कृषि कर्मले फेरिदैँ कर्णालीको मुहारः च्याउ खेतीबाटै लाखौँको आम्दानी

कर्णालीमा अर्गानिक तरकारीको सम्भावना, आयात रोकियो, निर्यात बढ्दो !
निर्माण सञ्चार, कर्णाली प्रदेश | कर्णालीका ग्रामिणवस्ति हाल कृषि कर्मले नै आत्मनिर्भर बन्न थालेका छन् । कर्णालीका अधिकांश गाउँबस्ति कृषिमय देखिन्छन् ।

कोही नर्सरीमा देखिन्छ त, कोही तरकारीबारीमा । प्रमुख आयस्रोतका रुपमा कृषि पेशालाई अगांलेर आत्मनिर्भर बनेका कृषक कर्णालीमा थुप्रै छन् । साविकको कर्णाली क्षेत्र कृषिमा आत्मनिर्भर बन्दै गएको छ ।

जुम्ला,मुगु,कालिकोट,हुम्ला डोल्पामा कृषिजन्य बस्तु उत्पादन र बजारीकरणमा कृषकहरु लागि परेका छन् । मुगुकी रुपा रोकाया दैनिक तरकारी खेतबारीमा देखिन्छन् ।

सधैजसो विहानको झुसमुसेसंगै उठेर तरकारीको डोको बोकेर डेढ घण्टा पैदल हिड्दै सदरमुकाम पुग्छिन् ।

रातो पिरो अनुहार लगाउँदै, तरकारी बेच्न पुगेपनि आम्दानीको पैसा हातमा आउँदा सबै पिडा हराउने उनको भनाई छ ।

‘हाल बजारीकरणमा निकै सहज भएको छ’, उनले भनिन्, ‘अर्गानिक भएकाले पनि प्राय हाम्रो तरकारी किन्ने गरेका छन् ।’ अर्की कृषक महिला जानशिला रोकायाले भन्छिन्, तरकारी खेती गरेर बाचिन्छ जस्तो लाग्दैन थियो, तर, हाल च्याउ खेती मात्रै गरेको छु, वार्षिक रुपमै डेढ लाख बढी आम्दानी हुने गरेको छ ।’

मुगुको छायानाथ रारा नगरपालिका ३ का अधिंकाश स्थानीय कृषि कर्मबाटै सन्तुष्ट छन् । कर्णालीको मुहार कृषि क्षेत्रले नै बदल्न सक्ने भन्दै स्थानीय कृषकहरु व्यवसायीक खेतीमा समेत जुट्न थालेका छन् ।

यता, कालिकोट जिल्ला कर्णाली राजमार्गको छउमै पर्छ । पछिल्लो समय कर्णाली राजमार्ग तरकारी हबका रुपमा विकास भएको छ । कालिकोटका अधिकांश स्थानीय पनि कृषि पेशामै आवद्ध छन् । भेडाबाख्रा पालनदेखि, स्याउ, सिमि, ओखर, आलु, तरकारी खेतीबाट उनीहरुले मनग्य आम्दानी गरिरहेका छन् ।

कालिकोट खाँडाचक्र नगरपालिका ३ दाहा गाउँका मुन बहादुर रोकायाको मुख्य आम्दानीको स्रोत नै तरकारी हो । छोराछोरीको पढाईदेखि नुन तेलसम्म सबै तरकारीले नै धानेको उनको भनाई छ ।

‘कृषि क्षेत्र कुनै जागिर भन्दा कम छैन’, कृषक महिला कृष्मता शाहि भन्छिन्, राज्यले रोजगारी दिन नसकेपनि हामी आफ्नै कृषि कर्मबाट वार्षिक रुपमा लाखौको कारोबार गर्छौ ।’

कृषि क्षेत्रबाटै कर्णालीको समृद्धी सम्भव रहेको उनको दाबी छ । त्यस्तै, जुम्लाका कृषक कर्ण हमालले जिल्लाको कुडारीमा जब तरकारी खेती सुरु गरेका थिए ।

