नेप्सेमा नयाँ सिइओ अर्याल, ‘कानुनी उपचारमा जाने’ साउदको तयारी

पदभार ग्रहण पछि अर्यालले पुँजी बजार विकासमा आफूले सक्दो पहल गर्ने बताए
निर्माण सञ्चार, काठमाडौं । आइतबारदेखि नै लागू हुने गरी सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई नियुक्त गरेको छ ।

नियुक्त लगत्तै सोमबार पदभार ग्रहण गरेका अर्याललाई सरकारले अर्को व्यवस्था नभएसम्मका लागि सिइओको जिम्मेवारी दिएको बताएको छ ।

पदभार ग्रहण पछि अर्यालले पुँजी बजार विकासमा आफूले सक्दो पहल गर्ने बताएका छन् । यस अघि सो पदमा रहेका चन्द्रसिंह साउदलाई सरकारले असार २२ मै बर्खास्त गरेको थियो ।

नेप्सेले हालै मात्र अनलाइन प्रणालीको युजर एसेप्टेन्स टेस्ट (युएटी) गर्न कम्पनी छनोट गरी नयाँ प्रविधिमा जाने निर्णय गरेको थियो ।

न्याय नपाएपछि कानुनी उपचारमा साउद

सरकारले आफूलाई गरेको बर्खास्ती अन्याय भएको भन्दै पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका चन्द्रसिंह साउद कानुनी उपचार खोज्न अदालत जाने तयारीमा छन् । उनले आफूलाई एकाएक बर्खास्ती गरेपछि यतिबेला कानुनी उपचारबारे परामर्श गरिरहेको उनको दाबी छ ।

साउद तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले २०७४ असोज २३ गते नेप्सेको प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो । सरकार यतिबेला बर्खास्ती र नयाँ नियुक्तिको फेहरिस्त नै लिएर बसेको देखिन्छ ।

केही दिन अघि तत्कालीन देउवा सरकारले निर्वाचन आचार संहिता विपरीत नियुक्त गरेका विभिन्न पदमा आसिन व्यक्तिहरुलाई मन्त्रिपरिषद्कै निर्णयबाट खारेजी गरेको छ भने प्रदेश प्रमुखहरु पनि निकाल्ने कसरतमा सरकार लागेको छ ।

सरकारले विवादास्पद चिकित्सा शिक्षा अध्यादेश ल्याएका कारण गोविन्द केसीको अनसनमा छन् भने प्रतिपक्षी नेपाली काँग्रेस सहितले सरकारले तोकेको निषेधाज्ञाको लडाइँ पनि पेचिलो बन्दै गएको छ ।

 

 

...

सोमबार, २५ असार, ०७५

 

प्रतिक्रिया

Related