सघन कक्षमा छटपटाउँदै डा. केसी !

केसीले राखेका मागलाई सरकारले गम्भिर रूपमा नलिएको आरोप
निर्माण सञ्चार, कर्णाली | एघारौँ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्रतिष्ठानको सघन उपचार कक्षमै छटपटाईरहेका छन् ।

पिसाब नहुने, श्वाप्रश्वास बढ्ने, पेट छाती दुख्ने, लगायतका पिडाले सघन कक्षमै डाक्टर छटपटाईरहेका हुन् । ‘न उपयुक्त उपचार छ न डाक्टर केसी आवश्यक औषधी खान नै मानिरहेका छन् ।

विभिन्न निकायले जिवन रक्षाका लागि एयरलिफ्टबाट काठमाडौँ जान पनि अपिल गरेका छन् ।

डाक्टर केसी भने माग पुरा नभएसम्म कर्णालीमै मर्न तयार भएको तर, कुनै हालतमा उपचारका लागि काठमाडौँ नजाने अडान लिइरहेका छन् ।

उनको अडान एकातर्फ छ भने अर्को तिर स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएको उपचारमा संग्लन डाक्टर प्रविण गिरीले बताए ।

डा. केसीलाई काठमाडौँ लैजानुको विकल्प नभएको डा. गिरीको सुझाव छ ।

माग सम्बोधनका लागि राज्य पक्षलाई लचिलो बनाउन भन्दै उनले सबैको पहलमा डा.केसीको जीवन रक्षा गर्न आवश्यक रहेको बताए ।

औषधी समेत खान नमानेको बताउँदै डा. गिरीले रातीको समयमा पेट, दुख्ने र छाती दुख्ने समस्याले डा. केसी छटपाउने गरेको भनाई राखे । उनलाई उपचारका नाममा स्लाईन र अक्सिजन मात्रै दिइएको छ ।

तर, स्वास्थ्य अवस्था दिनप्रतिदिन निकै चिन्ताजनक बन्दै गएको छ । सरकार यस विषयमा अझै गम्भीर नदेखिएकोले स्वास्थ्यमा जतिबेला पनि तलमाथि हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनयता अनशनरत डा. गोविन्द केसीलाई एअरलिफ्ट गर्नुको विकल्प नभएको चिकित्सकहरुले बताएका छन् ।

दिनप्रतिदिन डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचार जुम्लामा संभव नभएको भन्दै केसीलाई जतिसक्दो छिटो काठमाडौँका सुविधा सम्पन्न अस्पतालमा एअरलिफ्ट गर्न चिकित्सकहरुले सल्लाह दिएका हुन् ।

डा.केसीको उपचारका लागि जुनसुकै समयमा पनि आइसियु आवश्यक पर्ने भएकाले जुम्लाबाट आइसियु नभएकोले काठमाडौँ अस्पतालमा लैजानुपर्ने चिकित्सकको सुझाब छ ।

डा.केसीको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकहरुले सोमबार केसीको स्वास्थ्य अवस्थाबारे पत्र जारी गर्दै संक्रमणबाट बचाउन विशेष कक्षमा राखेर उपचार भैरहे पनि आईसियुको आवश्यकता परेको उल्लेख गरेका छन् ।

हाल प्रतिष्ठानमा आईसियु नभएकाले केसीको स्वास्थ्य उपचार गर्न समस्या भएको छ ।

आईतबारसम्म बोल्न र रेष्टरुमसम्म हिड्न सक्ने डा. केसी सोमबारबाट निकै थला परेका छन् ।

‘केसीको रगतमा ग्लुकोजको मात्रा कम हुदै गएको छ, तर उनले ग्लुकोज लिन मानेका छैनन्, हामिले ग्लुकोज नभएका अन्य औषधि प्रयोग गरीरहेका छौँ’ चिकित्सक धिरज गुरुङले भने, ‘रगतमा म्याग्नेसियमको मात्रा कम भएको हुँदा मुटुको चालमा गडबडी हुनुका साथै मुटुले काम गर्न छोड्नसक्ने जस्ता खतरा देखिएका छन्, तर, केसीलाई निरन्तर अक्सिजन दिईरहेका छौँ।’

उपचारमा डा. केसीले चिकित्सकहरुको सल्लाह भन्दा पनि आफैँले निणर्य गर्ने गरेकाले कठिनाई भएको चिकित्सक प्रविण कुमार गिरीले बताए ।

‘डा. केसी आफैँले यो औषधि लिन्छु, यो लिन्न भन्ने निर्णय गर्नुहुन्छ’ उनले भने, ‘यसले गर्दा एकातर्फ उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, भने अर्कोतर्फ हामीलाई उपचार गर्नपनि कठिनाई भएको छ ।’ तर, डा. केसी आफ्नो मागप्रति अडान बन्दै मुत्यु मोल्न तयार बनेका छन् ।

चिकित्सा शिक्षा ऐन तत्काल यथावत् रुपमा जारी नभएसम्म कर्णालीमै मर्न तयार हुने तर अनशन तोडेर बाहिर जिल्ला नजाने उनको दाबि छ ।

‘कर्णालीका नागरिक पनि म जस्तै मान्छे हुन्, यहाँका मान्छे यही अस्पतालका भरमा छन्’ मुस्कीलले बोल्दै उनले भने, ‘मेरो उपचारका लागि मैले यो अस्पातलको विश्वास किन नगर्ने ?’ बरु यँहा नभएका उपकरण र आवाश्यक जनशक्ति सरकारले व्यवस्था गरोस् ।’

उनले थपे, ‘थामथुम पारेर अनशन रोक्दिन, अब सबै माग एकैपटक सम्बोधन भएमात्रै यो अनशन रोकिन्छ, तिन करोड नेपालिको स्वास्थ्यमा सरकारले खेलवाड गर्न मिल्दैन ।’

डा. केसीले राखेका मागलाई सरकारले गम्भिर रूपमा नलिएको उनका भाई किशोर केसीको आरोप छ । मागप्रति सरकार लचिलो नबनेकाले वार्ता र संवादको सम्भावना नभएको उनले बताए ।

यसअघिका अनशनका माग सरकारले केवल अनशन तोडाउनका लागि कार्यान्वयन गर्ने झूठो कागजमात्रै गरेको दाबी गर्दै जुम्ला अनशनले सबै माग एकैपटक सम्बोधन गर्न सरकारलाई बाध्य पार्ने उनले बताए ।

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

मंगलबार, २६ असार २०७५

प्रतिक्रिया

Related