त्रिशुली नदीका ‘बालुवा चोर’हरुले गरे जनप्रतिनिधिमाथि हमला !

गल्छीमा १७ हजार पर्ने बालुवा काठमाडौँ पुग्दा ३५ हजारसम्म
निर्माण सञ्चार, काठमाडौँ | देशैभरका अधिकांश नदीका बालुवा दोहन गर्ने प्रवित्ति बढ्दो क्रममा छ । जसमध्ये त्रिशूली नदीबाट पनि अवैध रुपमा बालुवा दोहन हुँदै आइरहेको छ ।

गल्छी गाउँपालिकामा लामो समयदेखि नदीलाई कब्जा गरी बालुवा झिकेर बिक्री गर्ने गिरोह सक्रिय रहँदै आएको छ ।

हाल सो कारोबार रोक्न जनप्रतिनिधिहरुले रोक लगाएका छन् । तर, प्रत्येक दिन बालुवा चोर्न पल्केकाहरुका लागि यो निर्णयले घात नै भएको छ ।

‘बालुवा चोर’हरुले बालुवा दोहन गर्न रोक लगाएको भन्दै धादिङको गल्छी गाउँपालिकाका जनप्रतिनिधि माथि सामूहिक आक्रमणको प्रयास भएको छ ।

गल्छी गाउँपालिकाभित्र पर्ने त्रिशूली नदीबाट अवैध रुपमा बालुवा निकालेर महंगो मूल्यमा बिक्री गर्दै आइरहेको समूहले आक्रमण प्रयास गरेका हुन् ।

शनिबार गल्छी गाउँपालिकाको कार्यालय बैरेनी बजारमा कार्यपालिकाको बैठक बसिरहेको अवधिमा ती ‘बालुवा चोर’समूहले आक्रमण प्रयास गरेका थिए ।

 कुन समूहबाट खतरा ?

गाउँपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ ।

सो पत्रमा गल्छी–४ का केशव अधिकारी, दीपक अधिकारी, प्रदीप अधिकारी र गल्छी ६ का अर्जुनलाल श्रेष्ठको समूहबाट गम्भीर खतरा रहेको भन्दै सुरक्षा प्रवन्ध गरिदिन आग्रह गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु आफैं उपस्थित भई कार्यालयमा दिएको उजुरीका विषयमा जिल्ला प्रहरी कार्यालयलाई तत्काल आवश्यक छानविन गरी दोषिमाथि कारवाही गर्न निर्देशन दिइसकेको छ ।

के भन्छन् पदाधिकारी ?

गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिनाका साथै ८ वटै वडाका वडाध्यक्षहरु र कार्यपालिकाका सदस्यहरु बैठकमा रहेको समयमा बालुवाको बिषयमा छलफल गर्न कार्यालयमा पुगेका गल्छी–४ का केशव अधिकारीको नेतृत्वमा आक्रमण प्रयास भएको गाउँपालिकाका पदाधिकारीहरुको भनाई छ ।

 को हुन् केशव ?

गाउँपालिका अध्यक्ष लगायतको टोलीलाई हातपात गराउने नेतृत्व गरेका केशव अधिकारी तत्कालीन नेकपा एमालेबाट गल्छी ४ नम्बर वडाको अध्यक्ष पदमा झिनो मतले हार व्यहोरेका व्यक्ति हुन् ।

उनी नेकपाका नेता राजेन्द्र पाण्डेनिकटका भनेर चिनिन्छन् ।

धादिङमा मात्रै होइन बालुवा उत्खनन गर्ने गिरोह !

धादिङको गल्छीमा मात्रै नभएर गजुरी, बेनीघाटरोराङ गाउँपालिकामा समेत सार्वजनिक स्थल, नदी खोला बगर कब्जा गरी अवैध ढंगबाट बालुवा उत्खनन गर्ने गिरोह सक्रिय छन् ।

स्थानीयका अनुसार सो अवैध कारोबारमा बिचौलिया समूहले नदीबाट बालुवा निकाल्ने मजदुरलाई डर दखाएर एक टिपर बालुवाको ७ हजार दिएर १२ हजार रुपियाँ भ्याट बिल काटेर ५ हजार रुपियाँ छुट्टै लिएर प्रतिटिप १७ हजारमा बालुवा बिक्री गर्दै आएका छन् ।

गल्छीमा १७ हजार पर्ने बालुवा काडमाडौँ आइपुग्दा ३५ हजारसम्म पर्ने गर्दछ ।

...

सोमबार, २५ असार ०७५

प्रतिक्रिया

Related