दलित कोटामा संस्कृत पढ्न पाठशालाबाटै किन रोकतोक ? चन्दननाथ पाठशालामा दलितले संस्कृत पढ्नै पाएनन्

विद्यालय प्रशासन नै दोषी !
निर्माण सञ्चार, जुम्ला | पछिल्ला दिनमा विशेष गरी गणतन्त्र आएसँगै संस्कृत शिक्षा पनि विना भेदभाव पढ्न पाउने कुरा ग्यारेन्टी भएको छ ।

तर जुम्लास्थित चन्दननाथ संस्कृत पाठशालामा भने यसको ठिक उल्टो छ छ । यहाँ दलित विद्यार्थीले संस्कृत पढ्न जाँदा विद्यालयबाटै निराश बनाएर फर्काइन्छ ।

उसले संस्कृत चाहेर पनि पढ्नै नपाउने वातावरण छ । यसबारे विद्यालय प्रशासन नै दोषी रहेको स्थानीय तथा दलित समुदायका मानिसहरु बताउँछन् ।

एक अधिकारकर्मी भन्छन्, ‘किनकि दलितका नाउँमा कोटा पनि भएको सुनिन्छ । तर, जब एउटा दलितको सन्तान पढ्न भनेर त्यहाँ जान्छ हेडमास्टरले नै भर्ना सकिएको भन्दै भर्ना लिनै मान्दैनन् । जबकि, उनले संस्कृत पाठशालामा भर्ना खुलेको प्रचार प्रसार भने स्थानीय रेडियो र पत्रपत्रिकाबाट गर्न पनि छाडेका हुँदैनन् ।’

कसरी हाटाइएको थियो संस्कृत शिक्षाभित्र रहेको छुवाछूत प्रथा ?

संस्कृत शिक्षा पठन पाठनमा रहेको छुवाछूत प्रथा हटाइएबारे एउटा रोचक घटना छ ।

काठमाडौं स्थित वाल्मीकि संस्कृत विद्यापीठ अन्तर्गत रहेको तीनधारा संस्कृत छात्रावासमा ब्राह्मण वटुक मात्र होस्टेल बस्न पाउने भन्ने नियम तोडेसँगै संस्कृत छात्रावासमा दलित जनजाति बस्न नपाउने प्रथा अन्त्य भएको थियो ।

जुन अधिकार पाउनका लागि संस्कृत विश्वविद्यालय भित्र विद्यार्थी संगठनहरुले ठूलै संघर्ष गर्नु परेको थियो ।

होस्टेल बस्न नपाए पनि विद्यापीठमा पढ्न भने कसैले रोकेको चाहिँ थिएन ।

अनेरास्ववियुका तत्कालीन नेता वेदराज ज्ञवाली नेतृत्वमा २०५९ साल चैतबाट ३० सूत्रीय माग राख्दै २–३ वर्षसम्म पटक पटक भएका संघर्ष, आन्दोलन, वार्ता पछि तीन धारा संस्कृत पाठशालाको विनियममा रहेका विभेदकारी प्रावधान सच्याइएको थियो ।

अहिले उक्त छात्रावासमा सुदूरपश्चिमको जाजरकोटदेखि मध्यपश्चिम जुम्ला, दैलेख, दाङ र पूर्वी नेपालदेखि सबैतिरका विद्यार्थीहरु बसेर एउटै भान्साको भोजन सहित संस्कृत पढ्न पाउँछन् ।

उक्त संघर्ष अघिसम्म सो छात्रावासमा कतिसम्म विभेद थियो भने, ब्राह्मणका छोरा बाहेक छोरीले पनि छात्रावास बस्न पाउँन्नथे भने दलित वा जनजातिको कोखमा जन्मेकाले त कल्पना पनि गर्न सक्तैनथ्यो ।

ज्ञवाली नेतृत्वमा तत्कालीन अखिलका नेताहरु सुदर्शन ढुंगाना, सागर रिजाल, भुवनेश्वर उपाध्याय र नवराज खतिवडाहरुले जिउँदै चितामा जल्नेसम्मको लामो आन्दोलन गरेपछि मात्र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय) प्रशासनले महिला सहित दलित र जनजातिका सन्तानले पनि सो छात्रावासमा समान अधिकार सहित बस्न पाउने अधिकार सुनिश्चित भएको थियो ।

उक्त घटना संस्कृत शिक्षाको इतिहासमा एउटा कोसेढुंगा भएर बसेको विद्यार्थी आन्दोलनको इतिहास हेर्दा पुष्टि हुन्छ ।

२०६२–०६३ को जनआन्दोल अघिबाट सुरु भएको उक्त विद्यार्थी आन्दोलनको पूर्णता गणतन्त्रको उक्त आन्दोलनसँगै संविधानमा लेखिएको छुवाछूत प्रथा विरुद्धको अधिकार पूर्ण रुपमा लागू भएको अवस्था छ । तर, देशको पश्चिम क्षेत्रमा पर्ने चन्दननाथ संस्कृत पाठशालामा भने अहिलेसम्म पनि गणतन्त्र आएको छैन ।

हेडमास्टर सा’ब, चन्दननाथमा भेदभाव किन ?

