नमूना बन्योः जनतासँग वडाअध्यक्ष कार्यक्रम, यसरी पुग्यो गाउँगाउँमा सिंहदरबार !

सिक्ने कि अरुले पनि !
निर्माण सञ्चार, काठमाडौं । ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रमको सान्दर्भिकता जुम्लाले देखाएको छ । यतिबेला जुम्लाका ८ स्थानीय तहमध्ये उक्त कार्यक्रमलाई पहिलोपटक सञ्चालन गरेको थियो ।

तातोपानी गाउँपालिका–४ नम्बर वडाले ।

यस वडाले मासिक रुपमा सञ्चालन गरेको ‘जनतासँग वडा अध्यक्ष’ कार्यक्रम नमूना बनेपछि जिल्ला नै उत्साही भएको हो ।

यो कार्यक्रम सञ्चालन गर्ने पालिकाहरुले महिनाभर गरेको काम, सेवा प्रवाह, वडाको विकास निर्माण र जनप्रतिनिधिका कार्यशैली प्रति स्थानीय गुनासाहरु समेटेर सरोकारको विषय बनाउँछ र जनतासम्म पनि पुराउँछ ।

यसले जनता र जनप्रतिनिधिबीचको खाडल मेटाउने मात्र नभई जनता र जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही पनि बनाएको कार्यक्रम सञ्चालकहरुको अनुभव छ ।

यसबारे वडाध्यक्ष धीरज जैशी भन्छन्, ‘बाहिर टीकाटिप्पणी गर्ने बानीले काम गर्ने सहज वातावरण देखिएन । त्यसैले हामीले जनतालाई लागेको कुरा गर्न, गुनासाहरु सुन्न र विकासलाई अझै विकसित शैलीबाट काम गर्न यो कार्यक्रमले प्रभावकारी भूमिका खेलेको महसुस भएको छ ।’

दिगोविकासका लागि प्रभावकारी

कार्यक्रम सञ्चालन पछि सञ्चालकहरु उत्साही भएका छन् । उनीहरुले सञ्चालित कार्यक्रम विकासका लागि प्रभावकारी भएको पनि बताए ।

‘यो त जनमुखी शैलीको नमूना नै हो । लोकलाई सहभागी गराएर गर्ने काम नै सायद लोकतन्त्र हो भन्ने हामीलाई पनि सिकाइ भएको छ,’ वडाध्यक्ष जैशीले भने 

कार्यक्रममा स्थानिय नागरिक महिला, बालबालिका, दलित, बृद्धा सबैले आफ्ना गुनासा टिप्पणी तथा राम्रा र सुधार गर्नुपर्ने कुराहरु समेटिन थालेको वडाअध्यक्ष जैशीको भनाइ छ।

कार्यक्रम सञ्चालन पछि वडाबासी सबैमा साझेदारीको भावना विकास भएको उनको बुझाइ छ ।

पालिकाहरु बनेपछि जुम्लामा रहेका १ नगरपालिका र ७ गाउँपालिकाले अहिलेसम्म पनि गुनासाहरुको राम्रो सुनुवाइ र सम्बोधन गर्न सकिरहेको छैन ।

तर, तातोपानीको–४ नम्बर वडाले भने जनमुखी तरिकाले काम गर्न थालेपछि अन्य वडाहरुलाई पनि लोभ लाग्न थालेको छ । यो कार्यशैलीले हरेक महिना जनतासँग छलफल गर्ने बानी परेको छ ।

जनप्रतिनिधि र जनता तोकिएको दिन तोकिएको समय र स्थानमा भेला भएर आफ्नो वडाको विकास र गएको महिनाको कामहरुको राम्रो समीक्षा गर्ने गर्छन्, र भावी महिनाका लागि योजना बनाउने गर्छन् ।

‘यो त जनमुखी शैलीको नमूना नै हो । लोकलाई सहभागी गराएर गर्ने काम नै सायद लोकतन्त्र हो भन्ने हामीलाई पनि सिकाइ भएको छ,’ वडाध्यक्ष जैशीले भने ।

‘जनतासँग वडाध्यक्ष’ कार्यक्रमका सञ्चालन भएपछि साबिकको हाँकु गाविकासमा विकासे शैली नै फेरिएको देखिएको छ ।

यसबाट अन्य स्थानीय तहले पनि अब यसको सिको गर्नुपर्ने रहेछ भन्ने ठानेको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरा बताउँछन् ।

उनले भने, ‘तातोपानी–४ नम्बर वडामा संचालित ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम नमूना बनेको छ । यसले वडा र पालिकाको विकास र संघीयताको कार्यान्वयनमा पुलको काम पनि गरेको छ ।’

स्थानीय विकास प्रतिनिधिहरुका अनुसार यो शैलीको कार्यक्रमले स्थानीय विकासमा सुधार ल्याउने देखिएको बताउँछन् ।

स्थानीय विकाससेवी गौतमका अनुसार यसले दिगो विकासका लागि साझेदारी र निस्वार्थी भएर आफ्नो गाउँठाउँ निर्माण गर्न जनताहरु संगठित रुपमा लागेको पाइएको छ ।

स्थानीय सरकारहरुले ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम सञ्चालन गरे भने वडास्तरबाटै जनताहरु विकास र मुुलुक निर्माण प्रति संगिठत रुपमा संलग्न हुने र मुलुक पनि चाँडै बन्ने देखिन्छ ।

