राजमार्गका पुल धरापमा ! समयमै ध्यान नदिँदा यसरी हुन्छ धनजनको क्षति

मर्मतकै नाममा कराडौँ रकम नाश
निर्माण सञ्चार, काठमाडौँ | दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो– पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा । पुल सञ्चालनमा आउन करिब डेढ महिना लाग्यो ।

डाइभर्सन बनाएर अस्थायी रूपमा सवारी साधन सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए । मालवाहक सवारी साधन सडकमै रोकिए ।

दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भयो ।

दोस्रो पटकको मर्मतमा मात्र करिब २३ लाख रुपियाँ खर्च भएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । ‘पहिला समस्या आएकै पुलमा दोस्रो पटक पनि थपियो तर सुरुमा मर्मत गरेको भन्दा फरक ठाउँमा भासियो,’ डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले भने, ‘समस्या भएपछि मर्मत गरेर चलाउनुको विकल्प थिएन ।’

उनका अनुसार पटक–पटक पुलले समस्या दिएपछि अहिले नयाँ पुल निर्माणका लागि ठेक्का भइसकेको छ ।

३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का भएको उनले बताए । ‘पुल पुरानो भयो, फाउन्डेसन ओपन थियो,’ उनले भने, ‘ढुंगागिट्टी निकाल्दा त्यसको असर पुलमा पर्यो । नयाँ पुल बनेपछि त्यो समस्या नआउला भन्ने छ ।’

पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन र तनहुँको बेनीटार जोड्ने त्रिशूली नदीमाथिको पुलमा समस्या आएको वर्षौं भइसक्यो । वर्षौंदेखि मर्मतकै भरमा पुल सञ्चालनमा छ । इन्जिनियरका अनुसार मर्मत गरेर चलाइएकाले धेरै टिक्नेवाला छैन ।

‘धेरै टिके ३/४ महिना टिक्ला,’ एक इन्जिनियरले भने, ‘नदी गहिरिएको छ, त्यही भएर धेरै टिक्नेवाला छैन ।’ अहिले यसको विकल्पका रूपमा नमुना आर्क ब्रिज निर्माण भइरहेको छ ।

त्यस्तै, गोरखाको मस्र्याङ्दी पुलमा पनि सवारी साधन चिप्लिएर दुर्घटना हुने समस्या कायमै छ । दुवै पुल चीन सरकारले सन् १९७४ मा हस्तान्तरण गरेको हो ।

‘दुवैमा चीनले काठको डेक हालिदिएको थियो, अहिले काठै नपाउने अवस्था छ,’ पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘सालको काठ ठूलो परिणाममा पाउन गाह्रो हुने भएकाले त्यसलाई हटाएर स्टिलको प्लेट राखिएको छ, यो पनि राखेको एक/डेढ वर्षमा च्यातिइरहेको छ, गाडी गुडेपछि आफैं प्लेट च्यातिने समस्या छ ।’

२०५० सालमा काठ फेरियो तर त्यो १० वर्ष पनि टिकेन । यो पुलबाट दैनिक ७ हजार सवारीसाधन वारपार गर्छन् ।

मुग्लिनको पुल एकपटक मर्मत गर्दा करिब ३ करोड खर्च हुन्छ । आर्क ब्रिज सञ्चालनमा आएपछि सवारी आगमनमा समस्या नहुने थापा बताउँछन् ।

मस्र्याङ्दी नदीको पुलको बारेमा भने विकल्प खोजिएको छैन । यो पुल एकपटक मर्मत गर्दा करिब ७ करोड खर्च हुन्छ । यसरी मर्मत गरेपछि तीन वर्ष चल्ने गरेको पुल महाशाखाको दाबी छ ।

 प्रत्येक वर्ष ठूला ३/४ वटा पुलमा समस्या

दैनिक व्यस्त रहने राजमार्गका अधिकांश पुलमा यी समस्या छन् ।

पुल महाशाखाकाका अनुसार मुख्य राजमार्गमा १ हजार ७ सय ८ वटा पुल छन् । प्रत्येक वर्ष ठूला ३/४ वटा पुलमा समस्या आउने गरेको छ । ठूला पुल मर्मतमा मात्र वार्षिक २० करोडभन्दा बढी खर्च हुने गरेको छ ।

पुराना पुल बढी महेन्द्र राजमार्गमा छन् ।

विशेष गरेर पूर्वी सेक्टर काँकडभिट्टादेखि ढल्केबर खण्डका पुलले बेला–बेला समस्या दिने गरेका छन् । रुसले बनाइदिएका पथलैयादेखि ढल्केबरसम्मका करिब ५५ वटा पुलमा समस्या आउने गरेको छ ।

