इन्जिनियर्स एसोसिएसनको विधान संशोधनः अध्यक्ष बन्न अब १५ वर्षे प्रावधान, कार्यसमितिको आयु ३ वर्ष

संशोधित विधानमा एड्भाइजरी काउन्सिलको व्यवस्था- पूर्व सरकारी अधिकारीदेखि निर्माण व्यवसायी महासंघका प्रतिनिधिसम्म
निर्माण सञ्चार, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) को शनिबार बसेको विशेष साधारण सभाले मौजुदा विधान ०५१ को चौथोपटक संशोधन गरेको छ ।

निर्वाचित कार्यसमितिको आयु ३ वर्ष बनाउँदै उक्त सभाले एसोसिएसनको अध्यक्ष बन्न कार्यसमितिमा कम्तीमा १५ वर्ष सदस्यका रुपमा रहेनु पर्ने नयाँ प्रावधान राखेको छ ।

संशोधनले ४९ सदस्यीय ‘एड्भाइजरी काउन्सिल’ रहने समेतको व्यवस्था गरेको छ ।

निवर्तमान अध्यक्ष प्रमुख रहने गरी इन्जिनियरिङ क्षेत्रमै लामो समय व्यतीत गर्दै नेपाल सरकारको विशिष्ठ श्रेणीमा रही अतुलनीय योगदान गरेका विभिन्न व्यक्तित्वहरु उक्त सल्लाहकार समितिमा रहने छन् ।

राज्य संघीय संरचनामा गएसँगै विभिन्न पेशागत संघ–संगठनहरुले संघीय संरचनालाई अवलम्बन गरेसँगै एसोसिएसनले पनि आफूलाई उक्त बाटोमा हिँडाउने निर्णय लिएको एनइएले बतायो ।

संघीय संरचनामा मुलुक गएसँगै स्थानीय, प्रदेश र संघीय (केन्द्रीय सरकार) को ब्युरोक्रेसीमा समेत प्राविधिक जनशक्तिको अनिवार्य संलग्नता (टेक्नोक्रेसी) बारे सुरुदेखि नै आवाजको नेतृत्व गर्दै आएको एसोसिएसनले आफ्नो विधानलाई समेत भावी दिनमा मेल खाने किसिमले संशोधन गरेको पदाधिकारीहरु बताउँछन् ।

निर्माण सञ्चारसँग बोल्दै महासचिव उमेश थानीले भने, ‘इन्जिनियरहरुलाई ‘कन्स्ट्रक्सन ब्रेन’ का रुपमा राज्यले सदुपयोग गर्न चाहन्छ भने हामी उसलाई नयाँ ‘आउटपुट’ दिन चाहन्छौं ।

त्यसैले हामीभित्रै पनि समय अनुसारको प्राविधिक ज्ञान, नयाँ नयाँ टेक्नोलोजीको अवलम्बन, योग्यता र क्षमता समयमै विकास हुनु पर्छ ताकि त्यसले गर्दा सम्पूर्ण भौतिक पूर्वाधारको गुणस्तर पनि निर्धारण गर्न मद्दत पुग्छ । त्यसैले हामीले विधानबाटै नयाँपन दिन खोजेका हौं ।’

महासचिव थानीले इन्जिनियरहरुको छाता संगठन एनइएलाई समय सापेक्ष ‘अपटु डेट’ राख्न नयाँ थालनी गरेको बताए । उनले यस पटकको विधान संशोधनलाई ‘ऐतिहासिक’ रहेको दाबी गरेका छन् ।

विधान संशोधन समितिका संयोजक समेत रेहका वरिष्ठ इन्जिनियर होमनाथ पोखरेलले संशोधित विधानले पदाधिकारीको कार्यकाल ३ वर्ष बनाएको जानकारी दिएका हुन् ।

सल्लाहकार परिषद्को व्यवस्था गरेको उक्त संशोधित विधानले उक्त परिषद्मा विश्वविद्यालयहरुमा डिनका रुपमा भूमिका खेलेका व्यक्तिहरुबाट ४ जना, विभिन्न इन्जिनियरिङ कलेजहरुबाट २ जना, कन्सल्ट्यान्टका तर्फबाट ४ जना, स्टिल र सिभिल इन्डस्ट्रिजबाट २ जना राख्ने व्यवस्था गरेको छ भने परिषद्मा स्केफको अध्यक्ष पदेन सदस्यका रुपमा रहने छन् भने नेपाल निर्माण व्यवसायी महासंघबाट ४ जना उच्च तहका अधिकारीहरु रहने प्रावधान राखिएको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका पदाधिकारी पनि उक्त परिषद्का लागि पदेन सदस्य रहन पाउने व्यवस्था संशोधित विधानमा थपिएको छ ।

अन्य सदस्य विधानले तोकेबमोजिम हुने संयोजक पोखरेलले बताए ।

उनका अनुसार एनइएको पदाधिकारीमा आउनका लागि पहिलो पटक यस्तो प्रावधान राखिएको हो ताकि व्यक्तिको विशेष कार्यानुभव र समयावधिले एनइएलाई पनि अझै उचाइमा लैजान सकियोस् ।

२२ हजार इन्जिनियरको पेसागत संगठन रहेको एसोसिएसन अब केन्द्रीयस्तरबाट प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने भएको छ । संशोधित विधानले एनइएलाई समय अनुसार शक्तिशाली र सहज संरचनामा लगेको उनको दाबी छ ।

उनले भने, ‘इन्जिनियरिङ क्षेत्रमा रहेर विशेष कार्यानुभव बटुलेका विशिष्ट व्यक्तिहरु नै काउन्सिलमा आउने हुँदा आगामी दिनमा एनइएको कार्यदिशाका बारेमा सल्लाह, सुझाव र कार्यनीतिका बारेमा समेत यस काउन्सिलले महत्त्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं ।’

 

 

 

...

आइतबार, १७ असार, ०७५

 

प्रतिक्रिया

Related