थपिए भन्सार र राजस्व कार्यालयः प्रशासनमा व्यापक हेरफेर

साउनबाट नयाँ संरचना अनुसार सेवाको थालनी
निर्माण सञ्चार, काठमाडौँ । सरकारले कर तथा राजस्व प्रशासनमा हेरफेर गर्ने नीतिअनुरुप भन्सार र राजस्व कार्यालयमा थप गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले अर्थमन्त्रालयको नयाँ प्रशासनिक संरचनालाई स्वीकृत गरेपछि आन्तरिक राजस्व कार्यालय थपिएका हुन् ।

काठमाडौं उपत्यकामा रहेका १३ वटा करदाता सेवा कार्यालयका आन्तरिक राजस्व कार्यालयमा रुपान्तरण हुने भएका छन् ।

कार्यालयमा व्यापक हेरफेर

काठमाडौंका तीनवटा आन्तरिक राजस्व कार्यालय अब मध्यमस्तरीय करदाता कार्यालयमा रुपान्तरण हुने भएका छन् । ठूला करदाता कार्यालयलाई यथावत राखिएको छ ।

मझौलास्तरका करदाताहरुका लागि नयाँ संरचनाअनुसार अब सेवा प्रदान गरिने राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

सरकारले आगामी वर्षमा सरकारले चालु वर्षको भन्दा झण्डै ३५ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य लिएको छ ।

उक्त लक्ष्यमा पुग्ने योजना अनुरुप कर प्रशासनको संरचनाहरु परिवर्तन गरिएको हो । यसैगरी अब ५ वटा छोटी भन्सार कार्यालयहरुलाई अब भन्सार कार्यालयमा परिणत गरिने भएको छ ।

झापाको भद्रपुर छोटी भन्सारलाई प्रमुख भन्सार कार्यालयमा परिणत गरिएको छ । त्यसैगरी सिराहको ठाडी, रुपन्देहीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति छोटी भन्सार पनि अब मुख्य भन्सार कार्यालयमा परिणत भएका छन् ।

नेपालमा अब २८ वटा मुख्य भन्सार र १३८ वटा छोटी भन्सार कार्यालयहरु रहनेछन् । कर संयन्त्रलाई सबल, सुदृढ र प्रभावकारी बनाउने योजनाका साथ सरकारले कर कार्यालयहरुमा दरबन्दी पनि हेरफेर गरेको छ ।

यसअनुसार अब बन्ने मझौला करदाताका कार्यालयमा पनि सहसचिवस्तरकै नेतृत्व राखिनेछ । अब वीरगञ्ज भन्सार र एकीकृत चेकपोष्ट (आइसिपी)लाई हेर्ने गरी सहसचिव नै वीरगञ्ज जाने भएका छन् ।

आइसिपीसहित सुख्खा बन्दरगाहलाई पनि वीरगञ्ज भन्सारमै गाभ्ने गरी नयाँ संरचना तयार गरिएको छ । वीरगञ्ज नेपालको मुख्य भन्सार केन्द्र भएकोले यहाँबाट संकलन हुने भन्सारबाट राजस्वमा थप वृद्धि गर्न र त्यहाँको सेवा प्रवाहमा सुधार गर्न त्यहाँ सहसचिव स्तरकै नेतृत्व पठाउन लागिएको हो ।

...

बिहीबार २१, असार ०७५

प्रतिक्रिया

Related