उनले अहिलेको अबस्थामा पुग्छु भन्ने कुनै कल्पना सम्म गरेका थिएनन् । तरकारी खेतीमा पनि कसरी समृद्ध भईन्छ, आर्थिक आम्दानी, आत्मनिर्भर कसरी भईन्छ होला भन्ने कुरा उनका मनमा खेलिरहन्थ्यो ।

तरकारी खेतीको जोखिम बहन,बजारीकरण, मलजल, गोडमेल झन्झट ठानेका कर्ण हमालको मात्र नभएर थुप्रै किसानको जिउने आधार बनेको छ तरकारी खेती ।

तरकारी खेतिबाटै दैनिकि चलाउन कृषि पेसालाई निरन्तराता दिन पत्यार नमानेका कृषक कर्ण हमालको अहिलेको दिनचर्या सधैँ तरकारी बारिमा गोडमेल बेचबिखन गरेरै बित्छ ।

बेलुका सुतेदेखि विहान उठ्दासम्म पनि उनलाई तरकारीकै चिन्ताले पिरोल्छ । कडा मेहनतका साथ फलाएको तरकारी विक्रिबाट आएको आम्दानीबाटै उनको परिवार हाल सन्तुष्ट छ ।

स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी बढाउने र कृषि हबका रुपमा जिल्लालाई विकास गर्ने गरि लिएको योजना अब चाडै पुरा हुने कृषक बताउँछन् । पहिले घरमा खान लगाउन नपुग्ने तथा कालापहाड गएकाहरु पनि हाल तरकारी खेतीमा रमाईरहेका छन् ।

सिजन अनुसारको कृषि कर्म गरेपनि कर्णालीका अधिंकाश कृर्षक तरकारी खेतीमा आकर्षित छन् ।

युवादेखि बृद्धसम्मले तरकारी खेतीलाई अंगालेको देखिन्छ । कोही विदेशबाट फर्केर तरकारी खेती गरेका छन् त कोही होटल व्यवसाय छोडेर कृषि कर्ममा रमाईरहेका छन् । तर, कृषकहरु भने कृषि क्षेत्रको समृद्धी कृषिमा लगानी नगरेसम्म कर्णालीको मुहार नफेरिने दाबी गर्छन् ।

पछिल्लो समय बढ्दै गएको कृषि आधुनिकीकरणले उत्पादन दोब्बर बढेको छ । तर, स्थानीय सरकारले कृषिमा अपेक्षा अनुसारको लगानी गर्न कन्जुसाई गरेको कृषकको गुनासो छ ।

कर्णालीमा अर्गानिक तरकारीको सम्भावना

कर्णालीको खेतीयोग्य जमिनमा व्यावसायिक तरकारी खेती लगायत अन्य कृषि पेशाको प्रचुर सम्भावना छन् । तर आवश्यक प्राविधि तथा शैद्धान्तिक ज्ञानको र सिँचाइको समस्याले अधिकांश खेतीयोग्य जमिन बाँझो रहेको पाइन्छ ।

सिँचाइको अभावका कारण आकासे पानीको भरमा तरकारी खेती गर्दै आएका जुम्ली कृषकको खेतीयोग्य भूमिमा सिँचाइ नहुनु यहाँको मुख्य समस्या हो ।

तर, पछिल्लो समय स्थानीय सरकारले अपेक्षा अनुसार लगानी नगरेपनि धेरथोर भईरहेको पहलमा खेतीयोग्य जमिनसम्म सिँचाइ सुविधा पुर्याउने अभियानले यहाँको अर्गानिक तरकारी उत्पादन पनि वृद्धि हुँदै गएको छ ।

कर्णालीमा कृषि क्षेत्रलाई बलियो बनाउन सरकारी क्षेत्र भन्दा पनि विकास परियोजनाले ठुलो भुमिका खेलेको देखिन्छ ।

विकास परियोजनाले सिचाई व्यवस्था सहित, अर्गानिक खेतीका बारेमा जानकारी गराउँदा कर्णालीमा हाल अर्गाानिक काउली, आलु, गाजर, प्याज, काँक्रा, गोल्भेडा, फर्सीलगायत तरकारी तथा सागपात उत्पादन भइरहेका छन ।

