देशैभरीका खोलामा विचौलियाको दादागिरी

प्रतिटिपर २८ हजार बढीमा बालुवा बिक्रीः उपभोक्ता मारमा
निर्माण सञ्चार, धादिङ | पछिल्लो समय देशैभरका नदीहरुमा ठूला भन्ने व्यक्तिहरुकै निर्देशनमा विचौलियाको दादागिरि बढ्न थालेको छ ।

जसमध्ये अवैध रूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र (फिरफिरे) बन्द भएलगतै धादिङका नदीहरुमा पनि बिचौलिया सक्रिय भएका छन् ।

ती बिचौलियाले दिनभर मजदुरका हातले निकालेको बालुवा देखाएर रातभर नदीमा मेसिन लगाउने गरेका छन् । त्यसरी निकालेको बालुवा लाग्दो मूल्य भन्दा तेब्बर बढाएर विक्रि गर्ने विचौलियको नियती नै भइसकेको छ ।

अवैध रुपमा उत्खनन गरिएको धादिङको बालुवा काठमाडौंका उपभोक्ताले खरिद गर्दा एक टिपरको ३२ हजारदेखि ३५ हजार रुपियाँसम्म पर्ने गर्दछ ।

तर, धादिङको नदी किनारमा मजदूरले मात्रै १ टिपरको ७ हजार रुपियाँका दरले बेच्छने गर्छन् ।

यसका आधारमा एक टिपरमै विचौलियाहरुले २८ हजार बढी रकम असुल गर्दछन् ।

मजदुरदेखि उपभोक्तासम्म पुग्दा विभिन्न तहका बिचौलियाका कारण बालुवाको भाउ उपभोक्ताको ढाड सेकिने गरी बढ्ने गरेको छ । काम नै नगरि विचौलियाका हातमा हजारौँ रकम पर्छ ।

तर, ज्यान जोखिममा राखेर मजदुरी गर्नेहरूको भने श्रमशोषण भइरहेको छ ।

सोही स्थानमा प्रहरीले तीनवटा टिपर र एउटा एस्काभेटर नियन्त्रणमा लिएको असार २२ गते राति गल्छीस्थित जिन्टेबगरमा त्रिशूलीमा मेसिन लगाइरहेको वडाध्यक्ष राजु अधिकारीको सूचनामा उल्लेख गरिएको थियो ।

उक्त अवधिमा प्रहरीले नदीकै किनारबाट तीनवटा बालुवा भरिएको टिपर, केही थान भ्याट बिल र एउटा एस्काभेटर नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरी आएको थाहा पाएर चालक भने भागेका थिए ।

इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख प्रहरी निरीक्षक सञ्जय तिमल्सिना अनुसार नियन्त्रणमा लिइएको एस्काभेटर र टिपरको दाबी गर्न कुनै व्यक्ति नआएकाले हाल मुचुल्का उठाएर जिल्ला पठाइने तयारी भइरहेको छ ।

मजदुरलाई डर देखाएर बिचौलियाको दादागिरि

नदीबाट बालुवा निकाल्ने मजदुरलाई डर देखाएर बिचौलियाहरुले एक टिपर बालुवामा ७ हजार दिएर १२ हजारमा भ्याट बिल काटी ५ हजार छुट्टै लिएर प्रतिटिपर १७ हजारमा बालुवा बिक्री गर्ने गरेका छन् ।

१२ हजार रुपियाँको भ्याट बिल काटिए पनि आफ्नो जग्गाको बाटो प्रयोग गरेबापत भन्दै टोले मुन्द्रेले थप ५ हजार लिएर १७ हजारमा बालुवा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् ।

यसअनुसार गल्छीमा १७ हजार पर्ने बालुवाको मूल्य काठमाडौँ पुग्दा ३५ हजार रुपियाँसम्म पर्छ ।

विचौलियाकै दादागिरिकै कारण मजदुर लगायत आमउपभोक्ताको ढाड सेकिदैँ आएको छ ।

एउटा घर निर्माण गर्दा घर बनाउने जग्गाभन्दा निर्माणका सामाग्री भाउ आकाशिएका कारण आम अउभोक्ता आवास निर्माण गर्न तर्सिएझैँ देखिएका छन् ।

यसरी बालुवाको भाउ अनियन्त्रित ढंगले बढेपछि गल्छी गाउँपालिकाले जिल्ला प्रशासन, जिल्ला समन्वय समितिसँग समन्वय गरी मजदुरले निकालेको बालुवाको प्रतिटिपर १२ हजार रुपियाँभन्दा बढीमा उपभोक्तालाई बेच्न नपाइने नियम बनाएको गल्छी गाउँपालिकाप प्रमुख कृष्णहरि श्रेष्ठले जानकारी दिए ।

बिचौलिया बिगबिगि भएको र मजदुर मर्कामा परेको गुनासो आएपछि प्रहरी नै परिचालन गरेर नियन्त्रण गर्न लागिपरेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।

नदीबाट मजदुरले निकालेको बालुवामा बिचौलियाको हाबी हुन थालेपछि गल्छी गाउँपालिकाले कडाइ गर्दा गाउँपालिकाका पदाधिकारीलाई कार्यालयमै दुव्र्यवहार गरेका थिए ।

गाउँपालिकाले मदजुरहरुले हातैले निकालेको बालुवा १२ हजार रुपियाँ भन्दा माथी विक्रि गर्न नपाउने नियम बनाइदिएपछि सोहीको रिस फेर्न आक्रमणको प्रयास भइरहेको छ ।

विचौलियाहरुले गल्छी गाउँपालिकाको छोटे बगरमा अवैध रूपमा बालुवा निकालेर बिक्री गर्ने कार्यमा संलग्न समूहले नदीबाट निकाल्ने बालुवाको आम्दानी गाउँपालिकाको हुनुपर्ने भनेर आवाज उठाउने स्थानीय सिर्जना घलेलाई हातपात समेत गरेका थिए ।

यसरी मुलुकका प्राकृतिक स्रोत रित्याउन खोज्नुका साथै आम उपभोक्तको ढाड सेकाउने क्रियाकलाप दैनिक बढदे क्रममा हुँदा पनि सरकार के हेरेर बसिरहेको छ भन्ने आम नागरिकको प्रश्न रहको छ ।

...

बुधबार २७ असार ०७५ 

प्रतिक्रिया

Related