अब राजदूत हुन अंग्रेजी जान्नैपर्ने !

राजदूत हुने व्यक्तिका लागि एक दर्जन मापदण्ड
निर्माण सञ्चार, काठमाडौँ | सरकारले राजदूत बन्न नयाँ योग्यता तोकेको छ । जसअन्तर्गत अंग्रेजी अनिवार्य जानेको हुनुपर्ने र कुनै पनि विषयमा स्नातक तह पास गरेकै हुनपर्नेछ ।

सरकारले कूटनीतिक नियोगको प्रमुख हुन कम्तिमा स्नातक पास र अंग्रेजी जान्नै पर्ने गरी निर्देशिका पारित गरेको छ ।

यसअघि परराष्ट्र मन्त्रालयका सह–सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य थिएन ।

आइतबार पारित निर्देशिकाअनुसार जति कक्षा पढेको व्यक्ति पनि राजदूत हुन पाउने यसअघिको प्रावधान खारेज भएको छ ।

परराष्ट्र प्रदीप ज्ञवालीका अनुसार सरकारले पारित गरेको निर्देशिकाले राजदूत हुने व्यक्तिको शैक्षिक योग्यता, आचरण लगायतका मापदण्ड समेत तोकिएको छ ।

राजदूत हुने व्यक्तिका लागि एक दर्जन मापदण्डः ती केके हुन् ?

राजदूत हुने व्यक्तिका लागि एक दर्जन मापदण्ड बनाइएको ज्ञवालीले बताए ।

जसअन्तर्गत जुन देशको राजदूत बनाइने हो, त्यहाँका बारेमा न्यूनतम जानकारी राख्ने र विज्ञता हासिल भएको हुनुपर्ने ।

विगतमा जुन देशमा म्यानपावर एजेन्सी चलाएको व्यक्ति हो, उसैलाई त्यहाँको राजदूत बनाएर पठाउने काम समेत भएको थियो ।

अब भने त्यस्तो स्वार्थसँग जोडिएको व्यक्ति त्यस देशमा राजदूत बन्न नपाउने भएको छ ।

राजदूत नियुक्ति गर्दा सामान्यतः ५० प्रतिशत परराष्ट्रका कर्मचरीबाट र ५० प्रतिशत बाहिरबाट पठाइने मापदण्ड तय भएको छ ।

यसैगरी, सरकारले पारित गरेको निर्देशिकामा राजदूत हुने व्यक्तिको पृष्ठभूमि र ट्रयाक रेकर्ड पनि हेरिने उल्लेख छ । निर्देशिकामा कुनै पनि मुलुक वा नियोगको राजदुत खाली हुनुभन्दा तीन महिनाअघिबाटै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइने प्रावधान रहेको छ ।

३ महिनाअघि नै सम्बद्ध मुलुकमा राजदुत बनाउने व्यक्तिको सूची तयार गरी प्रक्रिया अघि बढाउने प्रावधानका कारण अब त्यहाँ राजदूत खाली हुने अवस्था नआउने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले अब परराष्ट्र मन्त्रालयले राजदूतका लागि उपयुक्त व्यक्तिहरुको सूची बनाएर मन्त्रिपरिषदमा पेश गर्ने र मन्त्रिपरिषदले राजदूत छनोट गर्ने समेत बताए ।

...

सोमबार, २५ असार ०७५ 

प्रतिक्रिया

Related