१४.५ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत् आयोजनाको विद्युत् किन्न प्राधिकरण तयार

निर्माण सञ्चार, काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले उत्पादन गर्ने १४.५ मेगावाट विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरण तयार भएको छ ।

निजी क्षेत्रबाट उत्पादित विद्युत् किन्ने एउटै मात्र ‘मोनोपोली’ प्राप्त निकायका रुपमा रहेको नेपाल विद्युत् प्राधिकरणले मंगलबार उक्त कम्पनीसँग विद्युत् खरिद बिक्री सम्झौता अर्थात् पिपिए गरेको हो ।

०७६ मंसिरबाट निर्माण कार्य सुरु गरी ३ वर्ष भित्र अर्थात् ०७९ मंसिरभित्रमा विद्युत्को प्रारम्भिक उत्पादन सुरु गर्ने लक्ष्य सहित उक्त सम्झौता भएको विद्युत् व्यवसायी प्रकाश दुलालले निर्माण सञ्चारलाई बताए ।

यस अवधिमा कम्पनीले बैंकिङ प्रक्रिया अर्थात् फाइनान्सियल क्लोजर, इक्विटी जस्ता प्राविधिक पक्षहरुको तयारी गर्ने छ र आउने वर्षको मंसिरबाट निर्माण कार्य अगाडि बढाउने छ ।

हजारौं मेगावाट विद्युत् उत्पादन क्षमता भएको नेपालको पूर्वी क्षेत्रमा पर्ने भोजपुरमा उक्त आयोजनास्थल रहेको छ ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र इखुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक आरती पावर कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युत् वर्षामा प्रतियुनिट ४ रुपियाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपियाँ ४० पैसामा खरिद गर्ने छ ।

दुलालका अनुसार उत्पादित विद्युत् संखुवासभा जिल्लाको शितलपाटीमा निर्माण हुने २२० केभीको सवस्टेशनमा जोडिने छ ।

आयोजना स्थलबाट सवस्टशेनसम्म विद्युत् लैजान प्रवद्र्धक कम्पनी आफैँले ८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने छ ।

कूल लागत २ अर्ब ६० करोड रहेको उक्त आयोजनामा ७८ करोड स्वपूँजी (इक्विटी) रहनेछ भने १ अर्ब ८२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋणका रुपमा पुँजी संकलन गरिने छ ।

 

 

...

बुधबार, ०२ साउन, ०७५

 

प्रतिक्रिया

Related