जुम्लामा विद्युतीय हाजिरको आकर्षण, एकैदिन हाजिर गरी तलब खाने शिक्षकलाई शास्ती !

हप्ताको हाजिर एकै दिन गरी तलब खानेका दिन अब गए
निर्माण सञ्चार, कर्णाली प्रदेश । वर्षभरिमा कोर्ष पुरा नहुने, शिक्षक विद्यालय नियमति उपस्थित नहुने, एक हप्तामा एकदिन आएपनि हप्ताकै हाजिर लगाएर तलब खाने, विद्यालय आएपनि ४ नबज्दै विद्यालयबाट निस्कने लगायतका विद्यामान समस्या कर्णालीका विद्यालयमा छन् ।

कर्णालीका अधिकांश विद्यालयमा कुनै वर्ष पनि पुरै कोर्ष पढाई हुँदैन ।

महिनौँ दिनपछि विद्यालय गएता पनि हाजिर नियमित लगाएर तलब खाने लगायतका शिक्षामा भईरहेको लापरबाहीको अन्त्य गर्ने उद्देश्यले जुम्लाका ग्रामिण विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ ।

तातोपानी गाउँपालिका ८ को कालिका माविका प्रधानाध्यापक मान बहादुर शाही भन्छन्, ‘आफ्नो विद्यालयमा विद्युतीय हाजिर जडान गरेबाट शिक्षकहरु नियमित छन् ।’

विद्युतीय हाजिरी जोडएको एक महिना नपुग्दै यसको प्रभावकारिता देखिन सुरु भइसकेको प्रधानाध्यापक शाहीको भनाई छ ।

उनकाअनुसार यसअघि ११ बजे आएर १ बजे घर जाने शिक्षकहरु हालका दिनमा बिहान ९ः४५ र बेलुका ४ः१५ बजे दुईपटक औँठा छापको विद्युतीय हाजिरी लगाउने पद्धति बसालिसकेका छन् ।

शिक्षकहरु नियमित भएर आफ्नो भुमिका जिम्मेवारीपुर्वक निभाएमा गुणस्तरीय शिक्षा दिनसकिने प्रअ शाहिको विश्वास छ । सो विद्यालयमा अहिले १५ शिक्षक, र ४७४ बालबालिका अध्ययनरत छन् ।

यता चन्दननाथ माविका प्रअ टंक बुढाले पनि विद्युतीय हाजिरी जडान गरेपछि निकै सहज भएको बताए । जिल्लाकै एक नमुना विद्यालय बनाउन विद्युतीय हाजिरीले सिस्टम सिकाएको उल्लखे गरे ।

हाजिरीका आधारमा तलब

जुम्लाका विद्युतीय हाजिरी जडान गरिएका विद्यालयमा कार्यरत शिक्षकलाई हाजिरीका आधारमा तलब दिने व्यवस्था गरिएको छ ।

पहिलेको जस्तो विद्यालय नआएपनि पुरै महिनाको तलब खातामा जाने मनपरि व्यवस्थालाई विद्युतीय हाजिरीले अन्त्य गरिएको कालिका माविका विव्यव अध्यक्ष सुरतबहादुर शाहीले बताए ।

उनले भने, ‘चौमासिक रुपमा शिक्षकलाई तलब दिँदा उनीहरुकोे हाजिरीका आधारमा दिने गरेका छौँ ।’ ‘हचुवाको भरमा तलब हुँदैन, एकदिन विद्यालय नआएपनि तलब काटिन्छ’ उनले थपे, ‘चार महिनामा जति दिन हाजिर भएका छन्, सोहीआधारमा तलब खुवाउने गरेका छौँ ।’

विद्यालय नगएको दिनको तलबको रकम काटेर विद्यालयको शैक्षिक विकासका क्षेत्रमा खर्च गर्ने योजना राखेको अध्यक्ष शाहीको भनाई छ ।

अहिले सबै शिक्षक नियमित आउन थालेको उनको भनाई छ ।

जुम्लाकै नमुना विद्यालयका रुपमा विकास हुँदै गरेको कालिका मावि विद्यालयका शिक्षकहरु पनि अहिले उतिकै जागरुक भएका छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्रदान हुने नमुना विद्यालय कार्यक्रममा पर्ने सम्भवना रहेको शिक्षकहरु बताउँछन् ।

