महालेखामा बढ्दो बेरुजु, प्रधानमन्त्रीको रोषः ‘बेरुजु बढ्नु पनि भ्रष्टाचारै होइन र ?’

महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४-०७५मा ४८ अर्ब रुपियाँ बेरुजु देखिएको जानकारी दिए
निर्माण सञ्चार, काठमाडौं । पछिल्ला दिनमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्ने सरकारको वार्षिक आर्थिक लेखाजोखामा पनि बेरुजुको मात्रा बढ्नथालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रोष प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले पनि आर्थिक नियम कानुन भित्र नबस्नाले आर्थिक बेरुजुको मात्रा बढेको संकेत गर्दै राजनीतिक नेतृत्वले पनि आर्थिक नियम भित्र बस्नु पर्ने जिकिर गरे ।

महालेखा परीक्षकको २०७४-०७५ लेखा परीक्षणसम्बन्धी सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो रोष प्रकट गरेका हुन् ।

सरकारी कार्यालयहरुबाट यसरी दिनानुदिन बेरुजु बढ्नु चिन्ताको विषय रहेको अर्थविद्हरुले आलोचना गरिरहेकै बेला प्रधानमन्त्री ओलीले पनि बेरुजुबारे कडा टिप्पणी गरेका हुन् ।

कार्यलयहरुमा बेरुजु बढ्नुले मुलुकमा सुशासन प्रति जनताको विश्वास खस्कँदो रहेको कुरालाई देखाउने विश्लेषकहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले पनि यस्तो अवस्थाले मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको बताएका छन् ।

उनले महालेखा परीक्षकको कार्यालयलाई नै प्रश्न गर्दै भने, ‘के कारणले बेरुजु भएको हो ? जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो, त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने जिकिर गरे । उनले बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको शाख गिराउने बताए ।

‘नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन, प्रधानमन्त्री ओलीले भने, ‘तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।’

बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४-०७५मा ४८ अर्ब रुपियाँ बेरुजु देखिएको जानकारी दिएका थिए ।

सोही बेरुजुबारे बैठकमा सहभागी प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

महालेखा परीक्षकको कार्यालय २०१६ सालमा स्थापना गरिएको हो । यो नै सरकारको लेखा परीक्षण गर्ने मुलुकको सर्वोच्च संवैधानिक निकाय हो ।

हरेक वर्ष मुलुकका सबै सरकारी निकायको लेखा परीक्षण गरी यस निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने गर्छ ।

 

 

...

मंगलबार, १५ साउन, ०७५

 

प्रतिक्रिया

Related