सरकार, टिपर चलाउन नदिँदैमा दुर्घटना न्यूनीकरण हुने ग्यारेन्टी के छ ?

टिपर व्यवसायी भन्छन्, दुर्घटनाको कारण टिपर मात्रै होइन कमजोर ट्राफिक व्यवस्थापन र नीति पनि हो
निर्माण सञ्चार,काठमाडौं | सरकारले बुधबार उपत्यकाका तीन जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउन दिन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

अत्याधिक दुर्घटना टिपरका कारण भएको भन्ने जनगुनासो बढ्दै गएपछि सरकार यस्तो निर्णय लिन बाध्य भएको हो ।

सरकारको यो निर्देशनबाट रुष्ट भएका टिपर व्यवसायीले भने सरकारलाई नै प्रतिप्रश्न गर्दै टिपर चलाउन नदिँदैमा दुर्घटना न्यूनीकरण हुन्छ त ! भन्ने प्रश्न गरेका छन् ।

निर्माण सञ्चारसँगको कुराकानीमा बाग्मती टिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले सरकारले सुरक्षित तवरले गाडी कसरी चलाउन सकिन्छ भन्ने सोच्नुपर्नेमा त्यसको बेवास्ता गर्दै सडक दुर्घटनाको कारक तत्त्व टिपर मात्र भन्ने बुझेकोमा आफूहरुलाई दुःख लागेको बताए ।

अध्यक्ष कुँवरका अनुसार हाल २ हजार टिपरले दैनिक रुपमा ४ हजार टिप काम गर्ने गरेका छन् ।

सरकारको यस्तो निर्णयले अहिलेको विकास निर्माणको सारथी बन्दै आएका टिपरको माग अनुसारको आपूर्ति हुन नसक्नु एकातिर छँदै छ भने अर्को तिर रातमा टिपर चलाउने चालकले निद्राका कारण पनि सहज रुपले काम गर्न नसक्ने अवस्था सिर्जना हुने बताए ।

निन्द्राका कारणले पनि रातमा अझ दुर्घटना हुनसक्ने व्यवसायीको ठम्याइ छ भने सरकारको यो निर्णयले व्यवसायी मारमा पर्ने समेत संघले बताएको छ ।

एकातिर खानी तथा क्रसर उद्योगमा रातमा काम हुँदैन भने अर्कोतिर सरकार रातमा मात्र टिपर चलाउ भनेर निर्देशन दिन्छ यसले गर्दा बजारमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुन सक्ने सम्भावना समेत बढेर जान्छ ।

यातायात तथा ढुवानी खर्चमा भएको वृद्धिका कारण उपभोक्ता अझ मारमा पर्न सक्ने व्यवसायीको बुझाइ छ ।

सरकारले टिपर व्यवसायीले भोग्दै आएका समस्याका बारेमा कुनै जानकारी नै नराखी एकतर्फी ढंगले यस्तो निर्णय गरेको आरोप लगाएका छन् ।

कुराकानीकै क्रममा अध्यक्ष कुँवर भन्छन् –अहिले पनि गाउँका कतिपय बस्तीमा स्थानीयले राति टिपर चलाउन रोक लगाएका छन् ।

जस्तैः काभ्रेपलान्चोकको कुन्ताबेंसीमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म टिपर चलाउन पाइँदैन यो त एक उदाहरण मात्र हो ।

यस्तो अवस्थामा व्यवसायीले कसरी काम गर्ने भन्ने कुरालाई सरकारले बुझ्न जरुरी रहेको अध्यक्ष कुँवरले बताए ।

एकातिर हाल सञ्चालनमा रहेका २ हजार टिपरका लागि त पर्याप्त चालक छैनन् भने अर्कोतिर सरकारको यस्तो निर्णयले अहिलेकै टिपरको मागलाई धान्नका लागि पनि तुरुन्त २ हजार टिपर थप गर्नुपर्ने देखिन्छ ।

यसले त चालकको माग पनि बढायो तर चालक बढाउनका लागि सरकारले अहिलेसम्म कुनै पहलकदमी नै लिएको छैन ।

हामी अझै पनि वर्षाैं पुराना सडक तथा यातायात नीति अनुसार चलिरहेका छौं ।

सरकार अझै पनि टिपर तथा ठूला यातायातको सवारी चालक अनुमति पत्र लिन गयो भने साना सवारी साधन चलाएको अनुभव लिएर आऊ भन्छ ।

त्यसैले सरकारले समयसापेक्ष हुने गरेर यातायात सम्बन्धी ऐन तथा नीतिको परिमार्जन गर्न जरुरी रहेको र यातायात क्षेत्रमा सीपयुक्त दक्ष जनशक्ति उत्पादनका लागि पहलकदमी लिनु पर्ने बेला भैसकेको अध्यक्ष कुँवरले बताए ।

सडक दुर्घटनाको कारक तत्व भनेको टिपरलाई मात्र मान्ने कि बाइक तथा स्कुटरलाई पनि सुरक्षित यात्राका लागि कुनै मापदण्ड तयार गर्ने भन्दै व्यवसायीले टिपरलाई मात्र कारबाही गर्नु न्यायोचित नभएको समेत बताए ।

दैनिक रात्रिकालिन समयमा ४ हजार टिपर चल्ने हो भने यसबाट निस्कने ध्वनीको असरका बारेमा पनि सरकारले जानकारी राख्न आवश्यक रहेको टिपर व्यवसायीहरु बताउँछन् ।

....

बिहीबार, २८ असार २०७५ 

प्रतिक्रिया

Related