा’ कार्यक्रम अन्तर्गत काठमाडौंको टोखा नगरपालिका(१ मा आयोजित रोपाईं कार्यक्रममा चाँदे बोकेरै बाउसे गर्न भ्याएका थिए ।

कार्यक्रममा वाइसीएल अध्यक्ष दीपशीखा र युवा संघ नेपालका उपाध्यक्ष बिरु तामाङ लगायतका युवाहरु उपस्थित थिए ।

 

 देउवा रमाए भक्तपुरमा

उपत्यकाका तिनै सहरमा आज धान दिवसमा नेताहरु जुटे ।

काठमाडौंको बूढानिलकण्ठ, ललितपुरको खुमलटार र भक्तपुरको खरिपाटीमा धान दिवस विशेष कार्यक्रमहरु भए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको खरिपाटीमा आयोजित रोपाईं कार्यक्रममा सहभागी भए । काँग्रेस सभापति देउवा सहभागी रोपाईंमा युवायुवतीहरु हिलो खेलेर मस्ती गरिरहेका थिए ।

धान दिवसमा खुमलटारमा पनि

कृषि उत्सव ललितपुरको खुमलटारबाट पनि धान दिवसको अवसरमा रोपाईं महोत्सव भव्यताका साथ मनाइएको छ ।

कृषि अनुसन्धान परिषद् समेत रहेको खुमलटारले हरेक वर्ष धान दिवस भव्यताका साथ मनाउँदै आएको छ ।

 

 

...

शुक्रबार, १५ असार, २०७५ 

प्रतिक्रिया

Related