ऋण प्रवाह गर्दा सरकारी बैंककै लापरबाहीः ९ अर्ब कर्जा अलपत्र

‘खराब नियत राखेर ऋण प्रवाह गरेका कारण समस्या’
निर्माण सञ्चार, काठमाडौँ | कमसल र नाम मात्रको धितोमा सरकारी लगानीका बैंकले दिएको ऋण उठाउनै नसकिने अवस्थामा पुगेको छ ।

बैंकहरूले समेत ऋण उठाउन चासो दिन छाडेका छन् ।

२०४६ को परिवर्तनपछि राजनीतिक पहुँचका आधारमा प्रवाह गरिएका धेरैजसो कर्जा अहिले बैंकको अभिलेखमा मात्र छन्।

कर्जा उठाइ दिन बैंकले ऋण असुली न्यायाधिकरणमा दर्ता गराएका मुद्दा समेत प्रभावकारी रूपमा अघि बढ्न नसकेको देखिन्छ।

सरकारी बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रमभन्दा अघि दिएको ऋण उठ्न कठिनाइ भइरहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुनुअघि सरकारी बैंकको ५० प्रतिशतभन्दा धेरै खराब कर्जा थियो । सरकारी बैंकको कर्जा क्षेत्रमा काम गर्ने व्यक्तिले खराब नियत राखेर ऋण प्रवाह गर्ने गरेका थिए ।

वित्तीय क्षेत्र सुधार कार्यक्रम अघि कर्जा प्रवाह गर्ने व्यक्तिलाई नियन्त्रण गर्ने निकाय थिएन ।’ सरकारी बैंक खासगरी नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा नियन्त्रणबाहिर गएपछि वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिएको थियो ।

विश्व बैंकको आर्थिक सहयोगमा सरकारी लगानीका बैंकको सुधार र राष्ट्र बैंकको क्षमता अभिवृद्धि कार्यक्रमको लक्ष्य थियो । २०५६ सालबाट थालिएको यो कार्यक्रमका लागि सात अर्ब रुपियाँँ ऋण लिइएको थियो ।

वित्तीय क्षेत्र सुधार कार्यक्रम थाल्नु अघि नेपाल बैंकको खराब कर्जा ५५ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकको हस्तक्षेपपछि व्यवस्थापन आइरिस कम्पनीको जिम्मा लगाइएको थियो ।

विदेशी व्यवस्थापनले खराब कर्जाको प्रतिशत घटाए पनि कतिपय कर्जा उठाउन सकेन । राष्ट्रिय वाणिज्य बैंकको अवस्था पनि नेपाल बैंकभन्दा फरक थिएन ।

वाणिज्य बैंकको खराब कर्जा त झन् ५६ प्रतिशतको हाराहारीमा थियो । खराब कर्जाका कारण यी दुई बैंक थलापर्ने अवस्थामा थिए ।

कुन–कुन बैंक ऋण उठाउन सुस्त ?

हाल ऋण असुली न्यायाधिकरणमा मुद्दा परेकामध्ये सरकारी स्वामित्वका बैंकको पनि झन्डै साढे नौ अर्ब ऋण असुल हुन नसकेको देखिन्छ ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक ऋण उठाउने मामिलामा सुस्त देखिएको ऋण असुली न्यायाधिकरण (डीआरटी)ले जनाएको छ ।

ती बैंकको मात्रै ऋण फैसला भएर असुली हुन नसकेको नौ अर्ब ४० करोड ८७ लाख रुपियाँँ ऋण बाँकी छ ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक ऋण उठाउने मामिलामा सुस्त ।

सरकारी बैंकले धितो पहिचान नगरी ऋण प्रवाह गर्दा डीआरटीले फैसला गरे पनि कर्जा असुली गर्न कठिन ।

खराब नियत राखेर ऋण प्रवाह गरेका कारण समस्या ।

० ६६ प्रतिशत रकम सरकारी बैंककै !

डीआरटीले ‘क’ वर्गको वाणिज्य बैंकको १४ अर्ब २९ करोड एक लाख ४४ हजार रुपियाँँ बराबरको ऋण असुली गर्नुपर्ने गरी फैसला गरेको थियो ।

तर, वाणिज्य बैंकले ऋण असुल्न सकेका छैनन् । कुल असुल गर्नुपर्ने रकमको ६६ प्रतिशत रकम सरकारी बैंककै नाममा छ ।

सरकारी बैंकले धितो पहिचान नगरी ऋण प्रवाह गर्दा डीआरटीले फैसला गरे पनि कर्जा असुली गर्न कठिन भएको डीआरटीका नायव सुब्बा प्रकाश पराजुली बताउँछन् ।

‘सरकारी बैंकले कर्जा वितरणको समयमा राखेको धितोको पहिचान गर्न सकिएको छैन ।

धितो पहिचान नगरी ऋण उठाउन सम्भव छैन’, पराजुलीले भने, ‘यस्तो अवस्थामा अधिकतम कर्जा धितो पहिचान नभएका छन् ।’

 सबैभन्दा बढी वाणिज्य बैंक !

