गौतमबुद्ध विमानस्थलको सकियो आधा कामः २०१९ देखि अन्तर्राष्ट्रिय उडान

हाल काममा तिव्रता, तोकिएकै समयमा पूरा हुने विश्वास
निर्माण सञ्चार, काठमाडौँ | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आधा काम सम्पन्न भएको छ । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको विमानस्थल निर्माणको काम हालसम्म ५० प्रतिशत मात्रै सकिएको छ ।

राष्ट्रिय गौरवको सो विमानस्थल सन् २०१५ जनवरीमा सुरु गरिएको थियो । विमानस्थल निर्माणको थालनी गरिएको दुई वर्षमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएता पनि लक्ष्यअनुसारको काम हुनै सकेन ।

चिनियाँ ठेकेदारले सन् २०१७ मै पूरा गर्ने लक्ष्य राखेर काम सुरु गरेता पनि विमानस्थलको काम सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताइएको छ ।

 काममा ढिलासुस्ती

विमानस्थल निर्माण कार्य सुरु गरेसँगै विभिन्न बहाना गर्दै निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ ।

कम्पनीले निर्माण समाग्रीको अभाव, मुआब्जा विवाद, मधेस आन्दोलन लगायतका कारण देखाउँदै काममा लापरवाही गर्दै आएको छ । सोहीकारण तोकिएको समयमा विमानस्थलको निर्माण हुन नसकेको हो ।

चेतावनीपत्र नागरिक उड्ययन प्राधिकरणलाई

यसरी चिनियाँ कम्पनीले निर्माणका काममा लापरबाही गरेपछि विमानस्थल निर्माणमा लगानी गरेको एशियाली विकास बैंकले दुई महिना अगाडि मात्रै अनुदान र ऋण रोक्ने चेतावनीपत्र नागरिक उड्ययन प्राधिकरणलाई पठाएको थियो ।

बैंकले जनवरीपछि त ऋण र अनुदानसमेत बन्द गरेको थियो ।

त्यसपछि, निर्माण कम्पनीले काममा तीव्रता दिन थाल्यो भने एडीबीले पनि ऋण लगानीलाई निरन्तरता दिएको छ । विमानस्थल निर्माण सम्पन्न भएर अन्तर्राष्ट्रिय उडान थालनी भएपछि सो विमानस्थलमा दैनिक १५ हजारदेखि २५ हजारसम्म आन्तरिक तथा वाह्य यात्रु र पर्यटक अवतरण हुने अनुमान लिइएको छ ।

 हाल काम तीव्र गतिमा !

सो समयदेखि सबै पक्ष सहज भएसँगै निर्माण कार्यले पनि तीव्रता पाएको छ ।

आयोजना प्रमुख इन्जिनियर ओम शर्माका अनुसार सन् २०१९ जुन सम्ममा विमानस्थल निर्माणको काम पूरा गर्ने लक्ष्यका साथ कामलाई तिव्रता दिइएको छ ।

‘हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको छ’, शर्माले भने ‘विमानस्थलको अप्ठ्यारा मध्येका कामहरु धमाधम पूरा हुने अवस्थामा छन्, अब सन् २०१९ को जूनसम्म विमानस्थल स्तरोन्नतिको सबै काम सम्पन्न हुन्छन् ।’

उक्त विमानस्थलको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले हाल काममा तिव्रता दिएको हुँदा निर्धारित समयमै काम पूरा हुने विश्वास बढेको शर्मा बताउँछन् ।

उनकाअनुसार विमानस्थलमा हालसम्म २ अर्ब ६ करोड रुपियाँ खर्च भइसकेको छ ।


...

आइतबार, ६ साउन २०७४ 

प्रतिक्रिया

Related