आजदेखि ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’, कला–साहित्यमा ‘कोसे ढुंगा’ बन्ने दाबी

निर्माण सञ्चार, काठमाडौं । नेपाली भाषा साहित्यको इतिहासमै पहिलो पटक ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ ।

हिममवत् अर्थात् प्राचीन आर्यवर्तदेखि मंगोलीयन, युरोप र रसियासम्मकै विस्तृत भू–भाग समेटिने यस अवधारणा ‘हिमवत्खण्ड’ अन्तर्गत पर्ने आयोजकको दाबी छ ।

असार २९ गते अर्थात् दुई सय ५ औं भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विशिष्ठ व्यक्तित्व सम्मिलित उक्त सम्मेलन असार २९, ३० र ३१ गतेसम्म चल्ने आयोजक समितिका डा देवी नेपालले जानकारी दिए ।

आयोजकले आजको २१औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसको महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे विभिन्न कार्यपत्रमा विश्वभरबाटै आएका आगन्तुक सहित बसेर बृहत्तर छलफल हुने छ ।

सायद, दक्षिण एसियामै विश्वस्तरको यो कला साहित्य सम्मिलन पहिलो हो,’ प्रा. राजेन्द्र सुवेदी भन्छन्, ‘यसको महत्त्व नेपाललाई त हुन्छ नै तर यसले दक्षिण एसियामात्र नभई एसियाली र युरोपेली जगत्मा समेत दीर्घकालीन असर पार्ने छ ।’

सम्मिलन बहुभाषिक कविगोष्ठी र सांस्कृति कार्यक्रम सहित हुने छ ।

तीन दिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि रहेको छ । प्रा ।डा राजेन्द्र सुवेदीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।

समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदि सहभागी हुने छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री तथा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानका सल्लाहकार तथा पदाधिकारीलाई नेपालका सबै भाषाभाषी र सबै विधा समेट्न निर्देशन दिएपछि यो कार्यक्रमको थिम जन्मेको प्रा सुवेदी सुनाउँछन् ।

करिब २ महिना अघि यस सम्मिलनको अवधारण जन्मेको हो ।

प्रम ओलीले सबै भाषाभाषी र स्रष्टालाई राष्ट्रको समृद्धि, विकास र सुशासनका लागि भाषा, चलचित्र, कला र संस्कृतिका माध्यमबाट आआफ्ना ठाउँबाट भूमिका खेल्ने गरी नयाँ युगको नयाँ दृष्टिकोण जन्माउने दिशामा जान सुझाएको थिए ।

प्रधानमन्त्रीले नेपाली राष्ट्रियता र संस्कृतिको प्रवद्र्धन र जागरणमा भूमिका खेल्ने लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, गोकुल जोशी, पारिजात आदिका स्मृतिमा नेपाली, साहित्य, कला, पत्रकारिता आदि विषयमा नियमित रुपमा छलफल, बहस तथा भेटघाट भइरहनुपर्ने बताएका थिए ।

प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा, महासचिव डा देवी नेपाल र प्रा बद्रीविशाल पोखरेलले प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ अवधारणा लिएर विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

ओलीको आलोचना

प्रम ओलीलाई भने प्रज्ञा प्रतिष्ठान बाहिरै प्रतिष्ठानका विषयहरु अभ्यासमा ल्याएको एकथरीको आलोचना छ । तत्कालीन पञ्चायती कालमा शाह वंशीय शासकहरुले राजकीय प्रज्ञा प्रतिष्ठान मार्फत कला साहित्यलाई अगाडि बढाएका थिए ।

त्यसको विरोधमा पञ्चायतकालखण्डदेखि नै साहित्य सन्ध्या जस्ता माध्यमबाट पारिजात लगायतले विरोध गर्दै नयाँ मान्यता स्थापित गर्ने संघर्ष गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठान हुँदाहुँदै ‘मदन भण्डारी फाउन्डेसन’को ब्यानरमा कला साहित्य अभिवृद्धि गर्ने लागिपर्दा राज्यको वैधानिक निकायको उपेक्षा गरिएको बताएका छन् ।