यो प्रश्नको जवाफ दिदा पाठशालाका प्रधानाध्यापक ५ चोटि लर्बराउँछन् ।

चित्तबुझ्दो जवाफ दिन सक्तैनन् । विभिन्न बाहना बनाएर संस्कृत पढ्न आउने दलितका छोराछोरीलाई भर्ना लिन भने उनी नै मान्दैनन् ।

तयार छैनन् किन ? के संस्कृत शिक्षा उनको पेवापात हो ? के यो शिक्षा यसैगरी कथित उपल्लो धनिकहरुले मात्र पढ्ने शिक्षा हो ?

संस्कृत पढाउने भन्नेहरुबाटै भएको यस्तै छुवाछूतले गर्दा कुनै जमानामा साधारण माविहरुमा पनि अनिवार्य रहेको संस्कृत पाठ्यक्रमहरु आगो लगाइएको थियो भने उक्त घटना पछि यतिबेला पाठ्यक्रमबाट समेत हट्न पुगेको अवस्था छ ।

संस्कृत शिक्षामा विश्वको आकर्षण हुँदाहुँदै पनि विकर्षण फैलाउने काम नेपालका कथित ब्राह्मणहरुले नै किन गरिरहेका छन् ?

गाईको मासु खाने भनेर चिनिएका गोरा जातिले संस्कृत पढेर, वेद अध्ययन गरेर, टुप्पी र जैन लागएर यज्ञ चलाउन थाल्दा पनि नेपालमा रहेका कर्मकाण्डीहरुको सोचमा परिवर्तन नआउँदा चन्दननाथ जस्ता संस्कृत पाठशालामा विद्यार्थीहरु पढ्नबाट वञ्चित हुनु परेको यहाँको स्थानीहरुको निष्कर्ष छ ।

के कस्तो छ तरिका ?

यद्यपि संस्कृत शिक्षा पढ्न जातभात भन्ने चलन संस्कृत वाङमयभित्र पाइन्न ।

सामन्तवादी युग हाबी भएसँगै जनतालाई जातभात र छुवाछूत वर्गमा विभेद हुन थाल्यो । जब नेपालमा राणाकाल थियो, उनीहरुले शिक्षा दिनबाट जनतालाई वञ्चित गरेका थिए ।

तर, गोत्र हत्या गरेका राणाहरुले आफू बन्धु हत्याको अपराधबाट मुक्त हुन्छु भन्ने नाउँमा सबैभन्दा पहिले तीनधारा संस्कृत छात्रावास खोलेका थिए ।

त्यहाँ बस्ने ब्राह्मण वटुकहरुलाई खानपिन, वस्त्र भेटी सहित पठन पाठनको व्यवस्था थियो । नेपालमा उनीहरुले नै आफ्ना सन्तानका लागि भनेर सबैभन्दा पहिले रानीपोखरीस्थित दरबार हाइस्कुल खोलेका थिए ।

संस्कृत आफैले परिस्कृत हुने अर्थ लगाउँछ । छुवाछूत प्रथाको विरोध गर्छ ।

तर कथित उपल्ला जातका मानिसको साँघुरो सोचका कारण संस्कृत शिक्षा उनीहरुकै बाबुको पेवा जस्तो बनेका दुखलाग्दा उदाहरण पनि नेपालमा अझै छन् ।

कुनै पनि व्यक्तिले आफ्नो इच्छा अनुसारको शिक्षा आर्जन गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । जुन कुरा नेपालको संविधानले ग्यारेन्टी गरेको छ ।

यतिसम्म कि शिक्षामा छुवाछूत गरिएको उजुरी अदालतमा दिने मात्रै भने, संविधान प्रदत्त अधिकार र छुवाछूत प्रथा विरुद्धको अधिकारको व्याख्या गरी अदालतले स्वतः त्यस्तो संस्था बदर गरिदिन सक्छ ।

