पहिरोले कुन–कुन सडक अवरुद्ध ?

शनिबारसम्मै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
निर्माण सञ्चार, काठमाडौँ | बुधबारदेखिको निरन्तर वर्षाको कारण मुलकका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

जसअन्तर्गत भक्तपुर, काभ्रे, चितवन, मकवानपुर, कास्की लगायतका जिल्लामा सडकहरुमा पहिरो र डुबानका कारण यातायात ठप्प भएका हुन् ।

वर्षाका कारण डुबान भएपछि भक्तपुर क्षेत्रमा सवारी चाप बढेको छ ।

अविरल वर्षाले हनुमन्ते खोलामा पानीको बहाव बढेपछि भक्तपुरको सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका छन् ।

सडक डुबेका कारण राधेराधेबाट जगातीतर्फ चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्य तर्फ पठाइएको छ ।

यसैगरी, कोटेश्वर–भक्तपुर सडकमा चल्ने गाडीहरुलाई पेप्सीकोलाबाट डाइभर्सन गरिएको छ । उक्त गाडीहरुलाई पेप्सिकोला, पुरानो ठिमी हुँदै सल्लाघारीतर्फ पठाइएको हो ।

ट्राफिक प्रहरीका अनुसार साना सवारी साधनहरुलाई भने गठ्ठाघरबाट डाइभर्ट गरिएको छ ।

काभ्रेको भञ्ज्याङ, कालढुंगा र माम्टीमा पनि लेदो माटोसहितको पहिरो खसेकाले वीपी राजमार्गमा सवारी सञ्चालनमा समस्या भएको छ ।

काभ्रेकै जिरो किलोमा सडकको ग्याबिन तारको बाँध भत्काएर पहिरो खस्दा काभ्रेबाट सिन्धुपाल्चोक आवतजावत सवारी साधन बिहीबार बिहान पौने ९ बजेदेखि बन्द भएको छ ।

काभ्रेको बनेपास्थित पुण्यमती खोलामा आएको बाढीले राजमार्ग डुबेकाले सो स्थानमा पनि सवारी आवतजावत प्रभावित भएको छ ।

काभ्रे प्रहरीका अनुसार पानीको बहाव कम भएसँगै गाडीहरुलाई एक लेनमा पालैपालो चलाइएको छ । काभ्रेको मंगलटारमा पनि पहिरो पन्छाएपछि एकतर्फी गाडी चलाइएको छ ।

हाल पहिरो पन्छाउने काम जारी रहेको छ ।

यता मकवानपुरको फाखेल कुलेखानी हेटौंडा सडकखण्ड बिभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अवरुद्ध छ ।

मकवानपुर प्रहरीका अनुसार सो सडक पूर्णरुपमा प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको सिन्धुलीखण्ड पनि अवरुद्ध भएको छ ।

पहिरोकै कारण चितवनको भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा अन्दाजी २० मिटर सडक भासिएकाले एकतर्फी गाडी चलिरहेका छन् ।

त्यसैगरी, पोखरा–बाग्लुङ सडकखण्ड समेत प्रभावित भएको छ ।

भूपी शेरचन राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा पहिरो झरेकाले बुधबार राति बाट पोखरा–बाग्लुङ चल्ने सवारी साधनको आवतजावत अवरुद्ध भएको प्रहरी बताउँछ ।

बुधबार ९ बजेबाट अन्नपूर्ण गाउँपालिका ५ को नयाँपुल र गिरिचोकमा पहिरो झरेको छ ।

सो सडकखण्ड अवरुद्ध छ । कास्कीका प्रहरीका अनुसार पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाउन समस्या भइरहेको छ ।

शनिबारसम्मै भारी वर्षाको सम्भावना !

आउँदो शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले अनुरोध गरेका छन् ।

मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

मौसमविद पोखरेलले भनिन् ‘पूर्व, मध्य र पश्चिममा भारी वर्षाको सम्भावना छ । शनिबारसम्म सतर्क रहनुपर्ने देखिन्छ ।’

मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना समेत निकालेर जानकारी दिएको छ ।  

...

बिहीबार २७ असार ०७५ 

प्रतिक्रिया

Related