अर्गानिक तरकारीको बढ्दो माग अनुसार बढदै गएको उत्पादनलाई व्यवस्थित बजारीकरण गर्नका लागि पछिल्लो समय विकास परियोजनाले संकलन केन्द्र स्थापना गरेका छन् ।

यहाँ उत्पादित अर्गानिक तरकारी जिल्लाबाहिरबाट आयातित वीषादियुक्त तरकारी भन्दा हाइजेनिक र स्वस्थ्यकर भएकाले यसको सम्भावना बढेको हो ।

कृषि विज्ञ धनप्रसाद देवकोटाले भने ‘विषादीयुक्त तरकारीभन्दा यहाँको अगार्निक तरकारीहरू उपभोक्ताले बढी रुचाउन थालेपछि तरकारीको बजारको भविष्य उज्जल देखिएको छ ।’ परम्परागत भन्दा आधुनिक खेतीमा कृषकलाई आर्कषण गर्दै आवश्यक ज्ञान, सीप र क्षमता वृद्धि गर्न जरुरी भएको उनको भनाइ छ ।

सामूहिक खेती फष्टायो

स्वदेशमा सोचे जस्तो रोजगार छैन्, सरकारले रोजगार दिन सकेन, भन्दै नेपाली युवाहरु दैनिक रुपमा १३ हजारका दरले रोजगारीको खोजीमा विदेश भौतारिएका छन् ।

जसमा कर्णालीबाट एक महिनामै भारत तथा अन्य देश का लागि झन्डै १ हजार युवा बाहिरएको अनुमान छ । रोजगारी खोज्न युवा विदेशी रहेको बेला जुम्लाका तरकारी कृषक कर्णबहादुर हमालको सफलता संगै, कुडारीका अन्य चारजना कृषक पनि सामूहिक तरकारी खेती गर्न थालेका छन् ।

स्वदेशमै उद्यम गरे मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने कुरा उनीहरूले बल्ल बुझेका हुन् ।

विदेशको मोटो रकमले स्वदेशी भुमि बाँझै रहने समस्यालाई कम गर्न सामूहिक तरकारी खेतीमा आबद्ध भएको कृषक पदम भट्टराई बताउँछन् ।

जुम्लाका सदरमुकाम,तातोपानी एैरेनी,कुडारी, त्रिबेणी, नाग्म बजारमा अर्गानिक तरकारीको माग बढेको छ । सोहि अनुसारको उत्पादनका लागि २० रोपनी जग्गामा सामूहिक तरकारी खेती सुरु गरेको भट्राईले सुनाए ।

उनीहरुले उत्पादन गर्ने काउली, आलु, गाजर, प्याज, काँक्रा, टमाटर, फर्सीलगायत सागपात तथा अन्य तरकारी जिल्लाका प्रमुख बजार नाग्मघाट कालिकोट, कुडारी, तातोपानी, रारालिहीलगायत सदरमुकाममा निकै खपत हुने गरेको छ ।

युरोपियन युनियनले विकास परियोजनाअन्तर्गत पार्टिकल एक्सनले तिला र तातोपानी गाउँपालिकामा तरकारी खेती गर्न कृषकलाई आवश्यक सामग्री, सिँचाइको व्यवस्था गरेर सघाइरहेको अर्का कृषक दिपेन्द्र हमालले भने । परियोजनाले झण्डै ५ लाख बराबर सामग्री सहयोग गरेको छ ।

बाँकी पाँच जनाले २/२ लाख उठाएको बताइएको छ । सुक्खा क्षेत्रमा पनि विकास परियोजानले सोलार लिफ्टमार्फत सिचाईको व्यवस्था गरिदिएको कृषक देविकन्या भट्राईले बताइन् ।

अहिले जुम्लाका राँका, लुम्सेरा, धौलापानी लगायतका क्षेत्रमा पानि नहुँदा सोलार लिफ्टमार्फत सिचाई हुने गर्छ ।

अधिंकाश ठाउँमा साना सिचाई आयोजना निमार्ण गरी सिचाईको व्यवस्था मिलाइएको छ ।

सिचाई नभएका क्षेत्रमा सोलार लिफ्ट मार्फत तिला नदीको पानी तानेर उत्पादन क्षेत्रमा सिचाई गरिएको विकास परियोजना संयोजक दशरथ उपाध्यायले बताए । उनका अनुसार, जिल्ला भरी सोलार लिफ्ट निमार्ण गर्न १ करोड ५० लाख बढी खर्च भएको छ ।