यो नमूना कार्यक्रम वास्तवमा नेपाल सरकारले नै सिक्नु पर्ने पाठका रुपमा रहेको स्थानीय शिक्षकहरुको भनाइ छ ।

यसरी भए गुनासा सम्बोधन

मुलुक संघीयतामा गएको तर सफल कसले कहाँबाट कसरी गर्ने भन्ने स्पष्ट नभइरहेको अवस्था देखिएको भन्दै वडाध्यक्ष जैशी भन्छन्, ‘वास्तवमा मुलुकको संघीयता भनेको हरेक वडा वडाबाट घरको जगबसाले जस्तै बनाउँदै लैजानु पर्ने रहेछ भन्ने मैले बुझें । यो कार्यक्रम लगाउने हो भने सरकार जनताको घरघरमा पुग्ने मलाई लागेको छ ।’

उनले थपे, ‘नयाँ सरकारलाई बचाउने र मुलुक पनि समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । त्यसका लागि जनताका चाहाना पुरा गर्न आवश्यक छ । जनताका असीमित चाहानालाई सीमित साधनका बीचमा पनि समान रुपले बाँडफाँड गर्न सकियो भने समृद्ध समाज निमार्ण गर्न अब असम्भव रहेनछ भन्ने बुझिएको छ ।’

स्थानीय सरकारहरुले ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम सञ्चालन गरे भने वडास्तरबाटै जनताहरु विकास र मुुलुक निर्माण प्रति संगिठत रुपमा संलग्न हुने र मुलुक पनि चाँडै बन्ने देखिन्छ । यो नमूना कार्यक्रम वास्तवमा नेपाल सरकारले नै सिक्नु पर्ने पाठका रुपमा रहेको स्थानीय शिक्षकहरुको भनाइ छ 

‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेपछि जनस्तरमा पनि गुनासाहरु नरहेको उनको दाबी छ । ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको अहिले ५ महिना पुगेको छ ।

यस अवधिमा वडापालिकामा आउने गुनासा अब गुनासाका रुपमा नभई विकास विज्ञहरुले दिएझै उत्कृष्ट सुझावहरु आइरहेको जनप्रतिनिधिहरुको बुझाइ छ ।

कार्यक्रमले जनता स्वयम् नै रचनात्मक बन्दै गएको, विकासबारे चिन्तित बनेको र भ्रष्टाचार हुने वा काम ठग्नेहरु जनता नै सचेत भएपछि अस्तित्वमा नै नरहेको उनीहरु बताउँछन् ।

‘जनतासँग वडाध्यक्ष’ कार्यक्रमको मर्म बुझेको भन्दै एक स्थानीय प्र्रेम खत्रीले भने, ‘अहिले भने बल्ल गाउँ गाउँमा सिंहदरबार आएको महसुु हँुदै छ ।’

उनका अनुसार यतिबेला महिला, बालबालिकादेखि बृद्धहरु पनि आफ्ना हकअधिकारका बारेमा सजिलै बोल्न थालेका छन् ।

मनका कुरा खुलेर बोल्ने बानी विकास भइसकेकाले यतिबेला यो कार्यक्रम लागू भएका वडाबासीहरु लगभग सबै नै खुसी देखिन्छन् ।

‘जनतासँग वडाध्यक्ष’ कार्यक्रमले युवाका लागि पनि उद्यमशीलता तथा रोजागरीका कार्यक्रमका बनाउन थालेको छ । पालिकाको बजेट पनि सबै जनताको सल्लाह–सुझावकै आधारमा वितरण भइरहेको छ ।

यसले अघिल्ला जनप्रतिनिधहरुको तुलनामा प्रभाकारी विकास र सुशासन दिएको महसुस भएको स्थानीय बताउँछन् ।

‘जेहोस अरु भन्दा ४ नम्बर वडाले फरक काम गरेको र नमूना सन्देश दिन सकेको छ,’ स्थानीय युुवा शंकर जैशी बताउँछन् ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने पनि ४ नम्बर वडाको ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रमबाट प्रभावित भएको बताउँछन् । उनले आगामी दिनमा आफ्नो वडामा पनि सोही तरिकाले काम गर्न थाल्ने बताए ।

मनका कुरा खुलेर बोल्ने बानी विकास भइसकेकाले यतिबेला यो कार्यक्रम लागू भएका वडाबासीहरु लगभग सबै नै खुसी देखिन्छन्

उनले भने, ‘हामीले सिस्टम बसाउने सिस्टम बसाउने भनेर हजारौं पटक भन्छौं, तर सिस्टम बसाउन जनतलाई नै कसरी सहभागी गराउने भन्ने तरिका चाहिँ जान्दा रहेनछौं ।’

सिंहदरबारको अधिकार गाउँमा जाने तरिकाका रुपमा ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम लागू भएपछि अबका दिनमा हरेक पालिकाले आफ्नो मेयरदेखि सांसदसम्म पनि ‘जनतासँग मेयर, जनतासँग सांसद’ भनेर पो जाने हो कि,’ यहाँका स्थानीयको सुझाव छ ।

 

...

फोटो क्याप्सन– जनतासँग वडा–अध्यक्ष कार्यक्रमपछि सम्मानित गाउँका वृद्धाहरु– समाचार तथा तस्वीर सागर परियार, जुम्ला ।

...

मंगलबार, १५ साउन, ०७५

 

 

प्रतिक्रिया

Related