मापदण्ड पूरा नगरी चलेका क्रसर उद्योगमाथि धमाधम कारबाही

केही दिनमै मापदण्ड पूरा नगरे उद्योग नै बन्द गर्ने चेतावनी
निर्माण सञ्चार, काठमाडौँ | देशैभरका अधिकांश क्रसर उद्योगहरुले अवैध ढंगले बालुवा उत्खनन गर्दै आइरहेका छन् ।

मापदण्ड विपरित बालुवा उत्खनन गरेर चर्को मूल्यमा विक्रि वितरण गर्ने क्रसर उद्योगीहरुको प्रवृत्ति पछिल्लो समय हाबी हुदै गइरहेको छ ।

जसमध्ये गोरखा जिल्लामा पनि अवैध किसिमले बालुवा उत्खनन हुने गरेको छ ।

त्यसरी मापदण्ड पूरा नगरी सञ्चालन भएका गोरखाका अधिकांश क्रसर उद्योगमाथि हाल कारबाही प्रक्रिया सुरु गरिएको छ ।

ती क्रसर उद्योगमाथि निरीक्षण गर्न जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमेतको टोलीले शनिबार पालुङटार नगरपालिका–१ को टी सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग र गोरखा नगरपालिका १० को गोरखकाली क्रसर उद्योगको निरीक्षण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अनुगमनका क्रममा टी क्रसर उद्योगले उद्योग सञ्चालनमा आगि आवश्यक कागजपत्र बुझाउन सकेन भने सिम्रन क्रसर उद्योगको नविकरण नै नभएको भेटियो ।

यसैगरी, माइ मनकामना क्रसर उद्योगको पनि नवीकरण ‘फेल’ भएको र अन्य आवश्यक केही कागजपत्र नभेटिएको कार्यालयले जानकारी दियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक झविन भट्टराईले कागजपत्र नभएका सञ्चालकलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा आउन भनिएको बताए ।

उनकाअनुसार गोरखकाली क्रसर उद्योगका सुपरभाइजर प्रवोध रानालाई पनि केही दिनभित्रै आवश्यक कागजपत्र बुझाउन लिखित प्रतिवद्धता गरेर छाडिएको छ ।

कार्यालयले भनेको केही दिनभित्र आवश्यक मापदण्ड पूरा नगरे उद्योग बन्द गर्ने चेतावनी समेत दिइएको छ । आवश्यक मापदण्ड पूरा गर्नेलाई भने सहज वातावरण सृजना गर्ने प्रहरी निरिक्षक झविन भट्टराईले दाबी गरे ।

....

आइतबार ३१, असार २०७५ 

प्रतिक्रिया

Related