अधिकांश पुलले ४४ वर्ष नाघिसकेका

सन् १९७४ मा हस्तान्तरण भएका अधिकांश पुलले ४४ वर्ष नाघिसकेका छन् ।

सामान्यतया पुलको आयु ७०/७५ वर्ष हुन्छ । ‘अधिकांश पुल सिंगल लेन र रोड दुई लेन हुँदा बोटल नेकजस्तो भएको छ,’ थापाले भने, ‘यसले गर्दा पुलमा धेरै जाम र दुर्घटनाको खतरा हुने गरेको छ ।’

त्यो खण्डका सबै पुललाई ४ लेनमा प्रतिस्थापन गर्ने सोच भएको र ५ वर्षभित्र सक्ने योजना रहेको उनले बताए । दुधौरा पुलबाट यसको सुरुवात भएको छ ।

यो पुल पथलैयाबाट ३ किमि पूर्वमा पर्छ ।

‘योजना काँकडभिट्टादेखि बुटवलसम्मको राजमार्गलाई ४ लेनमा विकास गर्ने भन्ने हो, त्यहाँ प्रतिदिन गुड्ने गाडीको संख्या करिब १० हजार हाराहारी छ । १० हजारभन्दा बढी सवारी संख्या पुग्नेबित्तिकै त्यो सडकलाई ४ लेनमा लग्नुपर्छ,’ थापाले भने ।

कोसीदेखि काँकडभिट्टासम्म करिब ४५ वटा पुल छन् ।

महोत्तरी र सिरहाको सीमामा पर्ने कमला नदीदेखि कोसीसम्म ५५ वटा पुल छन् । ‘यी ठाउँमा बन्ने पुलको डिजाइन भइसकेको छ,’ थापाले भने, ‘राजमार्गलाई ४ लेन गर्ने र पुललाई पनि अहिले रहेको २ लेनमा थप २ लेन बनाउने हाम्रो कार्यक्रम छ ।’

उनका अनुसार पुल २ वटा हुनेछन्, आउने र जाने । नारायणगढ–बुटवल खण्डमा ३३ वटा पुल छन् । यो खण्डका पुलको टेन्डर भइसकेको छ ।

‘नारायणगढ–गैंडाकोट जोड्ने नारायणी नदीको पुलको टेन्डर हुन बाँकी छ, त्यसलाई अलग्गै गर्ने तयारीमा छौं,’ उनले भने, ‘यो वर्ष डिजाइन सुरु गर्छौ विश्व बैंकको सहयोगमा त्यसमा नयाँ डिजाइन गरेर पुल निर्माणमा जाने छौँ ।’

यो पुल २०३८ सालमा सञ्चालनमा आएको हो ।

‘अझै २०/३० वर्ष चल्न सक्थ्यो तर त्यहाँको ट्राफिक बढी भइसक्यो, दैनिक १५ हजारको संख्यामा सवारी साधन गुडछन्,’ उनले भने, ‘त्यसैले नयाँ पुलको आवश्यकता छ ।’

साँघुरो पुलले गर्दा मर्मत गर्न समस्या हुने गरेको छ । पुलमा समस्या आउनासाथ सवारी आवगमन रोक्नुपर्ने बाध्यता छ ।

‘पहिला सवारी साधन थोरै थिए, सिंगल लेनका पुलमा गुड्न समस्या थिएन,’ उनले भने, ‘एक दशक भयो, सवारी चाप बढेको छ, प्रतिवर्ष ७ प्रतिशतका दरले सवारी साधन बढे पनि साँघुरा पुलले समस्या भएको छ ।’

पुल भासिएको होइन, सँगै रहेको सडक भासियो !

उता पूर्व–पश्चिम राजमार्गमै पर्ने सप्तरीको महुली खोलानजिकको सडक लगातारको बाढीले गर्दा शनिबार भासियो । पुलसँगै जोडिएको सडक भासिएपछि दिनभरि एकतर्फी मात्र यातायात सञ्चालन गरियो ।

‘पुल भासिएको होइन, सँगै रहेको सडक भासिएको हो,’ सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख रामकुमार देवले भने, ‘सडक मर्मत गरेर यातायात सुचारु गरिसकेका छौं ।’

सडकसँग जोडिएको पुल भएकाले जोखिम भएको छ ।

पुल महाशाखाका अनुसार २ सय ७६ पुल निर्माणाधीन छन् ।

महाशाखाका उपमहानिर्देशक थापाका अनुसार राजमार्गमा थप १ हजार ५ सय पुलको माग छ ।

बिहीबारको कान्तिपूर दैनिकबाट

...

शुक्रबार, २९ असार, २०७५ 

प्रतिक्रिया

Related