वाइवाइको प्रतिस्पर्धीको रुपमा ‘क्वालिटी’ र ‘मगमग’ चाउचाउ आउँदै

‘मगमग’ र ‘क्वालिटी’ मा सवा दुई अर्ब लगानी
निर्माण सञ्चार, काठमाडौँ । वाइवाइ चाउचाउमा केही समयदेखि अखाद्य पदार्थको प्रयोग भएको कुरा बाहिर अाएकाे थियाे । 

यसै समयको छेको पारेर नेपालमा नेपालको नम्बर १ ब्राण्ड वाइवाइसँग प्रतिस्पर्धा गर्न दुईवटा चाउचाउ उद्योग सञ्चालन सुरु भएका छन् । चौधरी समूहले विराटनगरलाईनै लक्षित गरेर वाइवाइको प्लान्ट लगाएपछि वाइवाइलाई काउन्टर दिन दुईवटा औद्योगिक समूहले चाउचाउ उद्योग स्थापना गरेका छन् ।

विगत तीन दशकदेखि फाष्ट मुभिङ कन्जुमर गुड्स(एफएमसिजी) उद्योगमा रहेको ‘कावरा’ समूह र झापाका ६ उद्योगीले ‘मनसा थाईफूड’ ले चाउचाउ उद्योग स्थापना गरेका हुन् ।

कावराको ‘क्वालिटी’ ब्राण्डमा दशैँ अघि चाउचाउ आउनेछ भने मनसाको ‘मगमग’ ब्राण्डमा साउनभित्रै चाउचाउ बजारमा आइसक्ने भएको छ ।

नुडल्स मार्केटमा नेपालमै अग्रणी रहेको चौधरी ग्रुपको वाइवाइ सुनसरीको गढी गाउँपालिकामा २२ बिघामा निर्माणाधीन ‘सिजी इन्डस्ट्रियल पार्क’–बाट उत्पादन गरिने छ ।

इन्डस्ट्रियल पार्कको उद्घाटन गत २०७४ माघमा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका थिए ।

के वाइवाइलाई टक्कर दिन सक्ला त ?

चौधरी समूहका महाप्रवन्धक मधुसूदन पौडेलका अनुसार भारतमा नुडल्सको बजारमा वाइवाइले २७ र विश्वमा ३ प्रतिशत हिस्सा ओगटेको छ ।

भारतका विहार, आसाम र उत्तराखण्ड लगायतका स्थानमा वाइवाइका ९ र नेपालमा ७ वटा कारखाना छन् । यसबाहेक विश्वमा अमेरिका, युरोप लगायत ३२ राष्ट्रमा वाइवाइको निर्यात भइरहेको छ । यस्तो प्रतिष्ठित कम्पनीलाई पछिपार्न ‘मगमग’ र ‘क्वालिटी’ चाउचाउले धेरै चुनौति सामना गर्नुपर्ने हुन्छ ।

‘क्वालिटी’ चाउचाउ दशैँ अगाडि बजारमा

विगत तीन दशकदेखि ‘क्वालिटी’ ब्रान्डका बिस्कुट, चकलेट र वेफर उत्पादन गरिरहेको काबरा ग्रुपले दशैँअगाडि ‘क्वालिटी’ ब्रान्डकै चाउचाउ उत्पादन गरिसक्ने छ । क्वालिटी चाउचाउ मोरङको बुढीगङ्गा गाउँपालिकामा सञ्चालनमा आइसकेको छ ।

यसमा ७० करोडको लगानी भएको छ भने यसको ८ घन्टामा ३ लाख प्याकेट चाउचाउ उत्पादन हुने छ । क्वालिटीका सञ्चालक सिद्धार्थ काबराका अनुसार उत्पादन सुरु गरेको ६ महिनापछि भारत र तेस्रो मुलुकमा निकासी गर्ने तयारी रहेको छ ।

‘मगमग’ चाउचाउ झापाबाट

झापाका ६ उद्यमीको संयुक्त लगानीमा स्थापित मनसा थाई फुडले साउन महिनाभित्र ‘मगमग’ ब्रान्डको चाउचाउ बजारमा ल्याइसक्ने बताएको छ । मनसा थाईमा परशुराम अग्रवाल, अजय अग्रवाल, ओम अग्रवाल, नितेश अग्रवाल, गणेश प्याकुरेल र शारदादेवी गोयलले लगानी गरेका छन् ।

सञ्चालक गणेश प्याकुरेलका अनुसार असारभरि परीक्षण उत्पादन चलिरहेको छ । साउनको पहिलो हप्तामै चाउचाउ नेपालका मुख्य बजारमा पठाइसक्ने योजना छ ।

‘रमपम’ चाउचाउको उत्पादक एसियन थाइ फुडमा १८ वर्ष महाप्रबन्धक पदमा काम गरेका प्याकुरेल आफ्नो अनुभवले सम्भाव्यता देखेको बताउछन् ।

प्याकुरेलले भने, ‘रमपमको सुरुआतदेखि मै थिएँ, बजार कसरी सुरु गर्नुपर्छ भन्ने अनुभव छ । त्यही अनुभवको प्रयोग यहाँ गर्नेछु ।’

५० करोडमा लगानी भएको उक्त संस्थामा ५० करोडको लगानी भएको छ । उक्त संस्थाले ८ घन्टामा २ लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन गर्ने क्षमता रहेको छ ।

प्याकुरेलका अनुसार सन् २०१९ भित्रै ‘मगमग’ चाउचाउले बजार लिइसक्ने छ ।

...

शुक्रबार २२, असार ०७५

प्रतिक्रिया

Related