सुगमलाई चुनौती दिँदै दुर्गमका विद्यालय

जुम्लाको अत्यन्तै विकट मानिने साविकको ताम्ती गाविस एवं हालको तातोपानी गाउँपालिका–८ को कालिका मावि, टोप्लामा विद्युतीय हाजिरी शुरु गरिएको छ ।

जो ठाँउ जुम्ला सदरमुकाम खलंगादेखि झण्डै ४१ किलोमिटर बढीको दूरीमा अवस्थित छ ।

अवसरबाट लाभ दिने सुगमका विद्यालयलाई चुनौती दिँदै दुर्गमका विद्यालयले शैक्षिक विकासका लागि चालेको कदम निकै सराहनिय रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

कालिका माविको विद्युतीय हाजिर उद्घाटन गर्दा उनले तातोपानी गाउँपालिकामा शिक्षा क्षेत्रमा गर्नसक्ने विद्यालयलाई आवश्यक सहयोग गर्ने बचन दिएका छन् ।

उनले इच्छाशक्ति भए भूगोल बाधक हुँदो रहेनछ भन्ने कुरा कालिका मावि परिवारले देखाएको बताए ।

विद्युतीय हाजिरीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन, शिक्षकलाई नियमित, अनुशासित र समुदायप्रति जिम्मेवार बनाउन पुलको काम गरेको उल्लखे गरे ।

सदरमुकाम आसपासका विद्यालयमा अझै विद्युतीय हाजिरीको व्यवस्था छैन्, खाली चर्को शुल्क लिने, तथा प्रचारबाजीमा बढी सक्रिय रहेको पाईन्छ ।

तर विभिन्न क्षेत्रबाट पाउने सम्मान पनि जुम्लामा हात्तीका देखाउने दाँत जस्तै गतिविधि गर्ने गरेको सुन्दा अति दुःख लाग्ने गरेको भवानी प्रावी प्रधानाध्यापक अर्जुन बुढा बताउँछन् ।

जसले कर्म गर्छ उसैले फल पाउनुपर्छ, तर यहाँ हालमुहाली गर्नेकै बर्चसो बढी गुनासो गरे ।

त्रिकोणात्मक भुमिका आवश्यक

विद्यालय सुधारका लागि त्रिकोणात्मक भुमिका हुन आबश्यक रहन्छन् ।

शिक्षक, विद्यार्थी तथा अभिभावकले नमुना विद्यालय बनाउका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न आवश्यक रहने गाउँपालिका शिक्षा समितिका सदस्य रुद्धसिंह मल्लले बताए ।

उनले विव्यसको अगुवाइ, शिक्षकको सक्रियता र समुदायको महत्वपूर्ण सहयोगबाट नै विद्यालय नमुना तथा गुणस्तरीय शिक्षा आर्जन हुने बताए ।

कालिका माविले विद्युतीय हाजिरीको अभिलेखीकरण गर्न, प्रोजेक्टरद्वारा सार्वजनिक सुनुवाइ गर्न तथा अन्य गतिविधि सञ्चालनका लागि कम्प्यूटर अपरेटर राखेको छ ।

विद्युतीय हाजिरीलगायत अन्य सबै काम गर्न २४ सैँ घण्टा विद्युत्को व्यवस्था गरिएको छ र त्यो नहुँदा विकल्पमा सोलारको पनि प्रबन्ध मिलाइएको छ ।

एकैदिन हाजिर गरी तलब खाने शिक्षकलाई भने यो व्यवस्थाले कतै सास्ती त परको छैन भन्ने आम मानिसको चासोको विषय बनेको छ ।

हप्ताको हाजिर एकै दिन गरी तलब खानेका दिन भने अब गएको उनको भनाई छ ।

माविका प्रधानाध्यापक मानबहादुर शाहीले राज्यको पर्खाइको पीडा सहन नसकेर समुदायका नागरिकले कमाइको केही अंश तिरेर विद्यालय सञ्चालन गर्दै आएको बताए ।

जुम्लाका चन्दननाथ मावी, कालिका मावि, अनामनगर मावि लगायतका १० प्रतिशत विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ ।

कर्णाली प्रदेशका संवाददाता सागर परियार

...

सोमबार, ७ साउन २०७५

 

प्रतिक्रिया

Related