‘अनसन ब्रान्ड’ डा केसीसँग प्रधानमन्त्री ओलीले सिधै वार्ता गर्ने तयारी- कसको हितमा अनसन बस्ने गर्छन् डा केसी ?

यस अघिका अनसनहरु हेर्दा, धेरैजसो अनसन एसइई (एसएलसी) परीक्षाको नतिजा प्रकाशनपछि या त दश जोड परीक्षाको नतिजा प्रकाशन पछि र मेडिकल साइन्समा स्नातकको भर्ना खुल्ने बेलामा भएका देखिन्छन्
निर्माण सञ्चार, काठमाडौं । ‘अनसन ब्रान्ड’ डा गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै वार्ता गर्ने तयारी गरेका छन् ।

मेडिकल र शिक्षा क्षेत्रमा सुधारका लागि भन्दै गएको हप्तादेखि नै डा केसी कर्णाली विज्ञान प्रतिष्ठान परिसरमा अनसनरत छन् ।

उनका सबै माग पूरा गर्न यस अघिका कुनै पनि सरकारले पनि नसकेकाले सरकारले पनि सकेसम्म राम्रो मागहरु पूरा गरिदिने भन्दै प्रम ओली आफैंले टेलिफोन वार्ता गर्ने तयारी गरेका स्रोतले बतायो ।

नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले जुम्लामा अनशनमा रहेका डा केसीसँग सोमबार वार्ता गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दियो ।

यतिबेला उनको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेको छ । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० दिनदेखि अनसनरत छन् ।

डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपपछि उनको जीवनरक्षाको माग गर्दै यस अघि पनि प्रदर्शनहरु भएका छन् ।

स्वास्थ्य मन्त्रालयले उनको उपचारमा खटाएका दुई चिकित्सकको सेवा समेत उनले लिन अस्वीकार गरेपछि उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएको हो ।

केसी के चाहन्छन्, कसको हितमा काम गर्छन् ?

सरकारले उपचारका लागि पठाएका चिकित्सकलाई समेत अस्वीर गरेका केसी भने आफूले माग राखेको चिकित्सा शिक्षा पुरानै अध्यादेश जारी गरोस् भन्ने माग गरेका छन् ।

काठमाडौंमा थप मेडिकल खुल्न नहुने र उपत्यका बाहिर दुर्गममा पनि स्वास्थ्य सम्बद्ध अध्ययन हुनु पर्ने उनका मागहरु रहे पनि, उनको अनसन भने जहिले पनि विदेशमा विद्यार्थी पठाउने कन्सल्टेन्सी लक्षित ‘टाइम टेबल’मा हुने गरेको एकथरीको आरोप छ ।

हुन पनि डा केसीका यस अघिका अनसनहरु हेर्दा, धेरैजसो अनसन एसइई (एसएलसी) परीक्षाको नतिजा प्रकाशनपछि या त दश जोड परीक्षाको नतिजा प्रकाशन पछि र मेडिकल साइन्समा स्नातकको भर्ना खुल्ने बेलामा भएका देखिन्छन् ।

‘उनले ठिक त्यही बेला अनसन बस्ने गरेका छन्, जतिबेला नेपालमा मेडिकल साइन्सको भर्ना खुल्ने बेला हुन्छ । उनले अनसन बसेपछि ती सबै विद्यार्थी भारत यात अन्य विदेशी मुलुक गएर पढ्न बाध्य हुन्छन् । किनकि, उनको अनसनले महिनौं समय लिने हुनाले विद्यार्थीहरु विदेशिन बाध्य हुन्छन्,’ नाम नखुल्ने सर्तमा काठमाडौं मोडेल अस्पतालमा कार्यरत एक फिजिसियनले भने ।

यसरी, पछिल्ला दिनमा उनको अनसन विवादमा तानिदै आएको छ । उनको माग सम्बोधनबारे सरकारले आफूले पनि पहल गरिरहेको बताएको छ ।

नेपाल चिकित्सक संघ केन्द्रीय समिति काठमाडौंले खटाएका दुई विशेषज्ञ चिकित्सक जुम्ला पुगेपछि केसीलाई एयरलिफ्ट गरी काठमाडौं जान सुझाएका थिए ।

तर, केसीले मानेका थिएनन् ।

अनसनरत डा केसीका भाइ किशोर केसीले भने पुरानै चिकित्सा शिक्षा अध्यादेश नआएसम्म केसीले अनसन नतोड्ने बरु मर्न तयार हुने बताएको जानकारी दिएका छन् ।

उनको स्वास्थ्यबारे खटिएका चिकित्सकले भने डा। केसीको मांसपेशी सुन्निने, रिंगटा लाग्ने, छातीको धड्कन बढ्ने, पिसाब नहुनेजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन थालेको बताएका छन् ।

यस्तै समयमा प्रधानमन्त्री ओली आफैंले डा केसीसँग वार्ता गर्ने तयारी गरेको हुन् ।

 

...

सोमबार, २५ असार, ०७५

 

प्रतिक्रिया

Related