आउने भयो पारमाणविक ऐन

खानी उत्खननको बाटो खुल्दै, ‘४ वर्षभित्र उत्खननको सम्भावना’– विज्ञ
निर्माण सञ्चार, काठमाडौँ । सरकारले पारमाणविक पदार्थ तथा प्रविधिको नियमन तथा संरक्षण सम्बन्धी ऐन ल्याउने भएको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तयार गरेको ऐनको मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेको छ । अबको केहीदिनमा यो ऐनको मस्यौदा विधेयकका रुपमा मन्त्रिपरिषदमा पुग्ने छ र ऐन सार्वजनिक हुनेछ ।

यो ऐन आएपछि नेपालमा पारमाणविक पदार्थको खोज, उत्खनन् र प्रयोगको बाटो खुला हुनेछ । अहिलेसम्म नेपालमा परमाणविक पदार्थ र प्रविधिको सुरक्षा र नियमन गर्ने कुनै विशेष कानुन बनेको थिएन ।

यो ऐन संसदले पारित गरेपछि नेपालमा रहेको अनुमान गरिएका युरेनियम खानीको उत्खनन् गर्ने कामको लागि बाटो खुल्नेछ ।

विज्ञान मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले यो ऐन आएपछि नेपालले परमाणविक पदार्थको नियमन र संरक्षणका लागि आफ्ना कार्यक्रम र योजनाहरु बनाउन सक्ने बताए ।

त्यसअनुसार देशका विभिन्न भागमा रहेका युरेनियम खानीमा हुने अनुसन्धान पनि नियमको दायरामा आउनेछ । अहिले विभिन्न युरेनियम खानीहरुमा अनुसन्धानका नाममा स्थानीय क्षेत्रबाट माटो खनेर लैजाने विकृति मौलाएको छ ।

नेपालमा पारमाणविक ऐन नबन्नाले गर्दा खानीहरुको विस्तृत अध्ययनलगायत खानी उत्खनन् जस्ता काम अघि बढ्न सकेको छैन ।

युरेनियम भएको क्षेत्रहरुमा मुस्ताङको लोमान्थाङ, मकवानपुर, बैतडी र बझाङमा युरेनियम भएको भूगर्भविभागले पत्ता लागाएको छ । २०७०/७१ को अन्वेषण अनुसार मोस्ताङको लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रबाट व्यवसायिकरुपमा युरेनियम उत्खननको समभावना रहेको छ ।

उक्त स्थानमा युरेनियम पनि धेरै रहेको र गुणस्तरीय पनि रहेको ठहर छ । युरेनियमलाई इन्धनको रुपमा र परमाणु हतियार निर्माणमा उपयोग गरिन्छ ।

४ वर्षभित्र उत्खननको सम्भावना

पारमाणविक पदार्थ ऐन आएको ४ वर्षभित्र उत्खननको सम्भावना रहेको विज्ञहरुको ठहर रहेको छ । खास गरी मुस्ताङको युरोनियम खानीको सुरक्षा नेपालका लागि निकै नै चुनौतीपूर्ण बन्न सक्छ ।

नेपालले अन्तरराष्ट्रिय परमाणु सम्झौताहरुमा समेत ध्यान दिनुपर्ने स्थिति आउन सक्ने विज्ञहरु बताउँछन् ।

तथापि युरेनियम उत्खनन भयो र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकियो भने त्यसबाट नेपाललाई ठूलो फाइदा हुन सक्छ ।

...

बिहीबार २१, असार ०७५

प्रतिक्रिया

Related