आयात रोकियो, निर्यात बढ्दो

पछिल्लो समय जिल्लामा आयातित तरकारी रोकिएको छ । जिल्लामा बढ्दो अर्गानिक तरकारी उत्पादन र बजार व्यवस्थापनले जिल्लाबाहिरका सुर्खेत, नेपालगन्ज, बाँके, बर्दिया, कैलालीलगायत जिल्लाबाट आयातित सबै प्रकारको तरकारी रोकिएको हो ।

यसअघि जुम्ला जिल्ला ६ महिना तरकारीमा पूर्ण आत्मनिर्भर र ६ महिना परनिर्भर हुदै आए पनि विगत एक वर्षदेखि बाँकी ६ महिना पनि आंशिक आत्मनिर्भर बन्दै गएको छ ।

तातोका कारण वर्षा सिजनको ६ महिना खेतबारीमा र हिउँदे सिजनको ६ महिनामा पोलिहाउसभित्र व्यावसायिक तरकारी उत्पादन हुन थालेपछि जिल्लाको माग धानिएको हो ।

जुम्लाको अर्गानिक तरकारी अहिले जिल्लाबाहिर निर्यात हुने क्रम बढेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले बताए ।

उनका अनुसार जुम्लाको आलु, सिमी, टमाटर, प्याजलगायत अर्गानिक तरकारी सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत सहरमा व्यापारीहरूले निर्यात गर्न थालेका छन् ।

कृषिमा युवा आकर्षण

कृषि क्षेत्रमा युवा आर्कषण बढाउनका लागि गाउँपालिकाले विशेष खालका योजना अघि सारेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपालनेले बताए ।

उनले युवालाई कृषिमा आर्कषण गर्न, निब्र्याजी ऋणको कार्यक्रमसहति युवा उद्यमी बढाउ कार्यक्रम अघि सारेको बटाए । उनका अनुसार कृषिबाटै कर्णालीको मुहार बदलिने सोचका साथ, सिचाई,विउ भिजन,स्याउ, सिमि,आरु ओखर तरकारी, लगायतका क्षेत्रमा प्रायाप्त लगानी गर्न झण्डै २ करोड बजेट विनियोजन गरेको बताए ।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भने, ‘गाउँपालिकाले चालू आर्थिक वर्षबाट कृषि क्षेत्रको विकासका लागि विशेष बजेटको समेत व्यवस्था छ, त्यसै अनुसार विभिन्न प्रकारका कृषि कार्यक्रम सञ्चालन हुने छन् ।’

उनका अनुसार यस वर्षबाट गाउँपालिकाले पाँच जनाको समूहमा आउने कृषकका लागि व्यावसायिक खेती गर्न १० लाख ऋण दिने व्यवस्था गरेको छ ।

मुगुको छायानाँथ रारा नगरपालिकाले पनि कृषि क्षेत्रमा साढे १ करोड भन्दा बढी लगानी गरेको छ ।

कृषि उत्पादनको बजारीकरणका लागि संकलन केन्द्र स्थापना देखि विभिन्न क्षेत्रमा सडक संजालको पहुँच विस्तार गर्ने योजना स्थानीय सरकारमा छ । तर, बजेट कार्यान्वयन हुने वा नहुने भन्नेबारे कृषक अन्यौलमा छन् ।

कर्णालीका सबै स्थानीय तहले कृषिमा लगानी बढाएमा समृद्धिको सन्देश कर्णालीबाटै दिने र समग्र कर्णाली क्षेत्रलाई कृषि हबका रुपमा विकास गर्ने लक्ष्य लिएका छन् ।

कृषिमा छुटाएको बजेट कार्यान्वयन भए, कृषिबाटै अबको पाँच वर्षमा कर्णालीको मुहार फेरिने कुनै दुईमत नरहेको यहाँका सरोकारवाला बताउँछन् ।

कर्णालीबाट सागर परियारको रिपोर्ट

...

बिहिबार, १७ साउन २०७५

प्रतिक्रिया

Related