सरकारी बैंकमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको तीन अर्ब ९३ करोड ५६ लाख ७७ हजार रुपियाँँ बराबरको ऋण उठाउन डीआटीमा मुद्दा दायर गरिएको छ ।

कृषि विकास बैंकको तीन अर्ब ८८ करोड ९२ लाख १४ हजार रुपियाँँ र नेपाल बैंकको एक अर्ब ५८ करोड ३८ लाख ९ हजार रुपियाँँ बराबरका मद्दा दायर छन् ।

बैंक तथा वित्तीय संस्थाले ऋणीबाट ऋण उठाउन नसकेपछि डीआटीमा ऋण उठाउनका लागि मुद्दा दायर गर्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले ऋणको भाका नागेको पाँच वर्षभित्रमा डीआरटीमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । उनीले निवेदन दिँदा दाबी गरेको रकमको ०.२५ प्रतिशत हुन आउने रकम ऋण असुली शुल्कबापत अग्रिम डीआरटीमा बुझाउनु पर्नेछ ।

ऋण असुली भइसकेपछि असुली भएको रकमको एक प्रतिशत डीआरटीमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तिर्नुपर्नेछ ।

डीआरटीले ऋण उठान ऋणीको धितोमा राखिएको वा नराखिएको अन्य चल वा अचल सम्पत्ति कब्जा वा लिलाम बिक्री गर्न सक्नेछ । साथै जमानत दिने व्यक्तिको चल वा अचल सम्पत्ति कब्जा वा लिलाम बिक्री गरी डीआरटीले ऋण उठाउन समेत सक्षम छ ।

० ऋण उठाउन बैंको छैन चासो ऋण उठाउनका सरकारी बैंकले पहलकारी भूमिका नखेल्दा साढे नौ अर्ब रुपियाँँ बराबरको रकम उठ्न सकेको छैन ।

कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेल न्यायाधिकरणमा मूद्दा दायर गर्ने वित्तीकै ऋण उठी नहाल्ने तर्क दिन्छन् ।

‘ऋण उठाउनका लागि न्यायाधिकरणमा मुद्दा दायर भएको छ, त्यसका लागि आश्यक समय लाग्छ’, पौडेलले भने, ‘गाउँ/सहरका पौने दुई लाख ऋणी छन्, ऋणीमध्ये दुई/चार जनाले ऋण नतिरेका हुन पनि सक्छन् ।’

 निजी बैंकको कति ?

१८ वटा निजी बैंकको भने चार अर्ब ८८ करोड १४ लाख ४४ हजार रुपियाँँ बराबरको ऋण उठाउनका डीआरटीमा मुद्दा दायर गरेका छन् ।

निजी बैंकको सबैभन्दा धेरै ऋण अफ काठमाडौंको छ । बैंकले ९४ करोड ३० लाख ६४ हजार रुपियाँँ बराबरको ऋण असुली गर्नका लागि डीआरटीमा मुद्दा दायर गरेको छ ।

एनआईसी एसिया बैंकको एक करोड २३ लाख ४५ हजार रुपियाँँ, एनसीसी बैंक ६० करोड ९६ लाख २९ हजार रुपियाँँ र प्रभु बैंकको २६ करोड ९१ लाख ३९ हजार रुपियाँँ ऋण उठ्न बाँकी छ।

कुमारी ६ करोड ६७ लाख ९१ हजार रुपियाँँ, ग्लोबल आईएमी २६ लाख ६६ हजार रुपियाँँ, नबिल ३७ करोड ३५ लाख ६६ हजार रुपियाँँ, नेपाल इन्भेस्टमेन्ट १८ करोड ८ लाख ५२ हजार रुपियाँँ र एसबीआई बैंकको ३२ करोड ९ लाख २७ हजार रुपियाँँ ऋण उठाउन डीआरटीमा मुद्दा दायर गरिएको छ ।

यसैगरी नेपाल क्रेडिट एन्ड कमर्स २२ करोड १७ लाख ६२ हजार रुपियाँँ, नेपाल बंगलादेश ८३ करोड ७३ लाख ५२ हजार रुपियाँँ, लक्ष्मी ४३ लाख ८८ हजार रुपियाँँ, सन्राइज १९ करोड ४ लाख १५ हजार र सिटिजन्स् बैंकको १ करोड ६ लाख ४१ हजार रुपियाँँ असुलीका लागि मुद्दा दायर भएको छ ।

त्यस्तै, सिभिल १ करोड १५ लाख ८० हजार रुपियाँँ, स्टान्डर्ड चाटर्ड ८२ लाख ५० हजार रुपियाँँ र हिमालयन बैंकको ८३ करोड १० लाख ७७ हजार रुपियाँँ ऋण उठाउनका लागि डीआरटीमा मुद्दा दिइएको छ ।

यस्तै, विकास बैंकको ६३ करोड ५९ लाख २८ हजार रुपियाँँ र फाइनान्स कम्पनीको ५० करोड ५४ लाख २० हजार रुपियाँँ ऋण उठ्न बाँकी छ ।

आजको अन्नपूर्णपोष्टबाट

...

मंगलबार १९, असार ०७५ 

प्रतिक्रिया

Related