नेकपा निकट इन्जिनियरहरुको शनिबार एकताघोषणाः अध्यक्षमा श्रेष्ठ र महासचिवमा पराजुली

एकतासँगै नेपाल इन्जिनियर्स असोसिएसनको भावी नेतृत्व स्पर्धामा प्रभाव पार्ने आँकलन
निर्माण सञ्चार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट पेसागत तथा जनवर्गीय समितिहरुको एकीकरण प्रक्रियामा सबैभन्दा पहिलो बन्ने श्रेय पाउने भएको छ ‘प्रोग्रेसिभ इन्जिनियरिङ असोसिएसन नेपाल’ले ।

तत्कालीन एमाले निकट प्रगतिशील इञ्जिनियरिङ पेशाकर्मी संघ नेपाल (पेपान) र माओवादी केन्द्र निकट राष्ट्रिय इञ्जिनियरिङ संगठन नेपाल (नियोन) को एकीकरण पछि ‘प्रोग्रेसिभ इन्जिनियरिङ असोसिएसन नेपाल’ को गठन भएको हो ।

शनिबार २ बजे कोपुण्डोल ब्यांकेटमा राखिएको एकताको घोषणा सभामा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको इन्जिनियर कृष्ण सापकोटाले जानकारी दिए ।

पेपानमा समेत कार्यकारी भूमिकामा रहेका सापकोटा पछिल्ला दिनमा पूर्वाधार विकासमा इन्जिनियरिङ क्षेत्रको भूमिका र भावी ब्युरोक्र्याटिक संरचना भित्र टेक्नोक्रेटिक जनशक्ति विकासबारे समेत बहस गर्दै आइरहेका उदीयमान पूर्वाधारविद् हुन् । 

नवगठित प्रोगेसिभ इञ्जिनियरिङ असोसिएसन नेपाल (पिन) का केन्द्रीय अध्यक्षमा शम्भुबहादुर श्रेष्ठ र महासचिवमा हरेराम पराजुली रहने टुंगो लागिसकेको समेत सापकोटाले जानकारी दिए ।

श्रेष्ठ यस अघि पूर्व एमाले निकट पेपानका अध्यक्ष एवं पराजुली पूर्व माओवादी निकट नियोन नेतृत्वमा थिए ।

गएको निर्वाचनमा गठबन्धन गरी झन्डै २ तिहाइ मत पाएर सत्ता सञ्चालन गरिरहेको नेपालका २ कम्युनिस्ट पार्टीको एकता भएको पनि महिनौं बितिसकेको छ ।

तर, आफूनिकट पेसागत तथा जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अल्झिरहेको अवस्थामा नेकपाले इन्जिनियरिङ क्षेत्रबाट जनवर्गीय संगठनहरुको पनि एकता प्रक्रिया सुरु भएको सन्देश दिन चाहेको देखिन्छ ।

नेतृत्व तहमा दुई पार्टी मिले पनि आफू मातहतका जनवर्गीय संगठन तथा तल्ला कमिटीहरुको चाँडो एकता नगर्दा सरकार सञ्चालनमा पनि अवरोध सिर्जना भएको नकेपाकै नेताहरुले स्वीकार गरेका छन् ।

त्यसैले आफू मातहतका जनसंगठनहरुको एकताबारे चाँडै टुंगोमा पुग्ने गरी अघि बढिरहेको नेकपाका एक नेताले बताए ।

इन्जिनियर कपिल आचार्यले निर्माण सञ्चार डटकमलाई दिएको जानकारी अनुसार देशव्यापी संगठनका रुपमा करिब ७ हजार इञ्जिनियर आबद्ध प्रोगेसिभ इञ्जिनियरिङ असोसिएसन नेपाल (पिन) को केन्द्रीय समिति ९५ सदस्यीय रहेने छ भने २१ सदस्यीय सचिवालय रहने छ ।

सुखी नेपाली, समृद्ध नेपालको नारा बोकेको सरकारले पूर्वाधार विकासबारे गम्भीरता नदिएको भन्ने आरोप लागिरहेकै बेला पूर्वाधार विकासका ‘ब्रेन’ भनेर चिनिने इन्जिनियरिङ क्षेत्रको एकता घोषणापछि यसले सरकारलाई समेत नउाँ ऊर्जा दिने नेकपा निकट इन्जिनियहरुको दाबी छ ।

भावी परिणामलाई हेर्दा वाम निकट इन्जिनियरहरुको यो एकताले इन्जिनियरिङ क्षेत्रको छाता संस्थाका रुपमा झन्डै आधा शताब्दीदेखि नेतृत्व गर्दै आइरहेको नेपाल इञ्जिनियर्स असोसिएसनको भावी नेतृत्वको स्पर्धामा प्रभाव पार्ने आँकलन गरिएको छ ।

 

 

 

...

शुक्रबार, ११ साउन, ०७५

 

प्रतिक्रिया

Related