आर्थिक पक्ष

‘हिमवत्खण्ड’ कला साहित्क सम्मिलन सम्पन्न गर्न सरकारी तथा निजी उद्यमीहरुको सहयोग रहेको छ । कार्यक्रमको कुल बजेट ५० लाख हाराहारीमा रहेको आयोजक बताउँछ ।

कार्यक्रममा विदेशी पाहुनालाई नेपाल ल्याउन हवाइजहाजको भाडा सरकारी हवाइजहाज कम्पनी नेपाल एयरलाइन्सले खर्च बेहोर्ने गरी तयारी छ भने कार्यक्रम अवधिभर प्रयोग हुने गाडी निजी क्षेत्रको सहयोगमा चल्ने छन् ।

तेस्रो दिन चन्द्रागिरी

कार्यक्रमको तेस्रो दिन चन्द्रागिरी हिल्समा हुने सम्पूर्ण कार्यक्रमको खर्च चन्द्रगिरी हिल्सले सञ्चालन गरेको केबुलकारले गर्ने भएको छ ।

पाहुनालाई खाने बस्ने खर्च काठमाडौं नगरपालिकाको सरकारी कोषबाट खर्चिने व्यवस्था भएको छ । सम्मिलन सबै दल र विचार समूहहरु सहभागी हुने भएका छन् ।

३ दिने कार्यक्रमः कहिले के हुने ?

कार्यक्रमको पहिलो दिन बहुभाषिक सांस्कृतिक कार्यक्रम तय गरिएको छ ।

सांस्कृतिक संस्थानको सभा हलमा आयोजित उक्त कार्यक्रममा नेपालभित्रका ७ भाषाका ७ गीत र ७ नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ भने दोस्रो दिन डामाधव पोखरेलले ‘हिमवत खण्डका भाषा र नेपाली भाषाको स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी जितेन्द्र देवले ‘नेपालका भाषाहरु र तिनका साहित्यिक स्थिति’ माथि कार्यपत्र प्रस्तुत गर्दैछन् । विदेशबाट आएका विद्वानहरुले पनि नेपाली भाषामा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख कविता लामाले ‘नेपाल बाहिर भानुभक्तलाई हेर्ने दृष्टिकोण’ माथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी कलाकार ठाकुरप्रसाद मैनालीले ‘नेपालका कला र सांस्कृतिको स्थिति र भावी दिशा’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्पूर्ण कार्यपत्रको नेपालबाट डा। अभि सुवेदी र डा। वासुदेव त्रिपाठीले संयोजन गर्ने र विदेशबाट कोलाकाता विश्वविद्यालयका प्राध्यापक सत्यप्रकाश तिवारीले संयोजन गर्ने बताइएको छ दोस्रो दिनको दोस्रो कार्यक्रममा नेपालका बहुभाषी गोष्ठी राखिएको छ ।

७ प्रदेशका १५ जोडी नारी-पुरुष कविले स्थानीय भाषाका कविता वाचन गर्नेछन् । त्यसैगरी स्थानीय भाषाका थप पाँच कविले आफ्ना भाषाका कविता वाचन गर्नेछन् ।

साँझ विदेशी पाहुनालाई आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित नेपाली चलचित्र देखाइनुका साथै नेपाली पाहुनाहरुका लागि मनोज गजुरेल, सीताराम कट्टेल धर्मुससहितको टिमले हास्यब्यङ्ग्य कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

तेस्रो दिन नेपालका जिल्ला जिल्लाबाट आएका तथा विदेशबाट आएका कविहरुलाई समेटेर चन्द्रगिरी हिल्समा कार्यक्रम गरिने भएको छ ।

उक्त दिन कविहरुले दिनभरि चन्द्रागिरी हिल्सको डाँडोमा बसेर कविता लेख्ने कार्यक्रम छ ।

त्यहाँ नेपाली गाउँघर र पहाडी क्षेत्रको चित्र कोर्ने कार्यक्रम राखिएको छ । चन्द्रागिरीमै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको समापन गर्ने योजना छ ।

 

 

...

शुक्रबार, २९ असार, ०७५

 

प्रतिक्रिया

Related