यो खतराबाट चन्दननाथ पाठशाला अब पनि बच्दैन भने भोलिका दिनमा यसको उपचार खोज्न जनता कानुनको ढोका ढक्ढक्याउन अवश्य नै जानु पर्ने नहोला भन्ने सकिन्न भन्छन्, नाम नबताउने सर्तमा एक स्थानीय अधिकारकर्मी । शिक्षा पाउन कुनै जात धर्म, भाषाले रोक्तैन ।

यतिबेला मुलुक विकास र सृमद्धितर्फ लम्किरहेको छ । इच्छा अनुसार मानिसले शिक्षा र रोजगार लिन सक्छ ।

तर चन्दननाथ पाठशालाले भने जातीय भ्रम तथा संस्कृत शिक्षा पनि समावेशी व्यवस्था छ भन्ने सूचना लुकाएर जनताको सूचनाको हक समिते कुष्ठित गरिरहेको स्थानीयको आरोप छ ।

जसले गर्दा यहाँ दलितका बालबाललिकालाई संस्कृत पढ्न पाएका छैनन् ।

गएको वर्ष दुईजना दलित आउँदा भर्ना समय सकिएको भन्दै फिर्ता पठाएको समेत पाइएको छ । दलितका सन्तान पढ्न भनेर जाँदा भर्ना मिति सकिएको निहुँमा फिर्ता पठाएको दलितहरुको ठहर छ ।

चन्दननाथ मन्दिरको आडमै संचालन भइरहेको पाठशालामा सबै बाहुन, बालबालिका मात्रै अध्ययान गरिरहेका छन् ।

कक्षा ४ सम्म सञ्चालन भइरहेको संस्कृत विद्यालयमा ५० जना भन्दा बढी विद्यार्थी अहिले अध्यायनरत छन् । अघिल्ला वर्षका विद्यार्थीलाई काठमाडौं पठाइएको विद्यालय बताउँछ ।

तर सयौ, दलितका छोराछोरी इच्छा हुँदा पनि दलित भएकै कारण संस्कृत पढ्न पाएका छैनन् । पहिलेदेखि दलितले संस्कृत पढ्न हुन्न भन्ने भ्रम दलितमा जरा गाडेर बसेको छ ।

त्यहाँमाथि विद्यालयले पनि यस्तै खेतीलाई मलजल गर्ने गरेको देखिन्छ ।

कथा यस्तो छ

यसबारे दलित छात्र साउने नेपालीले भन्छन्, ‘हामीले पनि बोल्न सकेनौँ, तर, शिक्षा आर्जन गर्ने, ज्ञान लिने दिने कुरामा पनि जातीय विभेद भइरहेको हामीले पाएका छौ ।’

चन्दननाथ पाठशालामा आजसम्म पनि संस्कृत शिक्षा पनि समावेशी शिक्षा हो, यो सबैले पढन् पाउँछन् भन्ने जानकारी नगराएको उनको दुखेसो छ ।

केबल बाहुन क्षेत्रीहरुले मात्रै संस्कृत पढ्ने हो, र यो शिक्षा दलितलाई काम लाग्दैन भन्ने भ्रम यहाँ फिँजाइएको छ । ‘शिक्षा क्षेत्रमा पनि जातीय विभेद हामीले बुझेका छौं’, अर्का दलित सूर्य दमाईं भन्छन्, ‘२०६९ साल बाट पाठशाला संचालन भएको हो । अहिलेसम्म पनि एकजना दलितका छोराछोरी पढ्न नआउनुको कारण नै दलितले पढेर काम लाग्दैन भन्ने भ्रम अब चिर्नु पर्छ । हामीले पनि संस्कृत पढ्न पाउनु पर्छ ।’

दलितको भेटी चल्ने, शिक्षा नचल्ने ?

चन्दननाथ मन्दिर जुम्लाको प्रसिद्ध मन्दिर हो । यसको पर्यटकीय र सांस्कृत महत्त्व पनि कम छैन । मन्दिर छेवैमा बाहुन र क्षेत्रीले मात्रै पढ्ने गरेको पाठशाला छ ।

मन्दिरमा हरेक दिन जोसुकै पनि आउँछन् । भेटी चढ्ने बेलामा चाहिँ दलित भनेर हेपिदैन । उक्त भेटी पाठशाला संचालनका लागि आवश्यक सहयोगका रुपमा संकलन गर्ने परिपाटी पनि छ ।

उक्त संस्कृत पाठशालाका लागि भन्दै परियार, सार्की, कामी, सबैले चन्दा भेटी दिन्छन् । मानौं भेटी दानका रुपमा दिने कर हो ।

