युएईमा ३ महिने आममाफी सुरुः अवैध बसिरहेका नेपालीलाई सम्पर्कमा आउन नेपाली दूतावासको अपिल

आममाफी राहदानी नभएकालाई पनि, वैधानिक बनाउन चाहनेले के गर्ने ?
निर्माण सञ्चार, युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले अगस्ट १ अर्थात् आजदेखि आफ्नो मुलुकमा अवैधरुपमा लुकीछिपी बसेका विदेशी नागरिकका लागि आममाफी सुरु गरेको छ ।

३ महिनासम्म चल्ने आममाफी कार्यक्रम अन्तर्गत भिसा बिहीन अवस्थामा युएईमा लुकीछिपी बसेका विदेशी नागरिकले बिना सजाएँ र बिना जरिबाना आफ्नो देश फर्कन पाउने छन् ।

यदि यस अवधिमा भिसा बिहीन विदेशी नागरिकले काम वा स्पोन्सर पाएमा वैधानिक रूपमै पुनः युएईमै काम गर्न पाउने पनि छन् ।

पछिल्लो समय आप्रवासीहरुको केन्द्र नै बन्दै गइरहेको युएई आप्रवासी कामदारहरुको पनि अवसरको कन्द्र बन्दै आइरहेको छ संयुक्त अरब इमिरेट्स ।

अवसरको फाइदा लिन नेपाली दूतावासको पनि अपिल

अवैध रुपमा विदेशी नागरिकहरुको बसाइ बाक्लिदै गएपछि कारबाही भन्दा प्रोत्साहन दिएर उपाय सुल्झाउन तयार भएको युएई सरकारले ३ महिनो आममाफी घोषणा गरेपछि श्रमिकहरु पठाउँदै आएका हुन् वा अन्य मुलुकले पनि यो अवसरको फाइदा लिन अपिल गरेका छन् ।

युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई अवसरको फाइदा लिन, अपिल गरेका हुन् ।

यसैबीच अबुधाबीस्थित नेपाली दूतावासले युएईले जारी गरेको आममाफीबाट सक्दो फाइदा लिन आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

प्रेस विज्ञप्ति नै जारी गर्दै नेपाली दूताबास अबुधाबीले गैरकानुनीरुपमा युएईमा रहेका नेपालीलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रिया अवलम्बन गर्न अपिल गरेको छ ।

युएईभित्र रहेका सबै अवैध नेपालीहरुका नाउँमा दूतावासले आफ्नो सम्पर्कमा आउनसमेत भनेको छ ।

युएई सरकारले गैरकानुनी रुपमा आफ्नो मुलुकमा बस्दै आएका नेपालसहित विभिन्न मुलुकका कामदारलाई अगस्ट १ देखि सुरु हुने ३ महिनाको आममाफीबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएको थियो ।

सरकारबाट प्राप्त सूचनाकै आधारमा नेपाली दूतावासले पनि यो अवसरको सदुपयोग गर्न आफ्ना नागरिकलाई अपिल गरेको हो ।

युएईका लागि कार्यवाहक रहेका राजदूत सागरप्रसाद फुँयालले त्यस्ता नेपालीलाई दूतावासको सम्पर्कमा आउन समेत अपिल गरेका छन् ।

उनले भिसाको अवधि सकिएर बसेका अथवा भिसा नै नभएका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कनका लागि दूतावासको सम्पर्कमा आउन भनेका छन् ।

दूतावास श्रमसहचरी मोतिलाल भुसालका अनुसार युएई सरकारले अफर गरेको बिनाकुनै जरिबाना वा जेल सजायँ युएई छोडेर जान सकिने मौका अथवा नयाँ स्पोन्सर र काम खोजेर कानुनी रुपमै बस्न सक्ने अवस्थाको सदुपयो गराउन दूतावासले सक्रिया भूमिका खेल्ने छ ।

यसरी लाग्ने छ २ बर्से प्रतिबन्ध

युएई सरकारले घोषणा गरेको यो आममाफी प्रक्रियाले अवैध रुपमा बसेका विदेशी नागरिकलाई २ वर्ष युएई जान भने प्रतिबन्ध गरेको छ ।

अर्थात्, अवैधानिक रुपले युएई प्रवेश गरेकाहरु जसको भिसा अवधि सकिएको छ, त्यस्ता विदेशी नागरिकले यो अवसरमा विना कुनै जरिबाना र बिना जेलसजाएँ स्वदेश फर्कन सक्ने छन् ।

