अब मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार

बढेको पारिश्रमिक साउन १ बाट कार्यान्वयन
निर्माण सञ्चार, काठमाडौँ | मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपियाँ पुगेको छ । सरोकारवाला निकाय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको वार्तामा सो निर्णय गरिएको हो ।

विद्यमान ९ हजार ७ सय रुपियाँमा ३ हजार ७ सय ५० रुपियाँ थप गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सहमति भइसकेको छ ।

सो निर्णयअघि चरणबद्ध रुपमा भएका वार्ता सहमतिमा पुग्न नसकेपछि न्यूनतम पारिश्रमिकको टुंगो लाग्न सकेको थिएन ।

जसमा सरकारी निकाय तथा श्रमिकका प्रतिनिधिले १५ हजार रुपियाँभन्दा न्यून तलब हुन नहुने अडान राखेका थिए भने व्यवसायीका प्रतिनिधिहरु साढे १२ हजार रुपियाँसम्म दिन तत्पर भएका थिए ।

सो निर्णयले भने साढे ३७ सय रुपियाँ थप गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सहमति जुटेको छ ।

थप गरिएको रकममध्ये ६० प्रतिशत रुपियाँ तलब र ४० प्रतिशत भत्ता हुने वार्ता टोलीमा श्रमिकको पक्षबाट प्रतिनिधित्व गरिरहेका मजदूर नेता दीपक पौडेलले जानकारी दिए ।

यस्तो थियो दुई पक्षिय अडान

सरकारी पक्ष र अन्य सरोकारवाला निकायबीच न्यूनतम पारिश्रमिक निर्धारण आइतबार नै गर्ने तयारी भएको थियो ।

तर, आइतबार बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उद्योगीका प्रतिनिधिले अधिकतम १३ हजार ३ सय दिन सकिने दाबी गरेका थिए ।

यता श्रमिकका पक्षमा रहेका सदस्यले भने १४ हजार भन्दा न्यून हुन नहुने अडान राखेका थिए ।

आइतबार यी दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि सोमबार विहानका लागि बैठक सारिएको थियो।

कहिलेबाट लागू हुने ?

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सोमबारको बैठकमा भने दुवै पक्ष सहमत देखिएपछि सहमति जुटेको थियो ।

समितिले तय गरेको सो पारिश्रमिक साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ ।

श्रममन्त्री गोकर्ण बिष्टले सोमबार विहान बसेको राष्ट्रिय सभा बैठकमा बढेको पारिश्रमिक साउन १ गतेदेखि कार्यान्वयन हुने जानकारी गराएका थिए ।

 ...

सोमबार, २५ असार ०७५ 

प्रतिक्रिया

Related