कर तिरेको वस्तुलाई जनताले उपभोग गर्न पाउनु पर्ने आधुनिक लोकतन्त्रको सिद्धान्त पनि हो । पाठशालाको वृद्धि विकासका लागि, पाठशालामा दलितकै भेटी चन्दा, दान चल्ने गरे पनि दलितका छोराछोरी भने संस्कृत शिक्षामा अछूत अथाव नचल्ने भएका छन् ।

यसको कारण के हो ? भनी स्थानीयले सोध्न थालेका छन् । पाठशालामा अध्यायन गरिहरेहका झन्डै ५० विद्यार्थी सबै बाहुन र क्षेत्रीय मात्रै हुन् ।

के भन्छन् सरोकारवाला ?

‘यस विषयमा स्थानीय सरकार र प्रशासनको ध्यानकर्षण गराउँछौं’, दलित अगुवा तथा जिल्ला समन्वय समितिका सभापति लालबहादुर सार्की भन्छन्, ‘दलितका छोरा छोरीले पनि संस्कृत शिक्षा आर्जन गर्न पाउनु पर्छ । शिक्षा आर्जन गर्ने कुनै पनि शैक्षिक संस्थाहरुमा जातिय विभेद गर्नु, कानुन विपरित हो । त्यहाँ दलितले संस्कृत पढ्न हुन्न भन्ने भ्रम फैलाएको हुन सक्छ । यस विषयमा समितिसँग अब चाँडै छलफल गरिने छ ।’

शिक्षा आर्जन गर्न पाउने मानव अधिकार हनन भएको मानव अधिकृत धनराज शाहीले बताए । मानव अधिकार आयोगलाई पनि यस विषयमा गम्भीर ध्यानकर्षण गराइएको छ ।

इच्छाअनुसारको शिक्षा आर्जन गर्न पाउने नैर्सगिक अधिकारलाई कुण्ठित बनाउन खोजिएको छ, उनले भने, यसमा तत्तकाल छलफल चलाइन्छ ।’

सरकारबाट संचालन भएको चन्दननाथ गुुरुकुल पाठशालामा बाहुनले मात्रै पढ्ने कानुन छैन मात्रै भ्रम फैलाएको हो ।

दलितले पढन् हुँदैन भन्ने भ्रम र सबैले पढ्न पाउँनुपर्छ भन्नेबारे सुचना सम्प्रेषण नगरेकै कारण समस्या निम्तीएको सबैको बुझाई छ ।

पाठशालालाई गराइयो ध्यानाकर्षण

दलितलाई संस्कृत पढ्न अंकुश नलगाएको चन्दननाथ गुरुकुल पाठशालाले दाबी गरेको छ ।

‘हामीले भर्नाको सुचना प्रशारण गर्दा नै स्पष्ट पार्न सकेनौँ, पाठशलाका प्रधानाध्यापक, विश्वराज उपाध्यायले भने, ‘त्यसैकारण दलितले पढ्न हुँदैन, पढेर के काम भन्ने जस्ता भ्रम फैलिनु स्वभाविक हो ।’

पाठशाला सरकारबाट संचालीत शैक्षिक संस्था हो ।

यसमा जातिय रोकछेक नभएको भन्दै भर्ना गर्दा संस्कृत शिक्षा पनि समावेशी÷ सबैका लागि नभनेकै कारण अहिले विभिन्न टिकाटिप्पणी सुन्नु परेको प्रअ उपाध्यायल स्वीकार गरे ।

‘यस विषयमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ’ उनले भने ।

आगामी शैक्षिक शत्रबाट दलितका छोराछोरी पनि पढ्ने वातावरण बनाईने पाठशालाका अध्यक्ष दयादत्त हमालले बताए ।

अध्यक्ष हमालले भने, ‘अहिले ४ कक्षा सम्म पढाई भईरहेको छ । बाहुनका १६ छात्रा र ३४ जना छात्र गरी ५० जना नियमित अध्ययन गर्छन् ।’

दलित कोही नभएको बताउँदै उनले दलित नआउने भएकै कारण सरकारले दिने छात्रबृत्ति पनि काटिएको बताए ।

‘सबै बाुहनका मात्रै छोराछोरी अध्ययन गर्ने भएकै कारण दलित आउन सकेका छैन्, आवश्यक वातावरण भए समाबेशी रुपमा शिक्षण दिन सकिन्छ’, अध्यक्ष हमालले भने ।

___

कर्णाली प्रदेशबाट सागर परियार

...

बिहीबार, १० साउन, २०७५

प्रतिक्रिया

Related