आयल निगममा अब सर्वसाधारणलाई पनि सेयर, चुक्ता पुँजी पुग्यो ११ अर्ब

निगममा कस्को कति सेयर ?
निर्माण सञ्चार, काठमाडौं । सरकारी स्वामित्व अन्तर्गत रहेको नेपाल आयल निगमले अब सर्वसाधरणलाई पनि सेयर जारी गर्ने तयारी गरेको बताएको छ ।

निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टराईले अब केही दिनमै प्रक्रियागत विषय टंग्याउने र सर्वसाधारणका नाउँमा पनि सेयर जारी गर्न सक्ने ठाउँमा पुग्ने जनाए । उनका अनुसार केही प्रक्रियागत कुरा टुंग्याउन बाँकी छ ।

केही समयमै निगमले सर्वसाधारणका नाउँमा सेयर जारी गर्ने छ ।

निगमको शुक्रबार बसेको वार्षिक साधारणसभाले गत दुई आर्थिक वर्षको सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गरेको छ ।

उनका अनुसार यतिबेला निगमको चुक्ता पुँजी ११ अर्ब पुगेको छ । चुक्तापुँजीमा वृद्धि गरेसँगै अब सेयर संरचनामा परिवर्तन गर्न निगमलाई बाटो खुलेको उनको जिकिर छ ।

निगममा कस्को कति सेयर ?

साधारण सभाद्वारा तय गरिएको नयाँ सेयर संरचनाअनुसार आयल निगममा सरकारको सेयर हिस्सा ९९.४६ प्रतिशत पुगेको छ ।

बाँकी ०.५४ प्रतिशत सेयर नेसनल ट्रेडिङ, राष्ट्रिय बिमा संस्थान, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कायम भएको छ । यसअघि निगमको चुक्ता पुँजी २९ करोड रुपियाँ मात्रै थियो ।

अर्थ मन्त्रालयको संयोजकत्वमा गठन भएको समितिले चुक्ता पुँजी २० अर्ब पुर्याउन र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न सुझाव दिएको थियो ।

उक्त समितिले निगमलाई सरकारको सेयर लगानीलाई ५५ प्रतिशतमा मात्रै सीमित गर्न सुझाए अनुसार निगम सरकारलाई सीमित गर्ने दिशातिर अघि बढिरहेको छ ।

उसले रणनीतिक साझेदारलाई १५ प्रतिशत सेयर दिने गरी गृहकार्य गरिरहेको छ ।

सरकारलार्ई ५५ प्रतिशतमा सीमित गरेपछि उसले सन्तुलनका लागि पनि सर्वसाधारण र रणनीतिक साझेदारलाई मिलाएर लैजानु पर्ने हुन्छ ।

पुँजी बढाउन बोनस सेयर जारी गर्ने

निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउने योजना अघि सारेको हो शुक्रबारको ३६ औ वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्ने ठाउँमा निगम आइपुगेको हो ।

गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांश वितरण गरेको थियो । जुन विवादमा आएको थियो ।

नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार वार्षिक १ खर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्यून भएपछि यसलाई वृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको हो ।

कति छ चुक्ता पुँजी ?

डेढ खर्बभन्दा बढीको कारोबार गर्ने निगमको चुक्ता पुँजी २९ करोड २३ हजार ९ सय ५७ रुपियाँ मात्रै छ । निगमलाई गतवर्ष झण्डै १९ अर्ब रुपियाँ नाफा भएको थियो ।

आउने वर्ष सेयर साझेदारलाई थोरै मात्र लाभांश वितरण गरेर ७ अर्ब रुपियाँसम्म पुँजी बोनस सेयरबाटै थप्न सकिने अपेक्षा निगमले लिएको छ ।

कम्पनी ऐन २०६३ अनुसार निगमले साधारण सेयर जारी गरे ३० प्रतिशत सर्वसाधारणका लागि पनि छुट्याउनुपर्छ । निगमले आफ्नो चुक्ता पुँजी २० देखि २५ अर्ब पुराउने तयारी गरेको छ ।

सार्वजनिक रुपमा सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी वृद्धि गर्ने योजना बनाए पनि अर्थले स्वीकृति नदिँदा सो प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

फुटकर सेयरमा मन्त्रालयहरु

निगममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०.३२ प्रतिशत बराबरको ५ लाख ९४ हजार १ सय ७४ कित्ता सेयर रहेको छ ।

यस्तै, अर्थ मन्त्रालयको ७३.४१ प्रतिशत बराबरको सबैभन्दा धेरै २१ लाख ४६ हजार ५ सय ५९ कित्ता सेयर रहेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ५.७३ प्रतिशत बराबरको १ लाख ६७ हजार ४ सय ७४ कित्ता सेयर रहेको छ ।

नेसनल टे«डिङ लिमिटेडको ०.२६ प्रतिशत बराबरको ७ हजार ५ सय कित्ता सेयर रहेको निगमले जानकारी दिएको छ ।

राष्ट्रिय बिमा कम्पनीको ०.१६ प्रतिशत बराबरको ४ हजार ५ सय कित्ता, नेपाल बैंक लिमिटेडको ०.७७ प्रतिशत बराबरको २ हजार २ सय कित्ता र राष्ट्रिय वाणिज्य बैंकको ०.५२ प्रतिशत बराबरको १ हजार ५ सय कित्ता सेयर रहेको निगमले जानकारी दिएको हो ।

 

 

...

आइतबार, १३ साउन, ०७५

 

प्रतिक्रिया

Related