२१ औं शताव्दीकै दुर्लभ चन्द्र ग्रहण

के कस्तो छ असर ग्रहणको ? कसरी हेर्ने दुर्लभ ग्रहणलाई ?
निर्माण सञ्चार, काठमाडौं । साउन शुक्रबार गुरुपूर्णिमाको रातमा २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै छ । खगोलविद्हरुले यसलाई दुर्लभ संयोगको संज्ञा दिएका छन् ।

विश्वभरमै प्रभाव पार्ने यो ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । आजको यो ग्रहण नेपाल लगायत धेरै मुलुकबाट देख्न सहिने छ ।

कति बजे लाग्छ ?

ज्योतिषीय गणना अनुसार पूर्ण चन्द्र ग्रहण लाग्नु भन्दा करिब ४ घण्टादेखि छूत समय लागे पछि खग्रास चन्द्र ग्रहण भने नेपाली समय अनुसार रातको १२ बजेर ९ मिनेटमा सुरु हुने भई शनिबार बिहान ४ बजेर ४ मिनेटमा अन्त्य हुनेछ ।

के गर्ने के नगर्ने ग्रहणमा ?

ग्रहणबारे विभिन्न मान्यता छन् । तिनमा धार्मिक मान्यता बलियो छ । नेपालमा चन्द्र ग्रहणलाई लिएर प्रचलित केही मान्यता अनुसार ग्रहणको समयमा खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भनिन्छ ।

यस्तो बेला जप ध्यान वा योग गर्न सकिने शास्त्र बताउँछन् ।

यस्तो अवस्थामा गर्भवती महिलाहरु पनि सजग रहनु पर्ने र सुत्न नहुने भनिन्छ । सुत्नु भन्दा ग्रहणमा जागा रहँदा हुन सक्ने कुनै प्रकारका भवितव्यबाट बच्न सकिने बुझाइ छ ।

के भन्छ ज्योतिष विज्ञान ?

ज्योतिष विज्ञानले आजको ग्रहण सुरु हुनुभन्दा पहिले अर्थात् दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मलाई सूतक मानेको वाल्मीकि विद्यापीठमा ज्योतिषका प्राध्यापक जयन्त आचार्य बताउँछन् ।

ज्योतिष विज्ञानले यो चन्द्रग्रहण मेष, सिंह, वृश्चिक तथा मीन राशिका मानिसले मात्र हेर्न हुने सुझाब दिएको छ । त्यस्तै वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका मानिसलाई भने नहेर्न सल्लाह दिइएको छ ।

धार्मिक आस्था हुनेहरुले भने ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदी, कुण्ड आदिमा पुगी ग्रहण नुहाइ गर्छन् ।

यसरी नुहाउँदा ग्रहणबाट हुने असरहरुबाट शरीर र मन शुद्ध हुने मान्यता छ ।

ग्रहण हुन्छ कसरी ?

आधुनिक विज्ञान अनुसार, पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला पृथ्वी चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ । यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ ।

यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहने भएकाले यो लामो चन्द्र ग्रहण हो ।

दूरी टाढा यस पटकको चन्द्र ग्रहणको ‘ल्यूनर एपोजी’ (पृथ्वी र चन्द्रमाको दूरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो र दुर्लभ ग्रहणका रुपमा हेरिएको हो ।

किन भनिन्छ ब्लड मुन ?

ग्रहणको बेला चन्द्रमा तारो रंगको देखिन्छ । यसको कारण हो जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन पुग्छ ।

पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन गएको खगोलशास्त्री बताउँछन् । वैज्ञानिकहरुले यसैलाई ‘ब्लड मुन’ भन्दछन् ।

नाँगो आँखाले हेर्न हुन्छ ?

जब जब ग्रहणहरु हुने गर्छ, मानिसहरु ग्रहण हेर्न नहुने मान्यता सुनाउँछन् । हुन त सूर्य ग्रहण भने नाँगो आँखाले हेर्न हुँदैन किनकि सूर्यको तेज बढी खतरनाक हुन्छ ।

तर शुक्रबारको खग्रास चन्द्र ग्रहणबारे मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाले आजको चन्द्र ग्रहणलाई ‘ज्यादै सुन्दर खगोलीय घटना’को संज्ञा दिएका छन् ।

उनले यसलाई नाँगो आँखाले हेर्न पनि सकिने बताएका छन् । उनी भन्छन्, ‘नाँगो आँखाले हेर्दा पनि सुरक्षित हुन्छ । यो ज्यादै सुन्दर खगोलीय घटना हो, अवलोकन गर्ने अवसर कुनै हालतमा नगुमाउनु राम्रो हो ।’

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई हाम्रो आँखाभित्र पस्न नदिन विभिन्न खालका सावधानी अपनाउनुपर्ने हुन्छ ।

तर, चन्द्रग्रहणलाई भने नांगो आँखाले पनि सजिलै हेर्न सकिन्छ ।

टेलिस्कोप, बाइनाकुलर, क्यामेरा वा अरू कुनै सामग्रीले चन्द्रग्रहणलाई हेर्दा मानिसको स्वास्थ्यमा असर पर्दैन । किनकि यस्तो वेला मानिसलाई हानि पार्ने खालका किरण आएको हुँदैन ।

देख्न सकिने ?

यो खग्रास चन्द्रग्रहण हो । नेपाल सहित विश्वका केही मुलुकबाट यो ग्रहण देख्न सकिन्छ ।

ग्रहण १२ बजेर ९ मिनेटबाट देखिनेछ । क्यानडा तथा अलास्कामा बसोवास गर्ने मानिसले भने यो ग्रहणलाई देख्न पाउनेछैनन् ।

खगोलविद्हरुका अनुसार २१औँ शताब्दीमा जम्मा ८५ वटा चन्द्रग्रहण लाग्ने छन् तर, शुक्रबार रातको चन्द्र ग्रहण भने शताब्दीकै लामो चन्द्रग्रहण हो ।

नेपालमा साँझको १२ बजेर ९ मिनेट जाँदा यो ग्रहण देखिनेछ भने रातिको ४ बजेर ४ मिनेटमा समाप्त हुनेछ । नेपाललगायत भारत, चीन मंगोलिया, पूर्वी अफ्रिका, युरोप, रसियालगातका ठाउँबाट देख्न सकिन्छ ।

दोष पनि लाग्छ ?

धार्मिक मान्यता अनुसार ग्रहण लाग्नुभन्दा अगाडि खाने र पिउने कुराहरुमा तुलसीका केही पातहरु राख्ने चलन छ । साथै ग्रहणपछि भाँडाहरुमा राखिएको पानी बदल्नुपर्ने मान्यता छ ।

तर तामाका भाँडामा राखिएको पानीमा कुश वा तुलसीको पात राखेमा ग्रहणको प्रभाव नपर्ने धार्मिक विश्वास छ । यो समयमा शुभकर्महरु नगर्ने शास्त्रोक्त वचन रहेको ज्योतिष आचार्यले बताए ।

 

 

...

शुक्रबार, ११ साउन, ०७५

 

प्रतिक्रिया

Related