स्वदेश फर्केका उनीहरुलाई भने २ वर्षसम्म युएई जान प्रतिबन्ध लागाएको छ । आजीवन प्रतिबन्ध कसैलाई नलाग्ने युएई सरकारको घोषणा छ ।

युएई सरकारले दिएको सुविधा अनुसार यसअघि ब्ल्याकलिस्टमा परेका वा कुनै कानुनी मुद्दा खेपिरहेका हरुका हकमा भने यो आममाफी हुने छैन ।

तर कुनै कारणले कम्पनीबाट फरार भएको नाउँमा मुद्दा परेकाहरुका हकमा भने इम्मिग्रेसनले यस्ता मुद्दाहरुबाट छुट दिने छ । बिना कुनै प्रतिबन्ध युएईबाट बाहिर जान पाउने अवसर दिने छ ।

६ महिने अस्थायी भिसा कसरी ?

यस्ता अवैध विदेशी नागरिकले आफूलाई वैधानिक बनाएर काम गर्न चाहेमा युएईको मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रालयको भर्च्युल जब मार्केट वेबसाइटमा गएर आफुलाई रजिस्टर गर्न सक्ने कुरा उल्लेख छ ।

जसबाट उनीहरुले आफ्नो अवस्था वैधानिक बनाउन सक्ने छन् र उपयुक्त काम खोज्न सक्ने छन् । यस्तो अवस्थामा ६ महिनासम्मको अस्थायी भिसा प्रदान गर्न सकिने प्रावधान रहेको युएईले बताएको छ ।

घर फर्कन चाहेमा के गर्ने ?

यदि घर फर्कन चाहेमा अवैध रुपमा रहेका विदेशी कामदारहरुले नजिकको इम्मिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट, प्लेन टिकट र २२० दिरहम सहितको दस्तुर तिरेर ‘एक्सिट परमिट’ का लागि आवेदन दिन सक्नेछन् ।

यसरी एक्जिट परमिट लिएपछि प्राप्त गरेको १० दिनभित्र युएई छोडिसकेको हुनु पर्ने बताएको छ ।

वैधानिक बनाउन चाहनेले के गर्ने ?

यदि अवैध रुपमा रहेको विदेशी नागरिकले आफूलाई वैधानिक अवस्थाको बनाउन चाहेमा ५०० दिरहम दस्तुर सहित आवेदन दिनुपर्ने उल्लेख छ ।

आममाफी राहदानी नभएकालाई पनि

यस आममाफी कार्यक्रमका लागि आवेदन दिन चाहने तर आफुसँग राहदानी छैन भने पनि उनीहरुले आवेदन दिन पाउने छन् ।

त्यसका लागि युएई सरकारले आफ्ना एम्नेस्टी केन्द्रहरुमा गएर प्रक्रिया सुरु गर्न भनेको छ । युएईभरि ९ वटा एम्नेस्टी केन्द्रहरु उसको इम्मिग्रेसन कार्यालयहरुमा खोलिएका छन् ।

यी केन्द्रहरु बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छन् जहाँ उम्मेदवार आफै गएर आवेदन दिन सक्ने छ ।

यदि उम्मेदवार आफैं इम्मिग्रेसनमा उपस्थित हुन नसक्ने छ भने त्यस्ताका लागि उनीहरुको मेडिकल रिपोर्ट वा सम्बन्धित देशको दूतावासको पत्र लिएर गएमा एक्जिट परमिट दिन सकिने युएईले जनाएको छ ।

नेपालीका हकमा आफू स्वदेश फर्कन चाहनेले अध्यागमन विभागबाट यात्रा अनुमति र दूताबासबाट आउटपास लिएर नेपालफर्कन सक्ने कार्यवाहक राजदूत फुँयालको भनाय छ ।

स्वदेश फर्किन चाहनेका लागि युएईले नो इन्ट्री छाप बिनै स्वदेश फर्कने अवसर दिने छ जसका लागि ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने पनि बताइएको छ ।

नेपाली दूतावासको थप सहयोग केमा ?

नेपाली दूतावासका अनुसार राहदानी नभएका नेपालीका हकमा दूतावासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासको भनाइ छ ।

कार्यवाहक राजदूत फुँयालका अनुसार दूतावासले परराष्ट्र मन्त्रालय वा राहदानी विभागको समन्वयमा अति छिटो राहदानी उपलब्ध गराउने प्रक्रिया नै अघि बढाइसकेकाले सहयोगमा कमी नहुने दाबी छ ।

आममाफीको यो अवसर अगस्ट १ अर्थात् साउन १६ देखि कातिक १४ सम्म रहने छ ।

 

 

...

बुधबार, १६ साउन, ०७५

 

प्रतिक्रिया

Related