मेगा बैंक सञ्चालक समिति अध्यक्षमा शाह, सञ्चालकमा शिवाकोटी सहित नयाँ नेतृत्व

८ वर्षमै सयवटा शाखा विस्तार गरेको मेगा बैंक आगामी दिनमा झनै आक्रामक भएर जाने उद्देश्य
निर्माण सञ्चार, काठमाडौं । स्थापना भएको दशक नपुग्दै राम्रो उचाइ लिएको बैंक हो मेगा बैंक लिमिटेड ।

पश्चिमाञ्चल विकास बैंक तथा टुरिजम डिभालप्मेन्ट बैंकलाई आफूमा गाभेर अगाडिको यात्रा तय गरिसकेको मेगा बैंकले आउने ४ वर्षका लागि अध्यक्ष भोजबहादुर शाह सहितको नयाँ सञ्चालक समितिको चयन गरेको छ ।

शुक्रबार राजधानीमा भएको सातौं साधारण सभाले बैंकको अध्यक्षमा पुनः शाहलाई दोहोर्याएको हो । साधारण सभाबाट ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको अध्यक्ष शाहले निर्माण सञ्चारलाई बताए ।

नयाँ सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट शाह सहित गोपाल खनाल, मदनकुमार आचार्य चयन भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट बालकृष्ण शिवाकोटी, मुक्तिराम पाण्डे र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।

उद्यमी शिवाकोटी सिहत सिंगो टिमलाई शुभकामना !

गाउँ गाउँमा पनि विकास र बैंकिङ सेवा पुर्याउने नमूना काममा सफलता हासिल गरेको युवा उद्यमी बालकृष्ण शिवाकोटी यस अघि कालिञ्चोक डेभलपमेन्ट बैंकका अध्यक्ष थिए ।

ग्रामीण वित्तीयकरणको राम्रो अनुभव तथा बैंकिङ विकासबारे योजना समेत दिन सक्ने उद्यमी शिवाकोटीको दोलखास्थित कालिञ्चोक गाउँपालिका वडा नम्बर–८ सुनखानीमा स्थायी बसोबास छ ।

स्थानीय विकास र बैंकिङ क्षेत्रमा राम्रो ‘गुडविल’ कमाएका शिवाकोटीकै सफल पहल कदमीमा डेढ वर्ष अघि टुरिज्म डेभलपमेन्ट बैंकमा कालिञ्चोक गाभिएको थियो ।

करिब २ महिना अघि टुरिजम डेभलप्मेन्ट बैंक मेगा बैंकमा मर्ज भएको छ ।

मर्ज भएसँगै शिवाकोटीको काँधमा आएको छ मेगा बैंकमा जोडिएका सर्वसाधारण शेयरधनीहरुको भविष्य । चुक्ता पुँजीका हिसाबले इन्भेस्टमेन्ट बैंकपछिको दोस्रो ठूलो बैंकका रुपमा रहेको मेगा बैंक समाजमा पनि राम्रो छाप पार्न सफल बैंक हो ।

निर्वाचित भएपछि सिंगो टिमलाई सामाजिक सञ्जालभर शुभकामनाको वर्षा लागेको छ ।

बैंकलाई अझै अघि बढाउनेबारे अध्यक्ष शाह भन्छन्, ‘मेगा बैंकलाई जनता र अबका दिनमा विकासको सहयात्रीका रुपमा विकास गर्ने लक्ष्य राखेको छु ।’

अध्यक्ष शाह मेगा बैंकको अल्पकालमा दीर्घ प्रगतिप्रति गर्व गर्न र सिक्न लायक पाठहरु रहेको बताउँछन् । नयाँ सञ्चालकको जिम्मेवारी काँधमा आएपछि उनले ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वास र सहयोग प्रति धन्यवाद समेत दिएका छन् ।

आगामी दिनमा मेगा बैंकलाई देशका कुनाकुनामा पुर्याउने उद्देश्य राखेका शाहले बैंकिङ सेवा अझै सुविधा सम्पन्न र वञ्चित विपन्न वर्गको पहुँचमा पुर्याउने पनि बताएका छन् ।

साधारण सभापछि सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताइन ।

मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

 

 

...

आइतबार, ३१ असार, ०७५

 

प्रतिक्रिया

Related